+

हिमालय स्पोर्ट्समा एनपीएल प्रसारणको मुख्य प्रायोजक रेड बुल

२०८३ असोज  १४ गते २१:५७ २०८३ असोज १४ गते २१:५७

‘ब्रोडकास्ट स्पोन्सर साइनिङ’ कार्यक्रममा हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले यो सहकार्यले ब्राण्डहरूलाई उपभोक्तासामु पुग्ने साझेदारी निर्माण गरेको बताए ।

१४ असोज, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) हिमालय स्पोर्ट्स टेलिभिजनमार्फत हुने प्रत्यक्ष प्रसारणका लागि रेड बुल मुख्य प्रायोजक बनेको छ । हिमालय स्पोर्ट्सले बुधबार एक कार्यक्रम गर्दै रेड बुललाई ‘टाइटल स्पोन्सर’को रूपमा सार्वजनिक गरेको हो ।

बजाज पल्सर, प्रोस्टाइल, नेपाल लाइफ इन्स्योरेन्स, प्रोटोन, एसियन पेन्ट्स, सोयुम र हिमस्टार ‘स्पोन्सर’ का रूपमा जोडिएका छन् । एसोसिएसन पाटनरको रुपमा बजाज पल्सर रहँदा ‘पावर्ड बाइ’  प्रोस्टाइल, नेपाल लाइफ इन्स्योरेन्स र प्रोटोन रहेका छन् । सहप्रायोजकको रूपमा एसियन पेन्ट्स, सोयुम र हिमस्टार जोडिएका छन् ।

‘ब्रोडकास्ट स्पोन्सर साइनिङ’ कार्यक्रममा हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले यो सहकार्यले ब्राण्डहरूलाई उपभोक्तासामु पुग्ने साझेदारी निर्माण गरेको बताए । ‘खेलकुद इभेन्टमार्फत विज्ञापनको समय बेचिरहेका मात्र छैनौं । ब्राण्डहरुलाई उपभोक्ताको मञ्चसम्म पुग्ने अर्थपूर्ण साझेदारी गरिदिएका छौं’ उनले भने ।

एनपीएल प्रसारणलाई चुनौतीपूर्ण जिम्मेवारी र अवसर दुवैको रूपमा लिएको भुसालले उल्लेख गरे । ‘खेलकुद क्षेत्रमा गरिएको लगानी आकस्मिक रुपमा गरिएको लगानी होइन । यो त हाम्रो दीर्घकालीन व्यवसायिक योजना अन्तर्गत रणनीतिक हिस्साको रुपमा लिएका छौ’ उनले भने ।

रेड बुल नेपालका तर्फबाट सरस बेभरेजेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले हिमालय टेलिभिजनसँग प्रसारणमा टाइटल स्पोन्सरका रूपमा जोडिन पाउँदा उत्साहित भएको बताए । उनले एनपीएललाई सुरुवातदेखि नै रेडबुलले सहयोग गर्दै आएको उल्लेख गरे ।

‘खेलकुद र ऊर्जा रेडबुलको मुलमन्त्र हो । हामी खेलकुदमा गर्ने लगानीको मुख्य हिस्सा क्रिकेटमा छ’ उनले भने, ‘एनपीएलको सुरुवातदेखी नै दीर्घकालीन प्रतिवद्दताका साथ रेडबुलले सहकार्य थालेको हो ।’

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली खेलकुद र क्रिकेट विस्तारै स्मार्ट बन्दै गएको बताए । ‘केही समययता नेपाली क्रिकेटलाई जुन माया कर्पोरेट क्षेत्रले देखाएको छ । त्यसलाई क्रिकेट मात्र सीमित नराखी सम्पुर्ण खेलकुदलाई साथ सहयोग गर्नुहुन्छ भन्ने हामी अपेक्षा गरेका छौं’ उनले भने ।

हिमालय स्पोर्ट्सले एनपीएलको तेस्रो संस्करणको प्रसारण अधिकारका लागि करसहित झण्डै १७ करोड २४ लाख रुपैयाँको कीर्तिमानी रकम तिरेर अधिकार प्राप्त गरेको थियो । नेपाली खेलकुद प्रसारणको क्षेत्रमा गरिएको यो अहिलेसम्मकै महत्वपूर्ण लगानीमध्ये एक हो ।

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बजारको अवस्थालाई मुल्यांकन गरेर लगानी गरेको बताए । हिमालयन स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक सुरज गिरीले एनपीएलमा खेल मात्र नदेखाई फ्यानलाई खेलाडीसँग जोड्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो काम खेल देखाउनु मात्र होइन । खेललाई अझ नजिक ल्याउनु हो । राम्रो स्टोरी भन्नू हो । खेलाडीलाई फ्यानसँग जोड्नु हो । विदेशमा भएको नेपाली केही क्षण भएपनि आफ्नो घरको नजिक महसुस गरोस्,’ उनले भने ।

तस्वीरहरू : चन्द्रबहादुर आले

एनपीएल २०२६ रेड बुल हिमालय स्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय