+
+
Shares

साढे दुई दशकभित्र यस्तो हुनेछ उपत्यकाको सार्वजनिक यातायात प्रणाली

तीव्र सहरीकरण, बढ्दो सवारीसाधन संख्या र ऐतिहासिक सहर केन्द्रित भौतिक सीमितताका कारण सडक विस्तार पर्याप्त हुन सकेको छैन । यो गुरुयोजना कार्यान्वयनबाट राजधानी काठमाडौं दक्ष सार्वजनिक यातायाततर्फ रूपान्तरण हुने विश्वास सरकारको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ असोज १५ गते २१:३५

१५ असोज, काठमाडौं । सरकारले ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’ कार्यान्वयन प्रारम्भिक चरणको काम थालेको छ ।

सोही क्रममा पूर्वाधार विकास मन्त्रालयले गुरुयोजनाको रणनीतिक वातावरणीय मूल्यांकन (एसईए) प्रतिवेदन तयार पारेको छ । यो गुरुयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा तयार पारिएको हो ।

काठमाडौं उपत्यका अन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यान्वयन हुने गुरुयोजनाले नेपालको मुख्य आर्थिक र प्रशासनिक केन्द्रमा भएको भारी ट्राफिक जाम, घट्दो सडक सुरक्षा, वायु प्रदुषण र पर्याप्त सार्वजनिक यातायात सेवाजस्ता समस्या समाधान गर्न दीर्घकालीन र एकीकृत रणनीति प्रदान गर्ने मन्त्रालयको विश्वास छ ।

तीव्र सहरीकरण, बढ्दो सवारीसाधन संख्या र ऐतिहासिक सहर केन्द्रित भौतिक सीमितताका कारण सडक विस्तार पर्याप्त हुन सकेको छैन । यो गुरुयोजना कार्यान्वयनबाट राजधानी काठमाडौं दक्ष सार्वजनिक यातायाततर्फ रूपान्तरण हुने विश्वास सरकारको छ । गुरुयोजनाले रणनीतिक सडक सुधार र संस्थागत सुधार दुवैलाई प्राथमिकता दिएको छ । जसको समय सीमा सन् २०५० छ ।

अहिले काठमाडौं उपत्यकाको वायु गुणस्तर गम्भीर स्तरमा छ । खासगरी जाडो मौसम र मनसुन सुरु हुनुअघि काठमाडौंको वायु गुणस्तर खतराको सूचीभन्दा पनि माथि जाने गर्छ । काठमाडौंमा वायु प्रदूषणको प्रमुख कारण सवारीसाधनको उत्सर्जन हो ।

अर्कातर्फ ध्वनि प्रदूषण, असुरक्षित सडक र सार्वजनिक यातायात प्रमुख समस्याका रूपमा छन् । प्रस्तावित सडक सुधार तथा सामूहिक यातायात प्रणालीले भविष्यमा यातायात चाप कम गर्नुका साथै सडकमा यात्रा गर्न लाग्ने समय पनि छोट्टिने अपेक्षा छ ।

प्रतिवेदन अनुसार सडक सुरक्षामा सुधार, रोजगारी, शिक्षा र सार्वजनिक सेवा पहुँच वृद्धि र समग्रमा उपत्यकाको आर्थिक विकासमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो जनगणना अनुसार काठमाडौंको जनसंख्या २९ लाख ३६ हजार छ । सन् २०५० सम्म जनसंख्या ४२ लाख नाघ्ने अनुमान सहित गुरुयोजना कार्यान्वयन अघि बढाइएको हो ।

यसअघि तीन पटकसम्म उस्तै प्रकारका गुरुयोजना बनाउँदै थन्काउँदै गरेको सरकारले यसपालि चौथो गुरुयोजना बनाएको हो । सन् १९९३, २०१२ र २०१७ मा समेत गुरुयोजना बनाइएको छ, तर कार्यान्वयन गरिएन । गुरुयोजना अनुसार आयोजना कार्यान्वयन गर्दा २ खर्बमाथि लागत लाग्ने अनुमान छ ।

रणनीति कार्यान्वयनबाट के हुनेछ ?

प्रतिवेदन अनुसार गुरुयोजनाले सुरक्षित, समावेशी, जलवायु अनुकूलन र मजबुत यातायात प्रणाली स्थापना लक्ष्य राखेको छ । यसले एकातर्फ आर्थिक वृद्धिमा योगदान दिने र अर्कातर्फ जनस्तर सुधारमा समेत योगदान पुर्‍याउने दाबी सरकारको छ ।

रणनीति अन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरबीच पूर्व–पश्चिम सञ्जाल मजबुत हुनेछ । बाहिरी र भित्री चक्रपथ प्रणालीको कार्यक्षमता सुधार हुनेछ । भीडभाड भएका उत्तर–पूर्वी मार्गमा सञ्जाल सुधार गरिने छ ।

केन्द्रीय क्षेत्रमा ठूलो सडक सम्भव नभएकाले निजी सवारीसाधनलाई उच्च क्षमताका सार्वजनिक यातायातबाट प्रतिस्थापन गर्नेसमेत रणनीति लक्ष्य छ । रणनीति पहिलो चरणमा २०३२, दोस्रो चरणमा २०४० र तेस्रो चरणमा २०५० सम्म कार्यान्वयन लक्ष्य छ ।

सडक र ट्राफिक व्यवस्थापनमा के हुनेछ काम ?

विद्यमान बोटलनेक न्यूनीकरण तथा सडक सुरक्षामा सुधार गर्ने गरी पूर्वाधार निर्माण योजना गुरुयोजनामा छ । जसअनुसार चोक सुधार र समन्वायित यातायात संकेत प्रणाली स्थापना गरिने छ ।

नदी क्रसिङ निर्माण र अत्यधिक सीमित करिडोरहरूमा एलिभेटेड वा सेमिअन्डरग्राउन्ड सडक चयन गरेर प्रयोग गर्न सकिने बनाइने छ । भित्री चक्रपथको लिंक पूरा गर्ने र नदी करिडोर स्तरोन्नति गरिने छ ।

आपत्कालीन सडक सञ्जाल विकास गर्ने र ठमेल, दरबार स्क्वायर जस्ता ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई नो भेइकल जोनका रूपमा स्थापित गरिने छ ।

सार्वजनिक यातायात सुदृढीकरणमा के गरिने छ ?

गुरुयोजनाले सार्वजनिक यातायात मुख्य मानक बसलाई मानेको छ । सोहीकारण सञ्चालन दक्षता र जवाफदेहिता बढाउन बस व्यवसायको सुधार तथा एकीकरण गरिने छ ।

सहरको केन्द्रमा अत्यधिक भिड घटाउन र सञ्जाल सम्पर्क सुधार गर्न रुट पुनर्संरचना गर्ने यस गुरुयोजनाको लक्ष्य छ । बसपार्क, टर्मिनल र बस स्टप स्तरोन्नति गरी स्पष्ट परिचालन क्षेत्र व्यवस्था गरिने छ । साथै, यात्रुका लागि स्पष्ट जानकारी उपलब्ध गराइने छ ।

उच्च माग भएका करिडोरमा बस परिचालन प्राथमिकता दिने उपाय बस लेन, द्रुत गति बस यातायात (बीआरटी), सार्वजनिक यातायात प्राथमिकता प्रणाली (पीटीपीएस) लागु गरिने छ ।

सवारीसाधनको क्रमिक नवीकरण, मर्मत मापदण्ड सुधार, चालक तालिम विस्तार, जीपीएस सहित सवारी व्यवस्थापन, रियल टाइम यात्रु सूचना प्रणाली र एकीकृत यातायात सेवाका लागि सूचना तथा सञ्चार प्रविधि विकास गर्नेसमेत रणनीतिको लक्ष्य छ ।

सार्वजनिक द्रुत यातायात विकास (मेट्रो रेल)

दीर्घकालीन रूपमा भने काठमाडौं उपत्यकामा सार्वजनिक बसले मात्र ट्राफिक माग थेग्न सक्ने छैनन् । यसका लागि बस र्‍यापिड ट्रान्जिट (बीआरटी), मास र्‍यापिड ट्रान्जिट (एमआरपी) वा अटोमेटेड गाइडवे ट्रान्जिट (एजीटी) जस्ता वैकल्पिक यातायात प्रणाली विकास लक्ष्य गुरुयोजनाले राखेको छ ।

जसअन्तर्गत रत्नपार्क–सूर्यविनायक रुटमा मेट्रोरेल विकास योजना राखिएको छ । गुरुयोजनाले काठमाडौं उपत्यकामा उच्च क्षमताका सार्वजनिक यातायात सञ्चालनका लागि तीन रुट उपयुक्त हुने बताएको छ । जसमा चक्रथप, उत्तर–दक्षिण रुट र पूर्व–पश्चिम रुट छन् ।

यसमध्ये पूर्व–पश्चिम अर्थात् रत्नपाकदेखि–भक्तपुरसम्म मेट्रोरेललाई पूर्वसम्भाव्यता अध्ययनका लागि प्राथमिकतामा राखिएको छ । उक्त मेट्रोलाई विभिन्न स्थानमा बस र्‍यापिड ट्रान्जिटसँग एकीकृत गराउँदै सुर्वसुलभ र सुरक्षित सार्वजनिक यातायात विकास लक्ष्य राखिएको छ ।

सहरीको भित्री इलाका र जडीबुटी/कोटेश्वर खण्डमा समेत अन्डरग्राउन्ड रुटबाट मेट्रो सञ्चालन योजना मास्टर प्लानमा समेटिएको छ । यो मेट्रोरेलको लम्बाइ १४.६ किलोमिटर बराबर हुनेछ । चक्रथपमा बस र्‍यापिड ट्रान्जिट बनाएर सार्वजनिक यातायात सञ्चालन प्रस्ताव गरिएको छ ।

उच्च यात्रु क्षमताका सार्वजनिक बसलाई डेडिकेटेड लेनमा सञ्चालन योजना छ । चाबहिल–गौशाला खण्डमा भने यस्ता लेन व्यावहारिक हुने छैन ।

महाराजगञ्ज अन्डरपास

यस गुरुयोजनाको प्रस्ताव अनुसार महाराजगञ्जमा अन्डरपास निर्माण प्रस्ताव गरिएको छ ।

चाबहिल–गौशाला भूमिगत सुरुङ

चक्रथप विस्तार क्रममा सबैभन्दा जटिल मानिएको क्षेत्र यो खण्ड हो । किनकि, पशुपति क्षेत्र विकास कोष अन्तर्गत युनेस्को विश्व सम्पदा सूचीमा रहेका कारण यहाँ सडक विस्तारका धेरै विकल्प छैनन् । सोहीकारण यस खण्डमा भने गुरुयोजनाले भूमिगत सुरुङ प्रस्ताव गरेको छ । जहाँ दुइ तले सुरुङ निर्माण गरी चार लेन सडक विकास गर्ने योजना छ ।

चाबहिल–बागमती नदी एलिभेटेड हाइवे

अहिले नै निकै व्यस्त रहेको यो खण्डमा दुइ लेनको एलिभेटेड (आकासे) सडक निर्माण प्रस्ताव गरिएको छ । यस करिडोरमा बौद्ध स्तुपा लगायत विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा समेत छन् । चाबहिल चोकको ढाँचा परिवर्तन, ट्राफिक सिग्नल जडान सहित योजना समेत सोही प्रस्तावमा राखिएका छन् ।

विष्णुमती नदी करिडोर एलिभेटेड हाइवे

विष्णुमती नदी करिडोरमा चार लेनको आकाशे सडक निर्माण गरी चक्रपथमा जोड्ने गरी परियोजना प्रस्ताव गरिएको छ । यसका लागि पनि तीन वटा डिजाइन प्रस्ताव गरिएको छ । यसबाट उत्तर–पश्चिम काठमाडौंको सवारी चाप सहज बनाउने अपेक्षा छ ।

चक्रपथ विस्तार (गौशाला–तीनकुने)

त्रिभुवन विमानस्थल प्रवेशद्वारका रूपमा रहेको गौशाला–तीनकुने खण्डमा चक्रपथ विस्तार योजना गुरुयोजनामा समेटिएको छ । अहिले कोटेश्वरमा थप एक परियोजना अगाडि बढेको छ । उक्त  परियोजनाका कारण बोटलनेक नहोस् भन्नका लागि यो खण्ड विस्तारको आवश्यकता गुरुयोजनामा देखाइएको छ ।

थापाथली–त्रिपुरेश्वर नदी करिडोर

थापाथली–त्रिपुरेश्वर नदी करिडोर विकास प्रस्ताव समेत गुरुयोजनामा गरिएको छ । विद्यमान बागमती नदी करिडोरमा जोड्न बाँकी खण्डलाई जोड्ने यो प्रस्ताव गरिएको हो ।

यूएनपार्क सहित विभिन्न स्थानमा नयाँ पुल

अहिले यूएनपार्क पुल रहेको क्षेत्र बोटलनेकका रूपमा छ । जसले अत्यधिक जाम हुने गरेको छ । यस गुरुयोजनाले यहाँ नयाँ पुल निर्माण योजना समेटेको छ । यसबाहेक नयाँ बसपार्क, विष्णुमतीमा नयाँ पुल निर्माण, धोबीखोला, कर्मनासा, बागमती नदीमा समेत नयाँ पुल प्रस्ताव गरिएको छ ।

युटिलिटी करिडोर सहित अन्य संरचना विकास सँगसँगै

यस गुरुयोजनामा सडकसँग जोडिएका अन्य संरचना समेत सँगै विकास गर्ने योजना छ । जसमा युटिलिटी करिडोर परिकल्पना गरिएको छ । काठमाडौं र ललितपुरका ऐतिहासिक स्थललाई कार फ्री जोन बनाइने भएको छ ।

साइकल लेनसमेत यसै परियोजनाको एक हिस्सा हुनेछ । यसबाहेक विद्यमान ट्राफिक सिग्नल प्रणालीे पुनर्संरचना गरिने समेत प्रतिवेदनमा उल्लेख छ । व्यस्त सडक क्षेत्रमा पार्किङ क्षमता विकास योजना समेटिएको छ । गुरुयोजनामै बस उद्योगको पुनर्संरचना गरिने उल्लेख छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?