+
+
Shares

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा रोकिए डेढ सय कन्टेनर

तातोपानी नाका र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्रै वैकल्पिक मार्ग बनेको कोरलानाका पनि वर्षाका कारण प्रभावित बनेको उनले बताए ।  

रासस रासस
२०८३ असोज १५ गते २१:३३
फाइल तस्वीर

१५ असोज, मुस्ताङ । वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकको ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा भएपछि चीनबाट आयात गरिएका सामग्री बोकेका डेढ सय भन्दा बढी कन्टेनर कोरला नाकामा थन्किएका छन् ।

लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा ती कन्टेनर रोकिएर बसेका छन् ।

शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला खण्डको ४६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको छ । जसले कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित बनेको हो ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालसामान राखिएका कन्टेनर भन्सार जाँचपास भइसके पनि सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको जानकारी दिए ।

‘कोरला नाकास्थित भन्सार यार्ड क्षेत्रमा १५० बढी कन्टेनर छन् । तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ,’ भन्सार प्रमुख चुडालले भने, ‘भन्सारमा केही कन्टेनर जाँचपास प्रक्रियामा छन्, त्यो पनि अबको दुईदिन भित्र सकिन्छ ।’

तातोपानी नाका र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्रै वैकल्पिक मार्ग बनेको कोरलानाका पनि वर्षाका कारण प्रभावित बनेको उनले बताए ।

चीनबाट दसैँतिहार लक्षित मालवस्तु पैठारी गर्ने याममा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा राजस्व सङ्कलनमा राज्यले घाटा व्यवहोर्नु पर्ने अवस्था सृजना भएको प्रमुख चुडालले बताए ।

उनका अनुसार गत भदौ १० गते रसुवागढी–केरुङ नाका बाढीका कारण पूर्ण रूपमा बन्द हुँदा कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोड बढी राजस्व सङ्कलन गर्दै आइरहेको थियो ।

भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट दसैँ लक्षित तयारी सामान, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामान, लत्ता कपडालगायत विद्युतीय सवारीसाधन नेपाल भित्रिने गर्दछन् ।

यसैगरी, कोरला खण्ड अवरुद्ध हुँदा करिब २०० विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएका छन् । तीमध्ये १०० बढी सवारी पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकी जोमसोम बसपार्कमा रोकिएका सशस्त्र प्रहरी बल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?