१५ असोज, बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पञ्जाब र सभापोखरी भलिबल क्लब दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार भएको समूह ‘ए’को अन्तिम खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
पुलिसले मणिमुकुन्दलाई २५–२०, २३–२५, २५–२०, १८–२५, १५–१२ ले हराएको हो । लगातार तेस्रो जित निकालेको पुलिस समूह विजेता बन्यो ।
यही समूहबाट खैरा भलिबल क्लब पञ्जाब उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । खैराले श्रीलंका पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
खैराले २५–२०, २५–२०, १९–२५, २५–१७ को जित निकालेको थियो । हारसँगै मणिमुकुन्द र श्रीलंका पुलिस प्रतियोगिताबाट बाहिरिएका छन् ।
समूह ‘बी’ मा सभापोखरी भलिबल क्लबले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । भारतीय खेलाडीको बाहुल्य रहेको सभापोखरीले एपीएफ क्लबलाई ३–१ को सेटमा हराएको हो। सभापोखरीले एपीएफमाथि २४–२६, २५–१९, २५–२०, २०–११ को जित निकालेको थियो ।
बिहीबारको अन्तिम खेल भने फ्लडलाइटको अभावमा अँध्यारो भएपछि पूरा हुन सकेन । एपीएफ र गुजरात स्पोर्टिङ क्लबबीचको लिग चरणको अन्तिम खेलमा दुवै टोलीले १–१ सेट जितेपछि सहमतिमा खेल स्थगित गरिएको हो ।
दुवै टोलीले बाँकी खेल शुक्रबार पूरा गर्ने सहमति गरेका छन् । त्यसपछि मात्र सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ । सेमिफाइनलका खेल पनि शुक्रबार नै हुनेछन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा नेपालका चार र विदेशका तीन गरी सात टोली सहभागी छन् । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित सात लाख रुपैयाँ तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
तेस्रो हुने टोलीले एक लाख ७५ हजार रुपैयाँ र सान्त्वना पुरस्कारस्वरूप ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । कप, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकले जनही आठ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4