१६ असोज, काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूसँगै २५ थान चोरीका मोबाइल पनि बरामद भएको प्रहरीले भनेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौंको कलंकी बस्ने २४ वर्षीय सुरेश हुमागाईँ र दैलेखको महाबु गाउँपालिका–१ घर भई हाल काठमाडौंको चन्द्रागिरि बस्ने १९ वर्षीय विवेककुमार शर्मा रहेका छन् ।
प्रहरीका अनुसार विभिन्न स्थानबाट मोबाइल चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले बिहीबार राति न्युरोड गेटबाट हुमागाईँलाई पक्राउ गरेको थियो । उनीसँग चोरीको एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
त्यसपछि उनीसँग सोधपुछ गर्ने क्रममा थप चोरीका मोबाइल आफ्ना साथी विवेकसँग रहेको भनेपछि प्रहरीले उनलाई पनि खोजी गर्न थालेको थियो । त्यसपछि विवेक काठमाडौंको सतुंगलबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीसँग विभिन्न कम्पनीका २४ थान मोबाइल फेला परेका थिए ।
प्रहरीका अनुसार दुवै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ ।
प्रतिक्रिया 4