+

प्रेटोरियसले तोडे क्रिस गेलको टी-२० रेकर्ड, ७९ बलमै बनाए १८८ रन

२०८३ असोज  १७ गते ०:४९ २०८३ असोज १७ गते ०:४९

१७ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका ब्याटर लुआन–ड्रे प्रेटोरियसले पुरुष टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोरको क्रिस गेलको लामो समयदेखिको कीर्तिमान तोडेका छन् ।

सीएसए टी–२० च्यालेन्जमा टाइटन्सबाट खेलेका २० वर्षीय प्रेटोरियसले नाइट्सविरुद्ध अविजित १८८ रन बनाए । उनले ७९ बलमा १५ चौका र १३ छक्का प्रहार गरे ।

यससँगै प्रेटोरियसले गेलको नाममा रहेको १७५ रनको कीर्तिमान तोडेका हुन् । गेलले सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरबाट पुणे वारियर्सविरुद्ध खेल्दा अविजित १७५ रन बनाएका थिए ।

प्रेटोरियसले २४ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि थप १६ बलमा शतक पूरा गरे । उनी टी–२० क्रिकेटमा १५० रन बनाउने क्रममा सबैभन्दा कम बलको हिसाबमा आरोन फिन्च र मार्कस स्टोइनिससँग बराबरीमा छन् ।

उनको १८८ रन टी–२० क्रिकेटमा पहिलो दोहोरो शतक बन्नबाट १२ रनले मात्र टाढा रह्यो ।

प्रेटोरियसको विस्फोटक ब्याटिङमा टाइटन्सले २० ओभरमा तीन विकेट गुमाएर २६७ रन बनायो । यो सीएसए टी–२० च्यालेन्जको इतिहासमा दोस्रो ठूलो टोली स्कोर हो । यसअघि पनि नाइट्सविरुद्ध सन् २०२२ मा टाइटन्सले तीन विकेटमा २७१ रन बनाएको थियो ।

प्रेटोरियसअघि सीएसए टी–२० च्यालेन्जमा सर्वाधिक व्यक्तिगत स्कोर डेवाल्ड ब्रेभिसको नाममा थियो । उनले सन् २०२२ मा नाइट्सविरुद्ध १६२ रन बनाएका थिए ।

यो प्रेटोरियसको २०२६–२७ सिजनको पहिलो खेल हो। उनले सेप्टेम्बरमा जिम्बाब्वे र नामिबियासँगको त्रिकोणात्मक सिरिजमा पछिल्ला दुई खेलमा क्रमशः ९४ र १०१ रन बनाएका थिए ।

क्रिस गेल लुआन ड्रे प्रेटोरियस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय