१९ असोज, पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा तथा उपसभापति पूर्णबहादुर खड्कासँग नजिक रहेका पाण्डे विशेष महाधिवेशनपछि भने सभापति गगन थापाकै नेतृत्वमा क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन् ।
विषेश महाधिवेशन तथा देउवा नेतृत्वको कांग्रेसले वैद्यता पाएको भए पनि पाण्डे उपसभापतिमै उम्मेदवार हुने तयारी गरेका थिए । गगन नेतृत्वलाई नै निर्वाचन आयोग र सर्वोच्चले मान्यता दिएपछि मुख्यमन्त्री पाण्डे गगन नेतृत्वमै लागेका हुन् ।
पार्टीभित्र एकता, सुदृढ संगठन निर्माण र वैचारिक स्पष्टतासहित अघि बढ्ने बताउँदै पाण्डेले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा गर्दै मुख्यमन्त्री पाण्डेले पार्टीभित्र र बाहिरबाट निरन्तर उठिरहेको कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकतालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । पार्टीका सबै तह र पुस्ताका साथीहरूलाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्ने प्रयासलाई आफ्नो प्रमुख जिम्मेवारी बनाएको पाण्डेको भनाइ छ ।
४५ वर्षदेखि कांग्रेसको राजनीतिमा लागेको बताएका पाण्डे यसअघि २ पटकसम्म केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभा सदस्यको रूपमा विजयी भएर मुख्यमन्त्री बनेका पाण्डे त्यसअघि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता थिए ।
पाण्डेले सरकार सञ्चालनका क्रममा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई सधैं शिरोधार्य गरेको बताएका छन् । सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो कार्यशैलीको मूल आधार बनाउँदै आएको दाबी गर्दै उनले सरकार र संगठनबाट प्राप्त लामो अनुभवलाई अब पार्टीको हितमा पूर्ण रूपमा उपयोग गर्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4