+
+
Shares

पोर्चुगलको लिस्बोनमा एनआरएनएको कार्यालय सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते २१:२२

१९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ ।

पोर्चुगलमा रहेका नेपाली समुदायलाई आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याएको एनआरएनए पोर्चुगलले जनाएको छ ।

पोर्चुगलमा नेपालीको संख्या तीव्र रूपमा बढिरहेका बेला समुदायलाई प्रत्यक्ष रूपमा सेवा उपलब्ध गराउन कार्यालय सञ्चालनमा ल्याइएको एनआरएनए पोर्चुगलले जनाएको छ । कार्यालयबाट नेपाली समुदायका समस्या, जिज्ञासा तथा आवश्यकताका विषयमा सूचना, परामर्श र सहजीकरण उपलब्ध गराइने संघको भनाइ छ ।

एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले पोर्चुगलमा नेपालीको संख्या बढेसँगै समुदायलाई संस्थागत रूपमा सेवा दिन कार्यालयको आवश्यकता महसुस भएकाले कार्यालय सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार कार्यालयबाट नेपालीका दैनिक समस्या, कागजी प्रक्रिया, संस्थागत समन्वय तथा आवश्यक सूचना र सहयोगका विषयमा सहजीकरण गरिनेछ ।

अध्यक्ष मोक्तानले पोर्चुगलमा रहेका नेपाली समुदायलाई कार्यालयलाई आफ्नो साझा सम्पर्कस्थलका रूपमा उपयोग गर्न आग्रह गरे । संघले उपलब्ध गराउने सेवा तथा सहयोगलाई थप व्यवस्थित र सहज बनाउने उद्देश्य रहेको उनको भनाइ छ ।

यस्तै, एनआरएनए पोर्चुगलका सचिव सुरज भण्डारीले कार्यालयसँगै संघले आधिकारिक वेबसाइटसमेत सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार वेबसाइटमार्फत संघका गतिविधि, सूचना, कार्यक्रम तथा उपलब्ध सेवाबारे जानकारी लिन सकिनेछ ।

पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थानका अनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ३०४ पुगेको छ । यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो संख्या हो ।

सन् २०२१ मा पोर्चुगलमा २४ हजार १३ जना नेपाली रहेकोमा चार वर्षमा नेपालीको संख्या १३६ दशमलव ८ प्रतिशतले बढेर ५६ हजार ८६६ पुगेको हो । चार वर्षको अवधिमा मात्रै ३२ हजार ८ सय ५३ नेपाली थपिएका छन् ।

सन् २०२५ मा पोर्चुगलमा रहेका कुल आप्रवासीको संख्या १५ लाख ९७ हजार ५३९ रहेकोमा नेपालीको हिस्सा ३ दशमलव ५५ प्रतिशत रहेको छ ।

नेपाल सरकारले २०८१ मा लिस्बोनमा नेपाली दूतावास स्थापना गरेको थियो । यता, पोर्चुगलले पनि नेपालमा आफ्नो कूटनीतिक उपस्थिति विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ ।

पोर्चुगलले काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न अनुमति मागेपछि नेपाल सरकारले २०८३ साउन २६ गते त्यसका लागि सहमति दिने निर्णय गरेको थियो । त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा माथिल्लो तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?