१९ असोज, काठमाडौं । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार दिउँसो सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनले पदीय आचारणविरुद्धका कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेका छन् ।
स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, उनको पद निलम्बन गर्नुका दुई कारण खुलेका छन् ।
पहिलो, पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको ‘कनेक्सन’ । गृह मन्त्रालय स्रोतका अनुसार, एआईजी दाहाल असोज ११ गते राति नै टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए । जहाँ पूर्व प्रधानन्यायाधीश जबरालाई घरबाटै नियन्त्रणमा लिएर प्रहरीले केहीबेर अघि मात्रै पुर्याएको थियो ।
‘जबरालाई चौकी लगेको केही समयमै उहाँ टेकु पुगेको देखिन्छ,’ स्रोतले भन्यो, ‘पदीय आचरणलाई ध्यानमै नराखि रातारात प्रहरी कार्यालय पुगेपछि उहाँमाथि थप अनुसन्धान थालिएको थियो ।’
स्रोतका अनुसार, उनले कसैलाई जानकारी नै नदिइ ‘चेन अफ कमाण्ड’ समेत मिचेका थिए ।
एआईजी वंशीराज टेकु पुग्नुको कारण खोज्दै जाँदा दोस्रो कारण खुलेको स्रोतको भनाइ छ ।
त्यो हो– झापाका इनम सापकोटा नाम गरेका व्यक्तिसँगको ‘कनेक्सन’ ।
प्रहरीको विशेष ब्युरोले गरेको अनुसन्धानका क्रममा इनम सापकोटासँग एआईजी दाहाल सम्पर्कमा रहेको देखिन्छ । जसलाई प्रहरीको अनुसन्धानले शंकास्पद रुपमा हेरेको थियो ।
उनै इनममार्फत एआईजी दाहालले पूर्व प्रधानन्यायाधीश जबरालाई संवेदनशील सूचना ‘सेयर’ गरेको देखिएको स्रोत बताउँछ ।
त्यस्तै, अनुसन्धानपछि इनमलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिएर एक दिनमा छाडेको थियो ।
इनमको मोबाइलबाट वंशीराजले सबै कुरा ‘सेयर’ गर्ने गरेको देखिएको अनुसन्धान ब्युरो स्रोतले जनाएको छ ।
आज बसेको गृह मन्त्रालयको बैठकले जाँचबुझ अधिकृत तोकेर छानबिन अघि बढाउने निर्णय पनि गरेको छ । तीन दिनभित्र जाँचबुझ गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृतलाई कार्यादेश तोकिएको छ ।
तयार पारिने प्रतिवेदनमा जबरा, दाहाल र सापकोटाबीचको कनेक्सनबारे यिनै तथ्य राख्ने तयारी सरकारको छ ।
११ असोज राति सरकारले सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश राणालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।
उनलाई करिब १२ घण्टा प्रहरीले नियन्त्रणमा राखेर छाडेको थियो । उनलाई घरबाटै रातारात पक्राउ गरिएको शैलीमाथि त्यतिबेला आलोचना पनि भएको थियो ।
प्रतिक्रिया 4