१९ असोज, काठमाडौं । नेपाल जेसिसकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको उम्मेदवार बन्ने घोषणा गरेकी छन् । युवा नेतृत्व, संगठन सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित थापा कांग्रेसको केन्द्रीय सदस्यको दौडमा उत्रिएकी हुन् ।
थापाले लामो समय जेसिस अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । सन् २०११ मा जेसीज अभियानमा प्रवेश गरेकी उनले उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कोषाध्यक्ष, वरिष्ठ कार्यकारिणी उपाध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष बनेकी थिइन् ।
स्थानीय जेसीजको नेतृत्वबाट राष्ट्रिय नेतृत्वमा पुगेकी थापा सन् २०२४ मा नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष निर्वाचित भएकी थिइन् ।
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका रूपमा थापाले देशभरका युवा नेतृत्वसँग काम गर्ने अवसर पाएकी थिइन् । युवा परिचालन, संगठन सञ्चालन, नेतृत्व विकास तथा सामाजिक अभियानमा काम गरेको यही अनुभवलाई उनले अब राजनीतिक संगठनमा उपयोग गर्न खोजेको बताएकी छन् ।
स्थानीय तहबाट सुरु भएको जेसीज नेतृत्व, नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको जिम्मेवारी र अहिले एसिया–प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय नेतृत्वसम्मको अनुभव बोकेर थापा कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्न खोजेको बताउँछिन् ।
केन्द्रीय सदस्यमा निर्वाचित भएमा युवा सहभागिता बढाउने, पार्टी संगठनलाई आधुनिक बनाउने, महिला नेतृत्वलाई प्रोत्साहन गर्ने तथा अन्तर्राष्ट्रिय अभ्यासलाई राजनीतिक बहससँग जोड्ने विषयलाई प्राथमिकतामा राख्ने थापाको तयारी छ ।
प्रतिक्रिया 4