+
+
Shares

सभामुख अर्याल र अस्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १२:४७

२० असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र अस्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ ।

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख डिकबीच आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्यलगायत विविध विषयमा विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताए ।

उनले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । बाढीमा परी बेपत्ता भएका अस्ट्रेलियाली नागरिकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै उनले विपद्का समयमा अष्ट्रेलियाले देखाएको ऐक्यबद्धताको प्रशंसा गरे ।

जलवायु परिवर्तनका कारण नेपाललगायत हिमाली मुलुक गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय बहस तथा पहलमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा गरे ।

सभामुख अर्यालले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन हुनु दुई देशबीचको संसदीय सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण आधार भएको बताए ।

उनले सांसदहरूबीच नियमित अन्तरक्रिया, अनुभव आदानप्रदान तथा संसदीय कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे ।

भेटका क्रममा अस्ट्रेलियाली सभामुख डिकले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?