+

यौनांगको रौं काट्न हुन्छ ?

२०८३ असोज  २० गते १७:३२ २०८३ असोज २० गते १७:३२
यौनांगको रौं काट्न हुन्छ ?

गुप्ताङ्गमा रौं देखिनासाथ धेरैलाई लाग्छ, यसलाई हटाएपछि मात्र सफा र आकर्षक देखिन्छ । यही सोचले कोही रेजर चलाउँछन्, कोही वाक्सको पीडा सहन्छन्, त कोही लामो समयका लागि लेजर गराउँछन् ।

यसमा एउटा कुरा बुझ्न जरुरी छ । गुप्ताङ्गको रौं सरसफाइको कमीको संकेत होइन । शरीरले आफैं उमार्ने यो रौँको पनि आफ्नै काम हुन्छ । बाहिरी संवेदनशील छालालाई घर्षणबाट जोगाउन यसले केही हदसम्म सुरक्षा दिन्छ ।

तर, महिनावारीमा रगत बगेर लतपत हुँदा समस्या हुने वा दैनिक जीवनमा यसले कुनै अप्ठयारो हुन्छ भने हटाउन सकिन्छ । त्यसो भए रौं राख्ने कि हटाउने ? यसको एउटै सही उत्तर छैन ।

चिकित्सकीय रूपमा यो देखियो भनेर हटाउनैपर्छ भन्ने बाध्यता छैन । आफूलाई सहज लाग्छ भने राख्न पनि सकिन्छ । समस्या भए छोटो बनाउन सकिन्छ वा पूरै हटाउने निर्णय नितान्त व्यक्तिगत रोजाइ हो ।

तर रौँ हटाउने निर्णय गरेपछि भने ‘कसरी सुरक्षित तरिकाले हटाउने ?’ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ ।

ट्रिमिङ सुरक्षित विकल्प

यदि रौँ छोटो र सफा राख्ने मात्र उद्देश्य हो भने ट्रिमिङ तुलनात्मक रूपमा सुरक्षित विकल्प हो । यसमा रौँलाई छालाको सतहसम्मै खौरिँदैन । त्यसैले, रेजरले काट्ने, छालामा घर्षण हुने वा भित्रै उम्रिने रौंको जोखिम कम हुन्छ ।

तर ट्रिम गर्दा पनि हतार गर्नु हुँदैन । राम्रो प्रकाश भएको ठाउँमा उभिएर आफूले देख्न सक्ने गरी सफा उपकरण प्रयोग गर्नु राम्रो हुन्छ । त्यस्तै, अरूसँग रेजर वा ट्रिमर बाँड्नु हुँदैन । एउटै सामान अरूसँग बाँड्दा त्यसमा रगत वा छालाका सूक्ष्म कणबाट ब्याक्टेरिया सर्ने जोखिम बढ्न सक्छ ।

रेजर प्रयोग सजिलो तर सावधानी धेरै

रेजर सबैभन्दा सजिलो र छिटो प्रयोग गर्न सकिने उपकरण हो । तर गुप्ताङ्गको छाला संवेदनशील हुने भएकाले यहाँ जथाभावी रेजर चलाउँदा काट्ने वा त्यस भाग पोल्ने, रातो हुने, डाबर आउने वा रौँ छालाभित्रै उम्रिने समस्या हुन सक्छ ।

रेजर प्रयोग गर्ने हो भने नुहाएपछि छाला र रौं नरम भएको अवस्थामा सेभिङ जेल वा क्रिम लगाएर प्रयोग गर्नु राम्रो हुन्छ । रौं जुन दिशामा उम्रिएको छ, त्यही दिशामा बिस्तारै रेजर चलाउँदा पोल्ने र डाबरको जोखिम कम गर्न सकिन्छ ।

प्रत्येक पटक सफा रेजर प्रयोग गरी प्रयोगपछि सुख्खा ठाउँमा राख्नु उचित हुन्छ । रेजरलाई धेरै पटक एउटै ठाउँमा घोटेर चलाउनु भने राम्रो होइन । यसले छालामा अनावश्यक घर्षण र चोट पुर्‍याउन सक्छ ।

वाक्स कतिको भरपर्दो ?

वाक्स गर्दा रौं जरैदेखि उखेलिने भएकाले रेजरभन्दा लामो समयसम्म रौँ नदेखिन सक्छ । यही कारण धेरै मानिस वाक्स रोज्छन् । तर यसको अर्को पाटो पनि छ । तातो वाक्सले छाला पोल्न सक्छ । र, रौं तान्दा छालामा साना चोटसमेत लाग्न सक्छन् । कहिलेकाहीँ रौं छालाभित्रै उम्रिने समस्या पनि हुन सक्छ ।

त्यसैले, गुप्ताङ्गको वाक्स आफैं घरमा प्रयोग गर्नुभन्दा अनुभवी र स्वच्छता मापदण्ड पालना गर्ने व्यावसायिक ठाउँ रोज्नु सुरक्षित हुन्छ । वाक्स गर्ने ठाउँले एउटै काठको स्टिक पटक–पटक वाक्सको भाँडोमा डुबाउने अर्थात् ‘डबल डिप’ गर्ने गरेको हुनु हुँदैन । यसबाट ब्याक्टेरिया फैलिन सक्छ ।

लेजर अर्को विकल्प

केही दिनमै रेजर चलाइरहनुपर्ने वा बारम्बार वाक्स गर्नुपर्ने झन्झटबाट दिक्क हुनुहुन्छ भने लेजर हेयर रिमुभल अर्को विकल्प हो । यसले रौंको जरामा रहेको यसको थैलीलाई लक्षित गरेर रौंको वृद्धि घटाउँदै लैजान्छ । एकपटक गरेर सधैंका लागि रौँ नआउने भन्ने होइन । सामान्यतया धेरै यसका चरण आवश्यक पर्छ र पछि पनि मर्मतका लागि थप चरण चाहिन सक्छ । तर, समयसँगै रौंको मात्रा र मोटाइ घट्न सक्छ।

तर लेजर भने ‘जसले गरे पनि हुन्छ’ भन्ने उपचार होइन । गलत सेटिङ वा अनुभव नभएको व्यक्तिबाट गराउँदा छाला पोल्ने, दाग बस्ने, छालाको रङ गाढा वा फिक्का हुने, फोका आउने वा दुर्लभ अवस्थामा दाग बस्ने समस्या हुन सक्छ ।

त्यसैले, लेजर गराउने भए छालारोग विशेषज्ञ वा उचित तालिम र अनुभव भएको चिकित्सकीय केन्द्र रोज्नु राम्रो हुन्छ ।

रौँ हटाउने क्रिम

रेजर वा वाक्सको झन्झट नहोस् भनेर कतिपयले रौं हटाउने क्रिम प्रयोग गर्छन् । यस्तो क्रिमले रौंको प्रोटिन संरचना भत्काएर छालाको सतहबाट रौँ हटाउँछ । प्रयोग गर्न सजिलो भए पनि गुप्ताङ्ग वरिपरिको संवेदनशील छालामा भने यसले पोल्ने वा एलर्जी गराउन सक्छ ।

विशेषगरी योनाङ्गको भित्री भाग वा योनिभित्र रौं हटाउने क्रिम प्रयोग गर्नु हुँदैन । बाहिरी भागमा प्रयोग गर्ने हो भने पनि सम्बन्धित उत्पादनले सो क्षेत्रका लागि प्रयोग गर्न मिल्ने स्पष्ट उल्लेख गरेको हुनुपर्छ र निर्देशनअनुसार मात्र प्रयोग गर्नुपर्छ ।

कुन विधि रोज्ने त ?

यदि प्रश्न ‘सबैभन्दा सुरक्षित कुन ?’ भन्ने हो भने एउटै उत्तर सबैका लागि मिल्दैन । रौँ छोटो मात्र बनाउने हो भने ट्रिमिङ राम्रो विकल्प हुनसक्छ । केही समयका लागि पूरै हटाउने हो भने, रेजर प्रयोग गर्न सकिन्छ, तर सही तरिका अपनाउनुपर्छ ।

लामो समयसम्म रौँको वृद्धि घटाउने चाहना छ भने लेजर प्रभावकारी विकल्प हुन सक्छ, तर विशेषज्ञबाट गराउनुपर्छ ।

यी गल्ती नगरौं

– गुप्ताङ्गको रौं हटाउँदा साबुन वा सुगन्धित उत्पादनले मात्र छाला घोटिरहनु ।

– एउटै रेजर अरूसँग बाँड्नु, धेरै पुरानो ब्लेड प्रयोग गर्नु ।

– छालामा चोट लागेको अवस्थामा फेरि रेजर÷वाक्स चलाउनु ।

– योनांगभित्र भाग वा योनिभित्र कुनै हेयर रिमुभल क्रिम प्रयोग गर्नु ।

रेजर चलाएपछि छाला सुख्खा वा पोलिरहेको छ भने सुगन्धरहित, संवेदनशील छालाका लागि उपयुक्त मोइस्चराइजर प्रयोग गर्न सकिन्छ ।

गुप्ताङ्ग यौनांग रौँ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय