+
+
Shares
विचार :

कम्युनिस्ट आन्दोलनको संकट र प्रेक्सिस पाठशालाको प्रस्ताव

आफ्ना समर्थक जनताबाट अलगिएको अर्थात् जीवनरस गुमाएको कम्युनिस्ट पार्टीहरूलाई धुलिसात गर्ने उपयुक्त अवधि २०८२ बन्यो।

राम कार्की राम कार्की
२०८३ असोज २२ गते ८:०८

वर्तमान परिस्थिति

नेपाली राजनीतिको सिङ्गो आकाशलाई अहिले कालो बादलले डम्म ढाकेको प्रतीत हुन्छ। त्यसमाथि सतहमै छताछुल्ल भएको हिजोका कम्युनिस्ट पार्टीहरूको अन्योल, उकुसमुकुस र छटपटीले अँध्यारोलाई झन्झन् घना बनाउँदै लगेको छ। वामपन्थी राजनीतिको जानकार भनिएका र मानिएकाहरूको ठूलो अंश भने विकसित घटनाक्रमको तिथिमिति, सतही शृङ्खला र पात्रहरूको तिलस्मी कथा सुनाउनमा व्यस्त छन्। घटनालाई जन्म दिने कारणहरूलाई पातालमै किलाबन्दी गरेर पस्किने ज्ञानले परिस्थितिको वास्तविक चित्र नै प्रदान गर्दैन, ठोस विश्लेषणको कुरै छाडौँ।

अहिलेसम्म आउँदा ती भक्तहरूले समेत मौखिक रूपमा यो सत्य कबुल्छन् कि उनीहरूले आराध्य मानेर बीसौँ वर्ष अन्धसमर्थन गरेका शीर्ष नेताहरू पछिल्ला २० वर्षमा मजदुर-किसानको पक्षमा होइन, दलाल पुँजीपति, नोकरशाह र सामन्तहरू तथा विश्व पुँजीवादी व्यवस्थाका मुख्यालयहरूको पक्षमा राजनीति गरिरहेका थिए। त्यो अवधिमा आफूलाई दोस्रो तहका नेता ठान्ने सिङ्गो पंक्ति त्यही लाइन र नेतृत्वलाई आरती गरेर आफ्नो दुनो सोझ्याइरहेका थिए।

‘दुई लाइन संघर्षले नै एउटा कम्युनिस्ट पार्टीलाई अधोगतिबाट जोगाउँछ’ भन्ने माओका गहन शिक्षालाई तिरस्कार गरेर एकमनावादको अभ्यासमा बैँस बिताएका यी मझौला कदका नेतामध्ये केही यतिबेला आएर नेतृत्व परिवर्तनको कुरा गरिरहेका छन्, अर्थात् परिहास सिर्जना गरिरहेका छन्।

साम्राज्यवाद पुँजीवादकै विकसित र उच्चतम रूप भएजस्तै फाँसीवाद पनि पुँजीवादकै एउटा विकृत संस्करण हो। उत्पादन सधैँ सामाजिक हुने तर त्यसको स्वामित्व निजी हुने हुँदा पुँजीवादमा संकटहरू अनवरत रूपमा देखा पर्दछन्। नयाँ भूगोलमा नयाँ संसाधन तथा श्रमको शोषण गरेर अनि बेलाबेलामा आफूलाई पुनर्निर्मित रूपमा प्रस्तुत गरेर पुँजीवाद अहिलेसम्म टिकेको छ। आज पुँजीवादसँग विचरणका निम्ति नयाँ भूगोल बाँकी छैन र केही दशकयता उसले आफूलाई पुनर्संरचना गर्न पनि सकिरहेको छैन। नयाँ स्थानमा शोषणको विस्तार सम्भव नभएकाले नै ब्रह्माण्डका सम्पूर्ण प्राणीहरूको अस्तित्वलाई नै सर्वनाश गर्ने ढङ्गले पुँजीवादद्वारा जमिन, पानी र आकाशको चरम दोहन हुन थालेको छ।

पुँजीवाद निरन्तर संकटमा फस्दै जाने तर त्यसलाई क्रान्तिकारी संकटमा फेर्न साम्यवादी आन्दोलन असमर्थ हुँदा स्वाभाविक रूपमै पुँजीवाद अनुदार, असहिष्णु तथा अधिनायकवादी बन्दै जान्छ। समाजवादी आन्दोलन धराशायी भएको अवस्थामा कुनै न कुनै प्रकारको अधिनायकवादले शिर ठाडो पार्न थाल्छ। फाँसीवादको जन्म पनि यस्तै परिस्थितिमा हुन जान्छ।

सन् ८० को दशकयता नेपाल पनि विश्व पुँजीवादको साङ्लोमा बाँधिएको छ। यसैकारण अन्तर्राष्ट्रिय पुँजीवादमा देखिने संकटका अभिलक्षण र प्रभाव नेपालमा पनि स्वाभाविक रूपमै देखिन र पर्न जान्छन्। बितेका दुई वर्षभित्र नेपालमा विकसित भएका घटनाहरू पनि पुँजीवादमा आएका संकट र त्यसलाई क्रान्तिकारी संकटमा फेर्न असक्षम साम्यवादी आन्दोलनकै परिणाम हुन्।

नेपालमा कम्युनिस्ट पार्टी गठन भएपछि यताका आठ दशकमा नेपाली समाजमा व्याप्त शोषण, बन्धन, भेदभाव, कुरीति र अज्ञानताविरुद्ध स्वतन्त्रता, समानता, ज्ञान र सचेतनताका पक्षमा कम्युनिस्टहरूले गरेको संघर्ष अविस्मरणीय छ। हालैको दुई दशकमा कम्युनिस्ट नेतृत्वको सानो अङ्गले सिद्धान्तप्रति गरेको खेलबाड, वर्गीय आत्मसमर्पण, भ्रष्ट आचरण आदिका कारण आफूलाई कम्युनिस्ट हुँ भन्दा पनि हिच्किचाउनुपर्ने जुन स्थिति तयार भएको छ, त्यो क्षणभङ्गुर छ।

आगामी दुई-तीन वर्षभित्रै मजदुर, किसान, महिला लगायत उत्पीडित वर्ग, लिङ्ग र क्षेत्रका जनता नयाँ विचारसहित नयाँ नेतृत्व निर्माण गरेर अगाडि बढ्नेछन्। त्यो क्रम सुरु हुनासाथ इतिहासमा कम्युनिस्टहरूले गरेका असल कामहरू ऐतिहासिक धरोहर ठहरिनेछन् र त्यही कडीहरू जोड्दै कम्युनिस्ट आन्दोलनको क्रान्तिकारीकरणको प्रक्रिया पनि सुरु हुनेछ।

यहाँ भने हाम्रो विश्लेषण मूलतः यही २० वर्ष, अझ त्यसमा पनि पछिल्लो उथलपुथलप्रति केन्द्रित रहनेछ। विद्यमान अर्थराजनीतिक प्रणाली र त्यसैलाई मलजल गर्ने राजनीतिक संस्कृतिविरुद्ध समाजवादी सारान्तरणको ध्येयसहित गरिने क्रान्तिकारी सङ्ग्राममै नेपालको भविष्य टिकेको छ र यही नै आजको मूल मुद्दा हो।

यसबाट दायाँबायाँ हुनासाथ पार्टी र पार्टीको नेतृत्वमा विचलन आउने र पार्टीको संस्कृति र ढाँचा एकमनावादी रहेकाले नेता विशेषमा देखापर्ने वैचारिक-सांस्कृतिक स्खलनले पार्टीको सिङ्गो पंक्ति र समर्थक जनसमूहलाई समेत नकारात्मक प्रभावले गाँज्दो रहेछ भन्ने सत्य थाहा पाउन अन्यत्र कतैको उदाहरण खोज्नै परेन। यही र अहिले नै जताततै त्यो नकारात्मक मूल्य र संस्कृति टट्कारो रूपमा देखिन्छ।

संसदीय जडता

ठूलो भनिएको एमाले लगायतका कतिपय कम्युनिस्ट नामधारी पार्टीहरू पहिले नै धसिएको संसदीय भासमा पछिल्लोपटक माओवादी पार्टीले पनि खुट्टा फसायो। करिब-करिब एकमनावादलाई नै संगठनात्मक सिद्धान्त बनाई भ्याएको माओवादी पार्टीको चतुर नेताको चपलताले छोटो समयमै पार्टी नाक छोपिने गरी संसदीय दलदलमा भासिन पुग्यो।

पछौटे मुलुकमा उत्पीडितहरूको पक्षमा राजनीति गर्ने पार्टीले सडकमा खुट्टा जमाउन सक्नुपर्दछ। संसद्मा जे-जस्तो संख्यामा प्रतिनिधित्व भए तापनि सडकबाट एकछिनका निम्ति पनि ध्यान हटाउन हुँदैन। विडम्बना, नेपालका कम्युनिस्टहरूले संसद्मै सर्वस्व सुम्पिए।

मुख्य नेताको निगाहमा कथित प्रमुख सचेतक/सचेतक नामका आधुनिक हजुरियाहरूबाट प्राप्त हुने पाँच-सात मिनेटको लच्छेदार भाषणमै हामीमध्ये धेरैको क्रान्तिकारिता छताछुल्ल पोखियो। त्यसबाहेक संसद्को टेबलमा ध्याप-ध्याप गरेर बोल्न पाइने विशिष्ट गणतान्त्रिक अधिकार उपभोग गर्नमै पार्टीको संसदीय फाँट तल्लीन रह्यो।

जनतन्त्र वा जनवाद सामाजिक वर्गहरूको संघर्षको सन्तुलनमा अडिएको हुन्छ, संसदीय चुनाव, भाषण वा संसद्भित्र गरिने सनातनी कर्मकाण्डमा होइन भन्ने कुरा आफूलाई मार्क्सवादी नै भन्ने नेताहरूले भुसुक्कै बिर्सिए। मुख्य नेताहरू नै कछाड कसेर संसद्मा भित्रिएकाले अरू फाँटका कामहरू केवल औपचारिकतामा सीमित बने। सडक अर्थात् श्रमजीवी जनता बस्ने, बाँच्ने देहात, सहरका गल्ली-चोक सबै ठाउँबाट पार्टी नदारद भयो।

पार्टीको आधार रहेका गरिब किसान, सहरका अर्धसर्वहारा, बेरोजगार र अर्धबेरोजगार युवा, विद्यार्थी र गृहिणीसँगको पार्टीको जीवन्त सम्बन्ध विच्छिन्न बन्यो। पार्टी र नेतृत्वप्रति ती आधारभूत जनतामा छाएको निराशा र क्षोभ आक्रोशमा फेरिँदै गएको तथ्यबाट नेतृत्व बेखबर बन्यो। खबरदारी गर्नेहरूलाई पार्टीमा बस्न नसक्ने स्थिति तयार गरियो।

यसरी ‘एक्काइसौँ शताब्दीमा जनवादको विकास’ शीर्षक राखेर दस्तावेजमा मूल नेताहरू संसदीय आहालमा नपस्ने, सरकारै गठन गर्नुपरे पनि मुख्य नेताहरू जनताबीच नै रहने उद्घोष गरेको पार्टीका मुख्य नेताहरूले कालान्तरमा ‘तस्बिरको माछा पो नखाने भनेको त’ भन्दै संसद्मा छिर्न केवल कन्दनी मात्र कसेनन्, विभिन्न रङ्गीबिरङ्गी पार्टीहरूसँग मिलेर सरकारमा जान र टिक्न कन्दनी चुडाएर हेर्नेलाई समेत लज्जित बनाए। फलतः पार्टी विघटित भयो।

संसद् केवल देखाउने दाँत हो, चबाउने दाँत अन्त कतै खोकिलामा हुन्छ भन्ने शिक्षालाई भुसुक्कै बिर्सिएर हाम्रा नेताहरूले संसद्लाई नै सबै कामना पूरा हुने मनचिन्ते झोला सम्झिए। संसद्मा राखिने र पास गरिने प्रस्तावले नै दुनियाँ फेरिन्छ भन्ने भ्रममा कम्युनिस्ट पार्टीका नेताहरू पर्नु भनेको वास्तविक शक्ति रहने ठाउँ पुलिस, सेनाको ब्यारेक र त्यसलाई संयमित बनाउन सक्ने सडक र गल्ली हो भन्ने सत्य बिर्सिनु हो। यो सत्य इतिहासमा पुनः एकपटक नेपालमा उजागर भएको छ। 

संघर्ष, शक्ति सन्तुलन र नेतृत्वको विचलन

२०५२ सालमा सुरु भएको सशस्त्र संघर्षले नेपालको इतिहासमै पहिलोपटक बलियो जनशक्तिको निर्माण गर्‍यो। २०६२/६३ सम्म पुग्दा जनयुद्धको बैँस सुरु भयो। जनशक्ति र धनशक्तिका बीचमा करिब-करिब शक्ति सन्तुलन कायम हुन पुग्यो।

२०६४ देखि २०८२ सम्म संघर्षरत दुई परस्परविरोधी शक्तिमध्ये कुनचाहिँ विजयी भएको हो, यकिन हुन नसक्ने स्थिति तयार भयो। शक्ति सन्तुलनको यो अवधिमा राज्यका वास्तविक अङ्गहरू सेना, पुलिस, अदालत र कर्मचारीतन्त्र आदि स्वतन्त्र र निरपेक्ष बनेका हुन् कि भन्ने भ्रमसमेत सिर्जना भयो। जुन कुरा सामाजिक वर्गहरूको शक्ति सन्तुलन अनिर्णीत रहेको जुनसुकै समाजमा सामान्य रूपमा अस्थायी रूपमा कायम रहन्छ।

कर्मचारीतन्त्रको नेतृत्वको विनत हाउभाउ, पुलिस र सेनाका हाकिमहरूको तडकभडकपूर्ण सलामीले कम्युनिस्ट नेताहरूलाई राज्य नै जितेको स्वाङ पार्न मनग्यै काम गर्‍यो। ‘हामी नै संस्थापन पक्ष हौँ। हामी नै संस्थापन हौँ।’ भन्दै कम्युनिस्ट नेताहरू कुर्लिएको सायद नेपाली जनताले बिर्सेका छैनन्।

यो अवधिमा अन्तर्राष्ट्रिय पुँजीवादले घरेलु प्रतिक्रियावादीहरूसँग मिलेर क्रान्तिकारी शक्तिलाई कमजोर तुल्याउन लगातार प्रयास गरिरह्यो। बन्दुक र बमले तह नलागेको जनयुद्धको नेतृत्वलाई आखिर सहुलियत र सुविधाको चिप्लोले पराजित गर्‍यो।

आफ्ना समर्थक जनताबाट अलगिएको अर्थात् जीवनरस गुमाएको कम्युनिस्ट पार्टीहरूलाई धुलिसात गर्ने उपयुक्त अवधि २०८२ बन्यो। पुँजीपति वर्ग आफ्ना आर्थिक हितका निम्ति राजनीतिक अधिकारको बलि दिन सदा तत्पर रहन्छ भन्ने सत्य पूर्ण साबित भयो।

हाम्रा नेताहरूले जेसुकै सोचून्, नेपाली जनताका अगाडि इतिहाससिद्ध यो सत्य फेरि अगाडि आयो कि भौतिक तागत संसदीय बहसमा होइन, वर्गहितमा टिकेको हुन्छ। यो पनि पुनः एकपटक सिद्ध भयो कि तपाईंको रक्षा वा विनाश संविधानप्रदत्त कानुनले होइन, सङ्गिनले गर्दछ।

यसका निम्ति उत्पीडक वर्गले सङ्गिनकै गुप्त आडमा पङ्गु बनिसकेको आफ्नो नेतृत्वलाई हटाएर नयाँ भावभङ्गीसहितको नयाँ अनुहार अगाडि सार्नु जरुरी ठान्यो। अर्थात् पुँजीवादको पुनर्संरचना।

यस्तो उपद्रवपूर्ण कारबाही सम्पन्न गर्न संसारभरि नै उत्पादनबाट कटेका आवारा मानिसहरूको गुप्त दस्ता अनिवार्य बन्न जान्छ। नाजीहरूले जर्मनीको सत्ता र फासिस्टहरूले इटलीको सत्ता कब्जा गर्दा बगलीमारा, पटके चोर, भगौडा सिपाहीहरू, वेश्यालयका दलाल आदिको फौज नै खडा गरेका थिए। इटलीका चोकहरूमा आयोजना हुने यिनीहरूको उन्मादी सहभोजमा मुसोलिनी र उनका सहयोगीहरू सामेल हुने गर्दथे। फ्रान्समा ‘Vive Bonaparte’ को नारा बुलन्द गर्ने ‘Society of December 10’ यस्तै असामाजिक जत्थाहरू मिलेर बनेको थियो।

नेतृत्वको असक्षमता वा गद्दारीका कारण मजदुर-किसानजस्ता क्रान्तिका आधारभूत वर्गहरू छिन्नभिन्न भएको अवस्थामा समाजका यिनै सामान्यतः अनुपयोगी र महत्त्वहीन ठानिएका तप्का राजनीतिको मञ्चमा देखा पर्दछन्। मजदुर-किसान आदिको संगठित शक्ति अगाडि आउँदा बरालिएको यो जमात राजनीतिबाट टाढा हुन्छ। यसको एउटा सानो हिस्सा भने क्रान्तिको नजिक आउने गर्दछ।

भावभङ्गी र अनुहार जस्तोसुकै चटकी देखिएको भए पनि अहिले राजनीतिमा हावी भएको शक्ति उत्पीडक वर्गकै पक्षपोषक शक्ति हो। यस मानेमा सरकारका नयाँ कर्ताधर्तालाई कांग्रेस-कम्युनिस्टका मुख्य नेताहरूकै उत्तराधिकारी बुझ्नु ठीक बुझाइ हुन्छ।

राजनीतिक क्षितिजमा उत्पीडितहरूको सच्चा हितैषी राजनीतिक पार्टी देखा नपर्दासम्म यिनीहरू आपसमा झैझगडा र कचिङ्गल गरिरहन्छन्, तर यिनीहरूको वर्गस्वार्थ समान छ। यसैले यिनीहरूबीचको सम्बन्धको मूलमा समझदारी र सहयोग नै रहेको हुन्छ।

हामीले छलफल गर्दा एकछिन पनि बिर्सन नहुने कुरा के हो भने उत्पीडक वर्ग आफ्नो नेतृत्व र आफ्ना मुद्दाहरू अगाडि बढाउने कला-कौशल फेर्न सफल बन्यो। परिस्थितिको ताकितामा आफ्नो नीति र नेतृत्व फेर्न उत्पीडित वर्ग, जाति र क्षेत्रका जनता हाललाई असफल साबित भएका छन्। उनीहरूसँग अर्थात् नेपालका मजदुर-किसान लगायत उत्पीडित वर्ग र जातिका जनतासामु नयाँ नीति र नेतृत्व निर्माण गर्नुपर्ने चुनौती उपस्थित छ।

नयाँ र विकल्पको भ्रान्तिपूर्ण विमर्श

यो संक्रमणकालमा ‘नयाँ’ र ‘विकल्प’ भन्ने पदावलीलाई केही राजनीतिकर्मीले औधी नै भट्याउने गरेको पाइन्छ। उनीहरूले भन्ने गरेको ‘नयाँ’मा नयाँ विशेषणमुक्त छ। नयाँको गुणलाई कहिल्यै कतै परिभाषित गरिएको छैन, केवल ‘नयाँ-नयाँ’ भनेर जाप गर्ने गरेको पाइन्छ।

यिनीहरूको एकोहोरो भट्याइले के अर्थ दिन्छ भने नयाँ भनेकै असल हो। यिनीहरूको तर्कलाई मान्ने हो भने रोगहरूमध्ये रुघामर्कीभन्दा एड्स राम्रो, फ्रेडरिक इबर्टभन्दा हिटलर राम्रो, सुकार्नोभन्दा सुहार्तो राम्रो, जियोभानी जियोलिटीभन्दा मुसोलिनी राम्रो। किनकि हिटलर, सुहार्तो, मुसोलिनी आदि सबै नै यहाँ तुलना गरिएका उनीहरूका पूर्वजभन्दा नयाँ थिए।

रह्यो कुरो विकल्पको। नेपालमा विद्यमान अर्थराजनीतिलाई, यहाँ कायम भएको उत्पादन सम्बन्धलाई गुणात्मक रूपमै फेर्ने र त्यो फेर्न विद्यमान कतिपय संरचना र व्यवस्थालाई भत्काउनुपर्ने कुरा यी नयाँ र विकल्पको नारा लगाउनेहरूले कहिले गरेनन्।

अहिलेको संविधान, यही रूप र गतिको गणतन्त्र, बहालमा रहेको संघीयता, बेलाबेलामा उद्बोधन गरिने समावेशी प्रजातन्त्र आदिको रक्षामा पूर्णतः समर्पित रहने वाचासहित खुलेका झन्डै आधा दर्जनजति नयाँ र विकल्पका पार्टी नेपाली राजनीतिमा क्रियाशील छन्।

कति उमेरसम्म एउटा राजनीतिक पार्टी नयाँ रहन्छ र कति उमेर पुगेपछि पुरानो बन्छ भन्ने नियम-कानुन यी राजनीतिक दल र यिनका स्वनामधन्य नेताहरूले बाहिर नल्याएकाले यी पार्टी नयाँ नै छन्, वयस्क वा वृद्ध भइसके भन्न सकिन्न।

जे होस्, नेपाली समाजको प्रगतिशील रूपान्तरणका निम्ति भविष्यमा गठन हुने नयाँ र उन्नत, प्रगतिशील विकल्पले लैस पार्टीले सुरुमा नै नयाँ र विकल्पको नाममा उम्रिएका यी वैचारिक झारजङ्गललाई गोडमेल गर्नु जरुरी छ।

के गर्ने ?

राजनीतिक निष्क्रियकरण कि राजनीतिक विषहरण ?

वैचारिक राजनीतिक सपना ऐँठनमा परिवर्तन भएकाले राजनीतिमा चासो राख्ने नेपालीहरूलाई यो बेलामा वैराग्य, निराशा, कुण्ठा र आक्रोशसमेतले फरकफरक मात्रामा गाँजेको छ। उमेरको महत्त्वपूर्ण हिस्सा राजनीतिमा होमिएर जेलनेल, प्रवासन भोगेका, आर्थिक, सामाजिक तथा पारिवारिक नोक्सान बेहोरेका र अपेक्षाकृत स्वच्छ तथा इमानदार जीवन बाँचेका व्यक्तिहरू अहिले चारैतिरबाट आलोचनाले घेरिएका छन्। उनीहरू आफ्नै सन्तानको आँखामा पनि आफूप्रति विस्मय र उपेक्षा झल्किएको पाउँछन्।

यो पंक्ति र अरू पनि राजनीतिक नेताहरूको भनाइ र गराइबीचको असंगतिबाट वाक्कदिक्क भएका नेपालीहरू राजनीतिबाट टाढा रहनुपर्ने विचारहरू प्रकट गर्छन्। समाजका यावत् अन्तर्विरोधको केन्द्रीय अभिव्यक्ति राजनीतिबाट हुने हुँदा व्यक्ति राजनीतिबाट टाढा भागेको ठान्न सक्छ, तर राजनीतिले उसलाई जकडिरहेकै हुन्छ।

त्यसैले राजनीतिको विकल्प राजनीति नै हो। खराब राजनीतिको विकल्प असल राजनीति हो। प्रगतिशील विचारधाराबाट डोर्‍याइएको राजनीति नै आजको उपचार हो।

यही वास्तविकताका कारण अहिले पनि थुप्रै पार्टीहरू जन्मने, भएका पार्टीहरूबीच ध्रुवीकरण हुने, विभिन्न समूहमा टुटफुट हुने आदि कार्य भइरहेका छन्। मार्क्सवादी प्रेक्सिस पाठशालामा थोरै सङ्ख्यामा जम्मा भएका हाम्रो प्रारम्भिक ठहर छलफलका निम्ति हामी प्रस्तुत गर्दछौँ।

हाम्रो रायमा विभिन्न विशेषणका फुर्का जोडेर एउटा नयाँ पार्टी गठन गर्दा भएका धेरै पार्टीमा एक सङ्ख्या थपिन जान्छ, तर त्यसले समकालीन इतिहासको कार्यभार पूरा गर्न सक्दैन।

अर्को महत्त्वपूर्ण कुरा, बितेका २० वर्षका राजनीतिक नारा, कार्यक्रम र आचरण, विशेषतः आचरणबाट सिक्नेभन्दा बिर्सनु र त्याग्नुपर्ने कुरा धेरै छन्। यसको निम्ति पुरानो पार्टीमा रहेर माथिल्लो वा मझौला तहमा काम गरिसकेका हामीमध्ये धेरैले केही अवधि नयाँ सिक्नेभन्दा पुरानो बिर्सनमा लाग्नुपर्ने हुन्छ।

नेपालको अनुभव हेर्दा पार्टी जन्मनासाथ भएका अरू पार्टीसँग सहकार्य, विचारहरूको अन्तरउर्वरीकरण सुरु हुने होइन कि यसको विपरीत खसाल्ने र निषेध गर्ने नकारात्मक अभ्यास सुरु हुन्छ। हाम्रो राजनीतिक परम्पराको यो नकारात्मक प्रवृत्तिलाई चिन्हित गर्ने र हटाउने उपाय पत्ता लगाएर अवलम्बन नगरेसम्म यो नकारात्मक प्रवृत्ति दोहोरिइरहन्छ।

नयाँ विचारको आधारमा नयाँ र एकताबद्ध पार्टी बनाउने वाचासहित खुलेका आधा दर्जन पार्टी विभाजित भएर दुई दर्जन पुग्न गएको र यीमध्ये सबैले आफूलाई सही र इमानदार भनिरहेको यथार्थलाई उपहास गर्ने होइन कि यसको गहिरो अध्ययन गरेर यसका पछाडिका कारणको निदान र उपचारतर्फ लाग्नुपर्दछ।

नेपाली राजनीतिमा साँचो अर्थको कम्युनिस्ट पार्टी अस्तित्वमा नरहेको सत्य २०८२ सालको भदौ महिनाको २३ र २४ गते घटेका घटनाले छर्लङ्ग पारिदियो। एकक्षण सम्झौँ त, यदि त्यो बेला लेनिन र लेनिनको जस्तो सानोभन्दा सानो पार्टी मात्रै नेपालमा रहेको भए स्थिति के हुने थियो?

झन्डै १७ देखि १८ करोड जनसङ्ख्या भएको तत्कालीन रूसमा बोल्सेभिक पार्टीको सदस्य सङ्ख्या १९१७ को पहिलो महिनासम्म २०-२२ हजारमा सीमित थियो। बोल्सेभिक अर्थात् बहुमतको अवस्था यस्तो थियो भने अन्य पार्टीको सदस्य सङ्ख्याबारे सहजै अनुमान गर्न सकिन्छ। सबै कम्युनिस्ट मिलाउँदा समेत कुल सङ्ख्या हजारमै सीमित रहन्थ्यो, लाख पुग्दैनथ्यो।

अब नेपालको हालततर्फ ध्यान दिऔँ त, के भयो? जगजाहेर छ। स्वयंलाई लेनिनवादी घोषणा गर्ने, चतुर र साहसी भनेका नेताहरू ज्यान जोगाउन भाग्नुपर्ने, एकजना नेता भाग्नासाथ त्यो पार्टीका सबै इकाइहरू कोमामा जाने अनि यसलाई दुनियाँले कम्युनिस्ट पार्टी मानिदिनुपर्ने।

कम्युनिस्ट पार्टीको कुरै छाडौँ, अन्य प्रतिरोध आन्दोलनलाई हेर्दा पनि थाहा हुन्छ। भर्खरै इरानमा नेतृत्वको शिखर पंक्तिलाई इजरायल र अमेरिकाको संयुक्त आक्रमणले ताछेरै फालिदियो, तर त्यसले प्रतिरोध आन्दोलनलाई कमजोर होइन, अझ दृढ बनायो।

हामीले पढेका थियौँ, कम्युनिस्ट पार्टी सबै अङ्गमा न्युक्लियस भएको अमिबाजस्तै हो। त्यसको हरेक टुक्रा जीवन्त बन्दछ। तथ्यहरूले प्रमाणित गर्‍यो कि नेपालमा कम्युनिस्ट पार्टी छैन।

यसको अर्थ नेपालमा कम्युनिस्टहरू नै छैनन् भन्ने होइन। विभिन्न समूहमा छरिएर सानो सङ्ख्यामा कम्युनिस्टहरू रहेका छन्। कम्युनिजमतर्फ सद्भाव राख्ने जनसङ्ख्या आज पनि ठूलो छ। तर यो सधैँ यही आकारमा रहन सक्दैन। त्यसैले यतिबेला बीजको जगेडा गर्ने र ब्याडहरू बनाउने बेला हो। मार्क्सवादी प्रेक्सिस पाठशाला यसै उद्देश्यअन्तर्गत सुरु हुने एउटा तरिका हो। तरिका अन्य पनि हुन सक्छन्।

मार्क्सवादी प्रेक्सिस पाठशाला

नाम

यसको नाम मार्क्सवादी प्रेक्सिस पाठशाला रहनेछ (मार्क्सिस्ट स्कुल अफ प्रेक्सिस)। नेपालभित्र बोलिने वा लेखिने कुनै भाषा वा बोलीमा प्रेक्सिसलाई जनाउने शब्दावली पाइएमा त्यो प्रयोग गर्न सकिनेछ।

उद्देश्य

क्रान्तिकारी विचारधारा अर्थात् मार्क्सवादको वैचारिक बीजको रक्षा र विकास यसको प्राथमिक उद्देश्य हुनेछ। ती ब्याडहरूबाट क्रान्तिकारी आन्दोलन सृष्टि गर्नु पाठशालाको मुख्य उद्देश्य हो।

दार्शनिक आधार

कार्ल मार्क्स र उनका सहयोद्धाहरूद्वारा प्रतिपादित मार्क्सवाद र उनीहरूका सच्चा उत्तराधिकारीद्वारा परागसिञ्चित दर्शन र सिद्धान्त यो पाठशालाको दार्शनिक आधार रहनेछ।

यो कुरा जोड दिएर भन्नु जरुरी छ कि असङ्गत विचारहरूको सारसङ्ग्रह र एउटै आधारभूत सिद्धान्तबाट विकसित विचारहरूको परागसिञ्चन एकदमै फरक कुरा हो। सारसङ्ग्रहवादबाट मार्क्सवादलाई जोगाउनै पर्दछ।

स्पष्टीकरण

पाठशालाको आधारभूत बुझाइमा मार्क्सवाद आम ज्ञानको संसार, ज्ञानधारा भित्रकै विकासको उपज हो। उल्लेखनीय रूपमा नै यसको सयौँ व्याख्या र विश्लेषण भएका छन्। यीमध्ये मार्क्सवादलाई विश्लेषणात्मक प्रवर्गमा खुम्च्याउने व्याख्याविपरीत सुरुमा कार्ल काउत्स्कीले र पछि लेनिन, रोजा लक्जेम्बर्ग आदिले यसलाई रणनीतिक, संगठनात्मक र व्यावहारिक विचारका रूपमा व्याख्या गर्दै अगाडि बढाए। कालान्तरमा काउत्स्की आफ्नै मान्यताबाट विचलित भए।

लेनिन, रोजा लक्जेम्बर्ग, एलेक्जेन्डर बोग्दानोभ, मार्तोभ, एन्टोन पान्नेकोक, बुखारिन, ट्रट्स्की आदिबीच चलेको वैचारिक संघर्षबाट निखारिएको मार्क्सवादलाई विकसित तुल्याउँदै लैजानु हाम्रो अभिष्ट हो।

लेनिनको बल प्रयोगको सिद्धान्तको प्रकाशमा एन्टोनियो ग्राम्सीको हेजेमनी र सहमतिको सिद्धान्तलाई अध्ययन गर्ने, रोजा लक्जेम्बर्गको गहिरो मार्क्सवादी अध्ययन, समझदारी तथा स्वतन्त्रताप्रतिको अविचल प्रतिबद्धताको उज्यालोमा चे ग्वेभाराको आत्मबलिदानी प्रेक्सिसलाई पुनः बुझ्ने कोसिस जारी राख्नुपर्दछ।

तत्काल अघि बढ्नकै निम्ति पनि उत्पीडितहरूको पक्षपोषण गर्ने आन्दोलनले गतिशील युद्ध र स्थानगत युद्ध बीचको द्वन्द्वात्मक सम्बन्धलाई पर्गेलेर आफ्ना नीति र कार्यक्रमलाई अगाडि सार्नुपर्दछ।

माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले विकसित गरेको लेनिनवादको प्रकाशमा ग्राम्सी, चे ग्वेभारा, फेनन, अमिलकार काब्राल, पाउलो फ्रेरे आदिको लेनिनवादसम्बन्धी बुझाइलाई अध्ययन गर्ने हाम्रो उद्देश्य छ।

माओवाद वा विचारधाराको सन्दर्भमा निःसन्देह माओ एक मौलिक क्रान्तिकारी नेता हुन्। विभिन्न मुलुकमा विचारधारा वा माओवादका नाममा क्रान्तिकारी अभ्यास भएका छन्। यद्यपि यसरी भएका अभ्यासले कम्पुचियामा छोटो समयका निम्ति रातो खमेरले सत्ता कब्जा गर्नुलाई अपवादका रूपमा लिने हो भने अहिलेसम्म राजनीतिक सत्ता प्राप्त गर्न सकेको छैन।

तथापि, यो विचारको आधारमा हुँदै आएका निशस्त्र तथा सशस्त्र संघर्षहरूको समीक्षा गर्नैपर्दछ र त्यसका लागि ठीक समय यही हो। यो विराट चुनौती आज हाम्रा सामु उपस्थित छ।

निष्कर्ष

सारांशमा, मार्क्सका पालादेखि अहिलेसम्म सिद्धान्तको क्षेत्रमा भएका प्रयास तथा हुँदै आएका क्रान्तिकारी अभ्यासहरूको पुनःअध्ययन जरुरी छ। क्रान्तिकारी सिद्धान्त र यसअन्तर्गत भएका अभ्यासको अध्ययन गर्दा त्यसको वरिपरिको विशिष्ट परिवेश र विद्यमान सन्दर्भको प्रकाशमा अध्ययन गरेर त्यसको पुनर्व्याख्यामा नयाँ पुस्ता जुट्नुपर्दछ।

यो कामसँगै लेनिन, रोजा लक्जेम्बर्ग, पान्नेकोक, ग्राम्सी, माओ, चे ग्वेभारा आदिका विचारहरू फरकफरक परिवेश र समयमा विकसित भएका मार्क्सवादकै धरोहर भएकाले तिनलाई वैचारिक अन्तरपरागसेचनद्वारा समृद्ध गर्दै लैजाने नयाँ संस्कृतितर्फ हाम्रो विशेष ध्यान जानुपर्दछ। यसले नै नेपाली विशिष्टता खुट्याउने तथा यो समाजमा मार्क्सवाद लागू गर्ने र विकसित तुल्याउने बाटो प्रशस्त गर्नेछ।

(प्रस्तावित मार्क्सवादी प्रेक्सिस पाठशालाद्वारा २०८३ असोज ९ र १० गते ललितपुरमा आयोजित पहिलो छलफल शिविरमा युवा अध्येता एवम् अभियानीहरूबीच प्रस्तुत प्रारम्भिक अवधारणापत्र)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?