२२ असोज, सुर्खेत । हिल्सा–सिमकोट सडकखण्डमा बाक्लो हिउँ जमेर आवतजावत अवरुद्ध भएपछि हुम्लाबाट चीनतर्फ गएका करिब ३०० नेपाली नागरिक तिब्बतको पुरङमा रोकिएका छन्। सडक नखुलेपछि उनीहरू घर फर्किन नसकेर चीनतर्फै बस्न बाध्य भएका हुन्।
पुरङमा रहेका साम चेनले अनलाइनमार्फत दिएको जानकारीअनुसार हुम्लाका विभिन्न स्थानीय तहका करिब ३०० नागरिक अहिले पुरङमा रोकिएका छन्। तीमध्ये नाम्खा गाउँपालिकाका मात्रै १५० भन्दा बढी नागरिक रहेको उनले बताएका छन्।
हिउँका कारण हिल्साबाट सिमकोटतर्फ आउने सडक बन्द भएपछि घर फर्कन नसकेको र आफूहरूलाई उद्धारको व्यवस्था गर्नुपर्ने अवस्था आएको चेनले बताएका छन्।
हुम्लाका विभिन्न पालिकाका नागरिकसँगै भारतबाट आएका केही नागरिकसमेत पुरङमा रोकिएको उनले जानकारी दिएका छन्।
हिउँले रोक्यो घर फर्किने बाटो
चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ङारी प्रिफेक्चरमा पर्ने पुरङ काउन्टी हुम्लाको हिल्सा नाकासँग जोडिएको प्रमुख व्यापारिक क्षेत्र हो।
हुम्लाबाट व्यापार, रोजगारी तथा अन्य कामका लागि पुरङ पुगेका नेपालीहरू सडक अवरुद्ध भएपछि त्यहीँ रोकिएका हुन्।
हिल्सा हुँदै सिमकोट फर्किने सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। पैदल आवतजावतसमेत जोखिमपूर्ण बनेपछि नेपाली नागरिकहरू पुरङमै बस्न बाध्य भएका छन्।
पुरङमा रोकिएका नागरिकका अनुसार हिउँ सफा गरेर सडक सञ्चालनमा नल्याएसम्म नेपाल फर्किन सम्भव छैन।
लामो समयसम्म सडक अवरुद्ध हुँदा बसोबास, खानपान र अन्य दैनिक आवश्यकतासमेत प्रभावित हुन थालेको उनीहरूको भनाइ छ।

हिउँ सफा गरेपछि मात्रै फर्किन सक्ने अवस्था
हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले हिल्सा–सिमकोट सडकमा हिउँ भएकाले चीनतर्फ गएका व्यापारी तथा स्थानीयवासी उतै रोकिएको बताए।
उनका अनुसार पुरङ क्षेत्रमा जमेको हिउँ सफा गरेपछि मात्रै हिल्सा हुँदै हुम्ला फर्किने अवस्था बन्नेछ।
‘हिल्साबाट सिमकोट आउने सडकमा हिउँ भएका कारण व्यापारी तथा स्थानीयवासी ताक्लाकोटतर्फ रोकिएका छन्। बाटो नखुलेसम्म तत्कालका लागि समस्या छ,’ उनले भने।
सडक अवरुद्ध भएपछि हुम्लाको उत्तरी क्षेत्रमा हुने व्यापारिक गतिविधि र स्थानीयको आवतजावतसमेत प्रभावित भएको छ। विशेषगरी चीनको पुरङ पुगेका नेपाली नागरिक सडक खुल्ने प्रतीक्षामा छन्।
उद्धारका लागि समन्वय आवश्यक
हिमपातका कारण लामो समयसम्म सडक खुल्न नसके पुरङमा रोकिएका नेपाली नागरिकको समस्या थप जटिल बन्न सक्ने देखिएको छ। नाम्खा गाउँपालिकाका मात्रै १५० भन्दा बढी नागरिक रहेको जानकारी आएपछि उनीहरूको अवस्थाबारे स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिएको छ।
चीनतर्फ रोकिएका नागरिकले तत्काल सडक खुलाउन तथा सम्भव नभए वैकल्पिक माध्यमबाट उद्धारको व्यवस्था गर्न माग गरेका छन्। उच्च हिमाली क्षेत्रमा निरन्तर हिमपात भइरहेकाले सडक खुलाउन समय लाग्न सक्ने अनुमान गरिएको छ।
हुम्लाका नागरिकका लागि हिल्सा–सिमकोट सडक नै मुख्य आवागमनको माध्यम भएकाले हिउँले सडक बन्द हुँदा त्यसको प्रत्यक्ष असर दैनिक जीवन, व्यापार र आवतजावतमा परेको छ। सडक तत्काल सञ्चालनमा नआए पुरङमा रोकिएका नेपाली नागरिकको समस्या अझ लम्बिने देखिएको छ।
प्रतिक्रिया 4