+
+
Shares

सशस्त्रका निलम्बित एआईजी दाहालमाथिको छानबिन प्रतिवेदन गृहमा, बर्खास्त हुनसक्ने

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ । त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ९:०९
छानबिन गरी कारबाही सिफारिसको जिम्मा पाएका एआईजी अन्जनी कुमार पोखरेल र निलम्बनमा परेका अर्का एआईजी वंशीराज दाहाल

२३ असोज, काठमाडौं । सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालमाथि कारबाही सिफारिस प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ ।

आचरण विपरीतको काम गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी दाहालमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनी कुमार पोखरेललाई दिइएको थियो ।

छानबिनका लागि तीन दिनको म्याद पाएका पोखरेलले प्रतिवेदन गृह मन्त्रालयमा बुझाइसकेको स्रोतले बतायो । ‘करिब १२/१३ पेजको बयान पेपरसहित प्रतिवेदन प्राप्त भएको छ,’ गृह मन्त्रालय स्रोतले अनलाइनखबरलाई भन्यो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ । त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । त्यसैले अब गृहमन्त्री सुधन गुरुङले प्रतिवेदन अनुसार आवश्यक निर्णय गर्न सक्नेछन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज १० गते राति काठमाडौंस्थित घरबाटै पक्राउ गरेर  ११ गते अपराह्न छाडेको थियो । यद्यपि अपराध अनुसन्धान कार्यालयले सुरक्षा थ्रेटको सूचना पाएपछि घरमा ल्याएर राखेको जनाएको छ ।

दाहालमाथि झापा घर भएका अर्का बिचौलियासँग पनि कनेक्सन देखिएको र गोप्य सूचनाहरु चुहाएको आरोप पनि लगाइएको छ ।

संवेदनशील सूचना चुहाएको भन्दै दाहाललाई गृह मन्त्रालयले १९ असोजमा पदबाट निलम्बन गरेको थियो । सोही दिन छानबिन समिति पनि गठन गरिएको थियो ।

अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा जाँदै थिए ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका एआईजीको पदावधि चार वर्षको हुन्छ । २८ वैशाख २०७९ मा उनी एआईजी भएका थिए ।

तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।

(२) उपनियमअनुसार एक वर्ष म्याद थपका लागि सशस्त्र हेडक्वाटर गृहमन्त्रालयमा सिफारिस समेत गरेको थियो । यही बीचमा उनी गोप्य सूचना चुहाएको भन्दै निलम्बनमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?