+
+
Shares

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, दर्जनौं संरचना भत्किए

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते ८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पानामामा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको र विभिन्न स्थानमा भवन, सडक तथा पुलमा क्षति पुगेको छ।
  • भूकम्पपछि ६.९ म्याग्निच्युडको परकम्प गएको छ, र भूगर्भविद्हरूले तत्कालको मुख्य जोखिम परकम्पलाई औँल्याएका छन्।
  • टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलले उडान सेवा अस्थायी रूपमा रोकेर दुई घण्टापछि पुनः सञ्चालन गरेको छ, भने पानामा नहर नियमित रूपमा सञ्चालन भएको छ।

२४ असोज, काठमाडौं । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो । यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल दक्षिणपश्चिममा थियो ।

भूकम्पपछि शक्तिशाली परकम्पसमेत गएका छन् । दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो । भूगर्भविद्हरूले तत्कालका लागि परकम्पलाई मुख्य जोखिमका रूपमा औँल्याएका छन् ।

भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओमा अवस्थित एल सिटियो होटल भत्किएको छ । होटल भत्किँदा मानवीय क्षति भने नभएको बताइएको छ । उक्त क्षेत्रमा केही घरमा चिरा परेको र एउटा पुलमा समेत क्षति पुगेको छ । भूकम्पका कारण विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको उनले बताए ।

‘अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको हो,’ शहरका मेयर बाटिस्टाले पानामाको टेलिभिजन च्यानल टेलिमेट्रोलाई भनेका छन् ।

पानामाका राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार देशका कोक्ले, लस सान्तोस र पानामा प्रान्तमा बढी क्षति पुगेको छ । सरकारी भवन, चर्चका अग्ला संरचना, होटल, पानी प्रशोधन केन्द्र र सडकमा क्षति पुगेको छ ।

घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ । तर, क्षतिको यकिन विवरण सार्वजनिक गरिएको छैन ।

पानामाका अधिकारीहरूले टेलिमेट्रोलाई दिएको जानकारीअनुसार पेनोनोमे सहरमा करिब एक दर्जन संरचना भत्किएका छन् । अगुआदुल्सेमा छवटा भवनमा उल्लेख्य क्षति पुगेको छ । पेनोनोमेमा रहेको डोस कोन्टिनेन्टेस होटलको एक भाग भत्किएर पार्किङमा राखिएका गाडीमाथि खसेको दृश्यसमेत सार्वजनिक भएको छ ।

कोक्ले प्रान्तका वरिष्ठ प्रहरी अधिकारी जर्ज सान्चेजका अनुसार गभर्नरको कार्यालय र एउटा क्याथेड्रलमा समेत क्षति पुगेको छ ।

भूकम्पको धक्का राजधानी पानामा सिटीमा समेत महसुस गरिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भवनहरू हल्लिएपछि मानिसहरू सडकमा निस्किएको देखिन्छ । राजधानी क्षेत्रको जनसंख्या करिब २० लाख छ ।

गगनचुम्बी भवनका लागि परिचित राजधानीको मुख्य सहरी क्षेत्रमा भने ठूलो क्षति नभएको स्थानीय प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन् । अग्ला भवन हल्लिँदा छतमा रहेका पौडी पोखरीको पानी सडकमा खसेको दृश्यसमेत सार्वजनिक भएको छ ।

भूकम्पपछि देशको प्रमुख विमानस्थल टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलले उडान सेवा अस्थायी रूपमा रोकेर यात्रुहरूलाई बाहिर निकालिएको थियो । सुरक्षासम्बन्धी निरीक्षणपछि करिब दुई घण्टामा उडान सेवा पुनः सञ्चालन गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय समुद्री व्यापारका लागि महत्त्वपूर्ण मानिने पानामा नहरमा भने भूकम्पपछि पनि नियमित रूपमा सञ्चालन भइरहेको नहर प्राधिकरणले जनाएको छ । पानामास्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारी वा दूतावासमा कार्यरत व्यक्तिहरू घाइते भएको प्रारम्भिक विवरण प्राप्त नभएको जनाएको छ ।

यूएसजीएसकी भूकम्पविद् सुसान हफका अनुसार प्रारम्भिक विवरणले यो भूकम्प ठूलो सुनामी निम्त्याउन सक्ने सबडक्शन जोनमा उत्पन्न भएको नभई जमिनमुनि कम गहिराइमा र मुख्यतः तेर्सो चालका कारण गएको देखाउँछ । जमिनमै गएको र उथलो प्रकृतिको भूकम्प भएकाले केन्द्रबिन्दु नजिकका क्षेत्रमा तीव्र कम्पन महसुस भएको उनको भनाइ छ ।

उथलो प्रकृतिको भूकम्प (Shallow Earthquake) भन्नाले पृथ्वीको सतहबाट कम गहिराइमा, सामान्यतया ७० किलोमिटरभन्दा कम गहिराइमा उत्पत्ति हुने भूकम्पलाई बुझिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?