+
+
Shares

बूढीगण्डकी बाढीमा फसेका ३ सय २१ जनाको सोमबार उद्धार

विकास मरहट्टा विकास मरहट्टा
२०८३ असोज २६ गते २१:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढीगण्डकी बाढीमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका तीन हेलिकप्टर परिचालन गरिएका छन्।
  • प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार सोमबार ३ सय २१ जनाको उद्धार भएको छ, जसमध्ये १२ जना विदेशी पर्यटक छन्।
  • उद्धारसँगै त्रिपाल, खाद्यान्न, औषधी, लाइट, सोलार, जेनेरेटर र लत्ताकपडा सहितका राहत सामग्री प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत पुर्‍याइएको छ।

२६ असोज, आरुघाट (गोरखा) । बूढीगण्डकी बाढीमा फसेकाहरुको उद्धार कार्यलाई तीव्र पारिएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको छ ।

सोमबारमात्रै ३ सय २१ जनाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । जसमध्ये १२ जना विदेशी पर्यटक छन् ।

‘आइतबारबाटै नेपाली सेनाको तीन वटा हेलिकप्टर उद्धारमा खटिएको छ,’ प्रजिअ मिश्रले भने, ‘जहाँ फसेका छन्, त्यहीबाट हेलिले उनीहरुको उद्धार गरिरहेको छ ।’

उनका अनुसार, आइतबार ९ जना विदेशीसहित ९६ जनाको उद्धार भएको थियो । उत्तरी गोरखाको जगत, दोभान, सल्लेरी, फिलिम लगायतका स्थानबाट उनीहरुलाई उद्धार गरिएको हो । मंगलबार पनि बिहानैदेखि उद्धारका लागि हेलि उडान हुने बताइएको छ ।

उद्धार र राहत सँगसँगै

उद्धारसँगै राहत वितरणको काम पनि सँगसँगै अघि बढाइएको छ । उद्धारका लागि जाने हेलिकप्टरमा राहतका सामाग्री पठाइएको प्रजिअ मिश्रले बताए । ‘उद्धार गर्न जाने हेलिले यहाँबाट राहतका सामाग्री लान्छ, फर्कदा अलपत्र परेका व्यक्तिहरू लिएर आउँछ,’ प्रजिअ मिश्रले भने ।

त्रिपाल, खाद्यान्न, औषधी, लाइट, सोलार, जेनेरेटर, लत्ताकपडा लगायतका राहत सामाग्री पठाइएको उनले जानकारी दिए । उक्त सामग्री बाढीपीडित तथा प्रभावितहरुलाई वितरण समेत भइरहेको उनको भनाइ छ ।

बिभिन्न संघसंस्थाबाट प्राप्त भएको राहतका सामग्री आरुघाट बजारस्थित कवर्ड हलमा संकलन गरिएको छ । त्यहीबाट एकद्धार प्रणालीमा हेलिले बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याइरहेको छ । सँगै अलपत्र परेकाहरुको उद्धार समेत गरिरहेको छ ।

सोमवार प्रजिअ मिश्रसहित जिल्लाका सुरक्षा संयन्त्र उद्धार तथा राहत कार्यको निरीक्षणका लागि आरुघाट पुगेका थिए ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?