२७ असोज, काठमाडौं । सार्वजनिक अभिव्यक्ति र आचरणलाई लिएर पटकपटक प्रश्न उठ्दै आएका रास्वपा सांसद खगेन्द्र सुनार यतिबेला महिलालाई अश्लील गाली गर्दै धम्की दिएको भनिएको अडियो प्रकरणमा विवादमा परेका छन्।
सञ्चारमाध्यममा सार्वजनिक भएको उक्त अडियोपछि उनीमाथि गम्भीर छानबिनको माग भइरहेको छ । तर । एउटा महिलाको अस्मितासँग जोडिएको विषयमा बहालवाला सांसद मुछिँदा राज्यका अहिलेसम्म चुपचाप बसेका छन् ।
यो विषयमा रास्वपा पार्टीले मात्र नोटिसमा लिएको छ । त्यही पार्टी नेतृत्वको सरकारले भने कुनै अनुसन्धान अघि बढाएको छैन ।
अडियोमा एक पुरुषले व्यक्तिले एक महिलालाई तथानाम गाली गरेका छन् । उनका छोरालाई मार्ने काट्ने धम्की दिएका छन् । परपुरुषसँग सम्बन्ध रहेको भन्दै आरोप लगाएका छन् । नेताहरूको नाम जोड्दै उनीहरूसँगको उठबस र लसपस गरेको भन्दै अश्लील शब्द मार्फत् गाली गरेको सुनिन्छ ।
‘यो विषयमा हामीलाई कहिँबाट उजुरी आएको छैन । उजुरी आएको अवस्थामा प्रहरीले आफ्नो कानुनी प्रक्रिया अघि बढाउने हो’ नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले अनलाइनखबरसँग भने ।

पीडितले उजुरी नै नदिएको भन्ने तर्कका आधारमा राज्यका निकायहरू यस्तो गम्भीर विषयमा मौन बस्न नमिल्ने कानुनविद्हरूको राय छ ।
महिला आयोगकी पूर्वअध्यक्ष समेत रहेकी अधिवक्ता मोहना अन्सारी सरकारले तत्कालै यो घटनालाई छानबिन गर्नुपर्ने बताउँछिन् ।
‘सरकार रास्वपाको छ । सांसद पनि रास्वपाकै जोडिएका छन्। सार्वजनिक रूपमा यो विषय आएपछि चुप लागेर बस्न मिल्दैन’, अन्सारीले अनलाइनखबरसँग भनिन्, ‘यसलाई नोटिसमा लिएर सरकारले आफैं छानबिन अघि बढाउनुपर्छ ।’
यस्ता विषयमा पीडितले उजुरी नदिएको आधारमा मौन बस्न नमिल्ने उनले बताइन् । ‘सांसद मुछिएको विषय भएकाले सभामुखले समेत यसबारेमा विचार पुर्याउनुपर्छ’ उनले भनिन्, ‘यदी यो घटनालाई छोडियो भने ठूला मान्छेले जे गर्दा पनि हुन्छ भन्ने सन्देश जान्छ र पीडकहरूको आत्मबल बढ्छ ।’
घटनामा महिलाको सम्मान, सुरक्षा र सम्भावित दुर्व्यवहारको प्रश्न जोडिएपनि राष्ट्रिय महिला आयोगमा हालसम्म औपचारिक उजुरी नपरेको आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले बताएकी छन्।
उनले घटनालाई गम्भीर विषयका रूपमा लिएको जनाउँदै पीडितले आफ्नो पहिचान सार्वजनिक नगरी पनि उजुरी दिन सक्ने बताएकी छन्।
‘यस्तो विषयमा गोप्य रूपमा पनि उजुरी दिन सकिन्छ,’ खतिवडाले भनिन्, ‘उजुरी आउने हो भने हामी मुद्दा अगाडि बढाउँछौं ।’
आयोगमा उजुरी नपरेको अवस्थाले घटनाको अनुसन्धानका लागि अन्य कानुनी प्रक्रिया स्वतः बन्द हुन्छ भन्ने अर्थ लाग्दैन। आरोपको प्रकृति र उपलब्ध प्रमाणका आधारमा सम्बन्धित सरकारी निकायले आफ्नो क्षेत्राधिकारअनुसार के कदम चाल्न सक्छन् । तर यो काममा सरकारी निकाय चुपचाप छन् ।

यो प्रकरणमा तत्काल स्पष्ट हुनुपर्ने तीन वटा विषय छन् । सार्वजनिक अडियो वास्तविक हो वा होइन, आरोपमा नाम जोडिएकी महिलाको भनाइ र सुरक्षासम्बन्धी पक्षलाई कसरी सम्बोधन गरिन्छ ? र, उपलब्ध तथ्यका आधारमा राज्यका निकायले कानुनी अनुसन्धान आवश्यक ठान्छन् कि ठान्दैनन् ? सांसदसमेत भएकाले उनीमाथि गम्भीर आरोप लगेको अवस्थामा संसद्ले के गर्ने ?
प्रतिनिधिसभाका पूर्व सचिव गोपालनाथ योगीका अनुसार पीडितबाट उजुरी आएको अवस्थामा प्रहरीले थुनामा राखेर अनुसन्धान गर्यो भने सांसद पदीय जिम्मेवारीबाट काम गर्न पाउँदैनन् । तर राज्यका निकायले छनबिन नगर्दासम्म पार्टीले छानबिन गरेकै भरमा उनलाई कामबाट अलग गर्न मिल्ने अवस्था रहन्न । तर यही कारण अन्य प्रक्रिया अघि बढाउन नमिल्ने भन्ने हुँदैन ।
‘महिला हिंसाको कुरा हो भने फौजदारी कसुर हो । सरकारले छानबिनको दायरता ल्याउनसक्छ । लैंगिक हिंसा गरेको विषयमा मुद्दा चल्न सक्छ’, वरिष्ठ अधिवक्ता गान्धी पण्डितले भनेका छन् ।
प्रमाण संकलन गर्दै रास्वपा
अडियो प्रकरणलाई रास्वपाले केन्द्रीय अनुशासन आयोगमार्फत आन्तरिक छानबिन अघि बढाएको छ। पार्टीले सुनारलाई औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ।
अडियो सार्वजनिक भएपछि रास्वपाले घटनाबारे आधिकारिक धारणा सार्वजनिक गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यद्यपि, सार्वजनिक अडियोमा सुनिएको आवाज सुनारकै हो वा होइन भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ। सुनारले भने अडियोमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।
आयोगले आरोप लागेका सांसद सुनार र घटनामा नाम जोडिएकी महिलासँग पनि कुरा बुझ्ने जानकारी दिएको छ ।
आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार मंगलबार बिहानदेखि नै प्रमाण संकलनको काम सुरु गरिएको छ। उनले भने, ‘हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं। तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं।’
भट्टराईले अडियोमा आएका विषय गम्भीर प्रकृतिका भएकाले छानबिनलाई तीव्रता दिइने बताए। उनका अनुसार आयोगले सार्वजनिक सामग्रीको सत्यापन गर्नुका साथै सम्बन्धित पक्षका कुरा सुनेर निष्कर्षमा पुग्नेछ।
‘पार्टीको धारणा आइसकेको छ। अनुशासन आयोग चाहिँ स्वतन्त्र हो। त्यसैले हामीले सबै प्रमाणहरू संकलन गरिरहेका छौं,’ भट्टराईले अनलाइनखबरसँग भने ।
उनका अनुसार आयोगले सांसद सुनारसँग पनि कुरा गर्न खोजिरहेको छ। घटनामा नाम जोडिएकी महिलासँग भेटेर उनको भनाइ बुझ्ने प्रयाससमेत भइरहेको छ।
‘सांसदसँग पनि हामी कुरा गर्न खोजिरहेका छौं। अनि जो महिलाको नाम जोडिएको छ, उहाँसँग पनि भेट्ने कोसिसमा छौं,’ भट्टराईले भने।
आरोप लागेका व्यक्तिलाई आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने भएकाले सुनारको भनाइ पनि छानबिनको महत्वपूर्ण हिस्सा हुने आयोगको भनाइ छ। सुनार भने पार्टीको कामको सिलसिलामा काठमाडौं बाहिर, दाङमा रहेको बताइएको छ।
एउटा व्यक्तिको पछि सती जाने ?
रास्वपाले सुनारमाथि सार्वजनिक भएका आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ। पार्टी महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई गम्भीर र संवेदनशील रूपमा लिइएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसक्ने जनाइएको छ।
महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीले शून्य सहनशीलताको नीति अपनाउने पनि उल्लेख गरिएको छ। आरोपमाथि छानबिन गर्न राज्यका निकायलाई सहयोग गर्ने प्रतिबद्धतासमेत पार्टीले व्यक्त गरेको छ।
संसदीय दलले पनि प्रकरणलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले छानबिनबाट आरोप पुष्टि भए पार्टीले सम्बन्धित व्यक्तिलाई संरक्षण नगर्ने बताएका छन्।
‘अडियोमाथि छानबिन हुन्छ। यदि त्यो सम्बन्धित व्यक्तिको हो भन्ने प्रमाणित भयो भने पार्टी एउटा व्यक्तिको पछि सती जान सक्दैन,’ परियारले भने ।
यो प्रकरणबाट रास्वपाले सार्वजनिक गरेको अनुशासन र जवाफदेहिताको प्रतिबद्धता व्यवहारमा कसरी कार्यान्वयन गर्छ भन्ने प्रश्न पनि उठेको छ ।

सुनार भन्छन् : निष्पक्ष छानबिन होस्
आरोप सार्वजनिक भएपछि सांसद सुनारले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू छानबिनमा सघाउन तयार रहेको बताएका छन्। उनले आफूले कुनै अपराध गरेको प्रमाणित भए कानुनअनुसारका परिणाम भोग्न तयार रहेको दाबी गरेका छन्।
‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु। म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ सुनारले भनेका छन्।
पार्टी र राज्यका निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने बताउँदै उनले आवश्यक परे पार्टीबाट निलम्बित हुन र सांसद पदबाट निलम्बित हुनसमेत तयार रहेको बताएका छन्।
‘राज्यले गरेको, पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु। मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु। सांसदबाट निलम्बित हुन पनि म तयार छु,’ उनले भिडियोमा भनेका छन्।
तर, सुनारले सार्वजनिक अडियो आफ्नो नभएको दाबी गरेका छन्। उनले एआई लगायतका माध्यमबाट आफ्नो आवाजको नक्कल गरेर आफूलाई फसाउन खोजिएको हुन सक्ने दाबी गरेका छन् ।
सांसद सुनारको विगत राम्रो छैन । सुनारमाथि २०८१ असारमा सुर्खेतको मेहेलकुना अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपसमेत लागेको थियो। उनीमाथि अस्पताल प्रमुखले मुद्दा हालेका थिए ।
त्यस्तै, २०८० असारमा सुनारविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो। उक्त प्रकरणमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २० हजार रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए।
सुनारविरुद्ध महिला अधिवक्ता मनीषा गौतमको जाहेरीका आधारमा विद्युतीय कारोबारसम्बन्धी कसुरमा काभ्रे जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया 4