News Summary
Generated by OK AI. Editorially reviewed.- दसैंमा मदिरा सेवन गर्ने प्रचलनबीच औषधि खाइरहेकाले मदिरासँगको सम्भावित अन्तरक्रियाबारे सचेत हुन चिकित्सकले सुझाएका छन्।
दसैंका बेला रमाइलोका लागि मदिरा सेवन गर्ने प्रचलन छ । मदिरा आफैंमा स्वास्थ्यका लागि राम्रो होइन । मदिरा सेवन गर्ने व्यक्तिले औषधिसँग यसको सम्भावित अन्तरक्रियाबारे सचेत हुनुपर्छ ।
मदिराले निद्रा लगाउने औषधि तथा केही एलर्जीका औषधिको प्रभाव बढाउन सक्छ । उदाहरणका लागि, निद्रा तथा चिन्ता कम गर्न प्रयोग गरिने डाइजेपाम, अल्प्राजोलाम र निद्रा लगाउन प्रयोग गरिने जोल्पिडेमसँग मदिरा सेवन हानिकारक हुन सक्छ । यस्ता औषधिसँगै मदिरा सेवन गर्दा अत्यधिक निद्रा लाग्ने, चक्कर आउने, निर्णय क्षमता कमजोर हुने र शरीरको सन्तुलन बिग्रिने जोखिम हुन्छ ।
क्लोरफेनिरामिन र डिफेनहाइड्रामिन जस्ता एलर्जीका औषधिसँग पनि मदिरा सेवन गर्दा निद्रा र चक्करको असर बढ्न सक्छ । सेटिरिजिन जस्ता तुलनात्मक रूपमा कम निद्रा लगाउने औषधिसँग पनि केही व्यक्तिमा यस्तो असर बढ्न सक्छ । यसले लड्ने तथा सडक दुर्घटना हुने सम्भावना बढाउनुका साथै गम्भीर अवस्थामा श्वासप्रश्वासमा समेत असर पार्न सक्छ ।
एन्टिबायोटिक सेवन गरिरहेका व्यक्तिले पनि मदिराबारे विशेष सावधानी अपनाउनुपर्छ । मेट्रोनिडाजोलसँग मदिरा सेवन गर्दा वाकवाकी, बान्ता, पेट दुख्ने, अनुहार रातो हुने र मुटुको धड्कन बढ्ने जस्ता प्रतिक्रिया हुन सक्छन् । टिनिडाजोलसँग पनि यस्तो जोखिम हुने भएकाले उपचारका क्रममा र औषधि बन्द गरेपछि तोकिएको अवधिसम्म मदिरा सेवन गर्नु हुँदैन ।
त्यसैले औषधि सेवन गरिरहेको अवस्थामा मदिरा सेवन नगर्नु नै सुरक्षित विकल्प हो । औषधिको लेबलमा दिइएको निर्देशन पालना गर्ने र मदिरासँगको अन्तरक्रियाबारे चिकित्सक वा फार्मासिस्टसँग परामर्श लिने गर्नुपर्छ ।
प्रतिक्रिया 4