३१ असोज, सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुधार गरी नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको छ।
लामो समयदेखि साँघुरो ठाउँ, गर्मी, पानी चुहिने र सरसफाइको समस्याबाट गुज्रिरहेको कक्ष व्यवस्थित बनेपछि बिरामी र स्वास्थ्यकर्मीलाई सहज भएको छ। अस्पतालले एक बिरामीकै हातबाट रिबन काटेर सुधार गरिएको इमर्जेन्सी कक्षको उद्घाटन गरेको हो।
यसअघि इमर्जेन्सी कक्ष साँघुरो हुनुका साथै अत्यधिक गर्मी हुने, वर्षात्का बेला पानी चुहिने र सरसफाइ व्यवस्थापनमा समस्या देखिने गरेको थियो। यसले बिरामीलाई उपचार सेवा लिन र स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न कठिनाइ हुँदै आएको थियो।
कल्याणपुर नगरपालिकाका बिरामी मनोजकुमार साहले यसअघि इमर्जेन्सी कक्षमा उपचार गराउन आउँदा साँघुरो ठाउँ, गर्मी र सरसफाइको समस्याले असहज हुने गरेको बताए। अहिले व्यवस्थापनमा सुधार आएपछि उपचार सेवा लिन सहज भएको उनको भनाइ छ।
त्यस्तै, लहान नगरपालिकाका मङ्गैन यादवले पनि पहिले कक्षमा पानी चुहिने र सेवा प्रवाहमा ढिलाइ हुने समस्या रहेको बताए। अहिले भने सेवा र व्यवस्थापन दुवै पक्षमा सुधार देखिएको उनले बताए।
इमर्जेन्सी कक्षका इन्चार्ज दीपेन्द्रप्रसाद सिंहका अनुसार पहिले कक्ष साँघुरो हुनुका साथै सिलिङ नहुँदा अत्यधिक गर्मी हुने गरेको थियो। जस्तापाताबाट पानी चुहिने समस्याले वर्षात्का बेला बिरामीको उपचारमा समेत कठिनाइ हुने गरेको उनले बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाशका अनुसार इमर्जेन्सी सेवा लामो समयदेखि सञ्चालनमा रहे पनि कक्ष अव्यवस्थित हुँदा बिरामीको चाप बढेका बेला सेवा व्यवस्थापन गर्न कठिनाइ हुने गरेको थियो। त्यसलाई ध्यानमा राखेर पुरानै कक्षलाई सुधार गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको उनले बताए।
सुधारका क्रममा जस्तापाता फेर्ने, विद्युतीय व्यवस्थापन मिलाउने, रङ्गरोगन गर्ने, स्क्रिनिङ राख्ने र आवश्यक फर्निचरको व्यवस्था गरिएको डा. प्रकाशले जानकारी दिए। यसबाट बिरामीलाई उपचार सेवा लिन र स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न सहज हुने उनले विश्वास व्यक्त गरे।
विगतमा विभिन्न कारणले चर्चामा रहँदै आएको लहान प्रादेशिक अस्पतालमा पछिल्लो समय भौतिक पूर्वाधार र सेवा व्यवस्थापन सुधारका प्रयास भइरहेका छन्। इमर्जेन्सी कक्षमा गरिएको सुधारले बिरामीलाई सहज र व्यवस्थित वातावरणमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4