+
+
Shares
सुरेश ढकालसँग अन्तर्वार्ता :

‘प्रकोपले कैयौँ सभ्यता ढले, संघर्षले जोगाइरहेछ मानव अस्तित्व’

धेरैजसो मानिसहरूले विनाशपछि नयाँ निर्माण त होला भन्ने आशा राखेका हुन्छन् । तर त्यसपछि सरकारको स्पष्ट दृष्टि र सुशासनको कमी भयो भने विनाशपछि झनै ठूलो वित्यास हुन्छ । भोटेकोशी बाढीपछि त्यो अवस्था आउँछ कि भन्ने डर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुरेश ढकालले प्रकोपलाई प्रकृतिको निरन्तर प्रक्रिया र विपद्लाई मानवीय तथा सामाजिक असरका रूपमा छुट्याएर हेर्नुपर्ने बताए।
  • उनले भू-उपयोग योजना कार्यान्वयन नभएकाले जोखिमपूर्ण क्षेत्रमै बसोबास बढेको र त्यसले रसुवागढी तथा बुढीगण्डकीजस्ता बाढीमा क्षति बढाएको उल्लेख गरे।
  • उनले पुनर्स्थापना, सुशासन र सरकारी निगरानी कमजोर हुँदा प्रकोपपछि विपद् झनै गहिरो हुने बताउनुभयो।

डेढ महिनाअघिको रसुवागढी बाढीको खोज तथा उद्दार नसकिँदै गतसाता मुलुकले त्यस्तै खालको बुढीगण्डकी बाढीको विनाश खेप्नुपर्‍यो । पछिल्ला दुई/तीन वर्षयताका घटनाक्रम केलाउने हो भने मुलुकले अस्वभाविक र अनौठो प्रकृतिका प्रकोपहरू झेलिरहेको छ ।

मानव इतिहासमा नै प्रकोप कुनै नौलो कुरा होइन । संसारका ठूलाठूला सभ्यताहरू विभिन्न प्रकोपले नै लोप भएको हुनसक्नेसम्मका बैज्ञानिक आँकलनहरू छन् । तर प्रकोपले पार्ने क्षति भने मुलुकले अंगालेको नीति, तय गरेको मापदण्ड र नागरिकको सुरक्षाका लागि देखाएको संवेदनशीलता अनुसार फरक हुन्छ ।

प्रकोपले मानिसलाई पार्ने असर र त्यसले सिकाएको पाठ र प्रकोपबाट निम्तिने विपद्को मात्राका वारेमा त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका अध्यापक सुरेश ढकालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :

मान्छेले कहिलेदेखि प्रकोप सामना गर्न सुरु गर्‍यो र कस्ता सम्मका प्रकोपहरू झेलेर यहाँसम्म आइपुगेको हो ?

हामी यो दशैंको संघारमा यो प्रकोप विपद् का बारेमा कुराकानी गर्दै छौं । यद्यपि यथार्थ हो । ज–जसले दशैंलाई उत्सवका रुपमा मनाउनु हुन्छ उहाँलाई शुभकामना दिउँ । अनि कुरा सुरु गरौं ।

पृथ्वीको अरु प्राणी झैं मानिसले पनि आफूलाई एउटा प्राणीको रुपमा आफूलाई विकास गर्दै आएको हो । प्रकृतिका यावत जति चक्रहरू छन्, तिनीसँग जुध्दै, तिनलाई झेल्दै मानिस यहाँसम्म आइपुगेको हो । पुरातात्विक अन्वेषणहरूका आधारमा पनि झन्डै एक करोड वर्षसम्मको ज्वालामुखी र ठूला बाढी, भूकम्प आएका प्रमाणहरू भेटिन्छन् ।

ज्वालामुखी विस्फोट, बाढीपहिरो, भूकम्प पृथ्वीको निरन्तर प्रक्रिया हो । वैज्ञानिकहरूले पृथ्वी विभिन्न चरणको हिमयुगबाट गुज्रिएको निष्कर्ष निकालेका छन् । पछिल्लो चरणको हिमयुगलाई हामी ‘क्वाटर्नरी पिरियड’ भन्छौं । त्यसको अवधि झण्डै २५–२६ लाख वर्षको मानिन्छ ।

तात्ने र सेलाउने क्रममा एउटा बिन्दुमा पुगेपछि पृथ्वीमा यति धेरै हिउँहरू जम्छ र चिसो हुन्छ कि थुप्रै प्राणीहरू र वनस्पतिहरू त्यो थेग्न नसकेर हराएर गएको मान्यता राखिन्छ ।

थेग्न सक्ने केही प्राणी र वनस्पतिहरू फेरि आउँछन् । कतिपय अवस्थामा नयाँ प्रजाती देखा पर्छन् । पृथ्वी र मानवजाति यो क्रमबाट आएको हो ।

पहिलेपहिले हात्ती, डायनासोरहरू, अर्नाभैंसीहरू जस्ता जनावरहरू थिए भन्छौं । अन्य कतिथरीका जनावरहरू प्रकोपमा बिलाएर गए, उनीहरूको अवशेष नै सकियो । नयाँ प्राणीहरू आए । यस्ता प्रकोपहरूमा मानिसहरू ठूलो संख्यामा प्रभावित भए । प्रागऐतिहासिक कालदेखि अहिलेसम्म पनि मानिसहरू यस्ता प्रकोपमा प्रभावित भइरहेका छन् ।

हामीले पछिल्ला ३–४ सय वर्षका इतिहास हेर्ने हो भने पनि भूकम्पबाट लाखौं मानिसहरू मरेका छन् । चिनमा मात्रै त्यस्तो संख्या दशौं लाखको छ ।

पछिल्ला केही दशकमा अमेरिका र युरोपमा हिट वेभ अर्थात् तातो हावाका कारण हजारौं मानिस मरेका छन् । त्यस्तो विकसित भनिएका ठाँउहरूमा पनि ठूलो हताहती भएको छ ।

ठूलाठूला सभ्यताहरू यस्ता प्रकोपका कारण हराएर गएका छन् । अत्यन्त विकसित भएको सिन्धुघाटीको सभ्यता एक्कासी विनाश भएको थियो । यही नै हो भनेर त्यसको किटानयुक्त कारण त छैन, तर सम्भवतः ठूलो बाढीले त्यो सिंगो सभ्यता नै सखाप पारेको मान्यता राखिन्छ ।

हामीले हडप्पा र मोहेञ्जो–दारोको सभ्यता पढेका थियौं, करिब सय–दुई सय वर्ष लामो खडेरीका कारण ती सभ्यता नाश भएर गएको विश्वास गरिन्छ । ज्वालामुखी विस्फोटले पोम्पेई सभ्यता नै सखाप भएर गएको थियो ।

अहिलेको वा पछिल्ला केही वर्षदेखिको मात्रै होइन कि प्रकोप प्रकृतिको निरन्तर प्रक्रिया हो । पछिल्लो १००–५० वर्षमा जलवायुका चक्रहरू परिवर्तन भएका छन् । हामीले तिनको पूर्वानुमान गर्न सकेनौं, अनि प्रभावहरू पनि अलि घातक भएर गए ।

प्रकोप प्रकृतिको एउटा नियम जस्तै हो । विपत भनेको सामाजिक विषय । हामीले प्रकोप र विपद्लाई जोडेर हेर्ने गरिन्छ, वास्तवमा ती दुई फरक कुरा हुन् । उही स्तरको भूकम्प वा बाढीले कतै धेरै नोक्सान पुर्‍याउछ, कतै कम नोक्सान पारेको हुन्छ । बाढी त त्यही हो, प्रकोप पनि त्यही हो ।

तर मान्छेको जीवनलाई पार्ने प्रभाव विपत भयो । विपत त मान्छेलाई पर्ने हो । प्रकोप चाहिँ प्राकृतिको नियम हो । त्यो आदिम कालदेखि चलिरहेको छ ।

पृथ्वीको सिङ्गो इतिहास नै प्रकोपबाट गुज्रिरहेको छ । ठूला भैचालाहरू, ज्वालामुखी बिस्फोट, ठूला बाढी र लामो खडेरीबाट गुज्रिएर यहाँसम्म आएको हो ।

लामो समयदेखि प्रकोप झेलेर मानव समूदायले के कस्ता कुरा सिक्यो र यहाँसम्म आइपुग्यो ?

प्रकोपले नोक्सान नै गर्ने हो, त्यसैले त्यसलाई विपद् पनि भनिएको हुनुपर्छ । तर विपद्पछि कसरी उठ्ने ? सभ्यताहरूलाई कसरी निरन्तरता दिने ? भन्ने प्रमुख कुरा हो ।

अहिले मात्रै होइन, पाषाणकालमा बस्तीहरूको चरित्रहरू त्यस्तै छ । समूद्रको छालले नभेट्ने तर टाढाबाट समूद्रको छाल देख्न सकिने ठाँउ मानिसको बस्ती छ ।

समूद्रमा बारम्बार प्रकोप आएर त्यसले दुःख दिएपछि मानिसले त्यो कुरा सिकेको हुनुपर्छ । पानीबाट जोगिनका लागि नै मानिसहरू खुला ठाँउबाट ओडारमा बस्ने अभ्यास शुरु गरेको हुनुपर्छ । आगोबाट जोगिनका लागि मानिसहरूले आफू बस्ने ठाँउ वरपर अग्निरेखा बनाएर जोगिने उपाय सिकेको हुनुपर्छ ।

मानिसले निरन्तर सिकिराखेको हुन्छ । पछिल्लो समय ठूला सभ्यताहरू नाश भइसकेपछि १९ र २० औं शताब्दीमा मानिसले त्यस्ता प्रकोपबाट कसरी जोगिन सकिन्छ भन्ने कोषबाट विभिन्न कुरा सिकेका छन् ।

त्यहीक्रममा नै मानिसले आफ्ना लागि सुरक्षित र असुरक्षित ठाँउको पहिचान गरेको होला हैन ?

आजभन्दा सय वर्षअघि गएर हेर्ने हो भने मानिसहरू कम जोखिमयुक्त क्षेत्रमा बस्थे । नदी किनार हाम्रो सभ्यता हो । नदी किनार वरपर सभ्यता हुन्छ भनेपनि मान्छेको बसाई नदी किनारामै हुँदैनथ्यो । मानिसले नदी किनारमा सांस्कृतिक कर्महरू गर्थे, विभिन्न अनुष्ठान गर्थे ।

त्यो सांस्कृतिक क्षेत्र पवित्र मानिन्थ्यो । तर नदी किनार वा जोखिमयुक्त क्षेत्रमा मान्छेहरू त बस्दैनथे । अलि अग्लो ठाउँमा बस्थे । मान्छेले सम्भावित जोखिमको अनुमान गरेर त्यसबाट आफूलाई सुरक्षित राख्थे ।

तर पछिल्लो १००/५० वर्षमा आर्थिक लाभका लागि होड चल्यो । हाम्रा विकासका मोडेलहरू पनि त्यस्तै भए । नेपालको सन्दर्भमा कुरा गर्दा भू–उपयोगको राम्रो योजना बन्न र कार्यान्वयन हुन सकेन । सस्तो र सजिलो हुने भएकाले खोला किनाराबाट नै सडक लैजानुपर्‍यो । खोला छेउछाउको करिडोर सडकमा नै सबै आर्थिक गतिविधिहरू हुने भए ।

 

अवसर र सुविधाका कारणहरूले मानिसहरू त्यो ठाँउमा जानु स्वभाविकै थियो । अवसर र सुविधामा मात्रै ध्यान जाँदा जोखिमको पूर्वानुमान भएन । यस्तो विषय राज्यको जिम्मेवारीमा पनि पर्छ । सरकारले भू उपयोग योजना बनाएर, जोखिमपूर्ण क्षेत्र पहिचान गरेर सुरक्षित क्षेत्रमा मात्रै मानिसहरूलाई प्रवर्द्धन गरेको भए त्यही प्रकोपमा पनि विपद्को मात्रा कम हुन सक्थ्यो ।

संसारभरकै प्रवृत्ति यही हो, पूँजीवादले मानिसलाई सकेसम्म उपयोग गर्ने नीति लिएको छ । सकेसम्म आर्थिक मुनाफामा नै ध्यान केन्द्रित भएको छ ।

त्यसैमा मानिसहरू बढी संलग्न भए, प्रतिस्पर्धी बने । छोटो समयमा जतिसक्दो बढी आर्थिक लाभ गर्ने प्रतियोगी स्वभावले नै विपतहरू अझै गहिरो र संकटपूर्ण बनाएको हो ।

प्रकोप र अरु प्रतिकूलतासँग जुध्ने क्रममा नै मानिसहरूको स्वभाव सामाजिक प्रकृतिको भएको हो ?

मानिसहरूले शुरुवाती बेलामा निकै कठोर प्रकृति झेल्दै आउनुपरेको हो । त्यसको तुलनामा अहिले मानिस निकै सुरक्षित हो । समूदायमा बस्नुपरेकाले सामूदायिक र सांस्कृतिक प्राणी भनिएको हो ।

त्यतिबेला समूहमा बस्ने, समूहमा नै मिलेर काम बाड्फाड गर्ने अभ्यास हुन्थ्यो । सामूहिक रुपमा नै समस्याको समाधान गर्ने प्रवृति विकास भएको थियो ।

मानिसहरू पहिले सानो समूहमा बस्थे, समूह पछि ठूलो हुँदै गयो । त्यही अनुसार मान्छेहरूले प्रकृतिसँग, प्रकोपसँग, बचावट गर्ने अनि फेरि उत्थान हुने कुरामा समुदायको भूमिका थियो । केही सय वर्ष अघिमात्रै नेपालमा र अन्यत्र पनि सामूदायिक निर्णय प्रक्रिया महत्वपूर्ण हुन्थ्यो । स्रोतमा व्यक्तिहरूले आफ्नो सम्बन्ध कायम गरेका हुन्थे, तर सामूदायिक निर्णय प्रक्रिया हुन्थ्यो ।

अहिले जग्गा, जमिन लगायतका सम्पत्ति मानिसको नीजि भयो । व्यक्तिले आफ्नो नीजि सम्पत्ति व्यक्तिगत रुपमा उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यता विकसित भयो । त्यसले हिजोको सामूहिक ज्ञानको महत्त्व हुन छाड्यो ।

सामूदायिकताबाट व्यक्तिगत र सामूहिक हितबाट व्यक्तिगत हितमा जादा सामूहिक निर्णय प्रक्रिया र सामूदायिक ज्ञानको प्रकोपसँग जुध्ने क्षमता पनि कम हुँदो रहेछ ।

भूकम्प बाहेक अरु प्रकोपको कुरा गर्दा मानिसहरूलाई जोखिम हुने ठाँउ थाहा हुन्छ । बाढीपहिरो, ज्वालामुखी विस्फोट हुने सम्भावित ठाँउ कहाँ हो भन्ने अनुमान गर्न सकिन्छ । सुरक्षित ठाँउमा बसेर पनि त मानिसले जीवनयापन गर्न सक्थ्यो होला नी । किन जोखिमपूर्ण ठाँउमै बस्नुपर्ने बाध्यता परेको हो ?

एउटा बाध्यता होला । पछिल्लो ५० वर्षमा मानिसहरू अवसर सिर्जना हुने ठाँउतिर जान थालेका छन् । अवसरबाट अधिकतम नाफा लिनका लागि मानिसहरू लालयित भएका छन् । सुनामी, बाढी वा अरु प्रकोपहरू एक हिसाबले अनिश्चितजस्तै हुन् । कुन तहको आउँछ, कसरी आउँछ र कहिले आउँछ भन्ने थाहा हुँदैन ।

मेरो घरबाट हेर्दा रुद्रमती भनिने धोबीखोला र खहरे खोला देखिन्थ्यो । यी दुवैले पछिल्ला वर्षयता घरहरू डुबाउँछन्, ज्यादा विनाश गर्छन् । म सानो छँदा हाम्रो बारीको पाटाबाट बर्खाको बेलामा फाँटहरू पुरै डुबाएको हुन्थ्यो, धानखेत बगाएर बगर बनाएको हुन्थ्यो । त्यतिबेला पनि बाढी आउँथ्यो, तर त्यो बाढीलाई हामीले अहिलेको जस्तो विपतको रुपमा हेर्दैनथ्यौं ।

अहिले त्यहाँ खेत र बारीका ठाउँमा मानिसका घरहरू बने । खोलामाथि समेत घरहरू बने । अहिले त त्यतिबेला भन्दा कम पानी आउँदा पनि डुबान बढ्न थाल्यो । मानिसहरूलाई जोखिम थाहा हुन्छ, तर अवसरहरू यति सीमित छन्, मानिसहरू जोखिम थाहा पाउँदापाउँदै त्यहाँ बस्छन् ।

यो राज्यको नीतिसँग पनि जोडिने विषय हो । राज्यले नीति बनाएर कडाईका साथ लागू गर्‍यो भने मानिसहरूले अरु विकल्प खोज्छन् । अहिले त व्यक्तिहरू आफ्नो हिसावले निर्णय गर्न स्वतन्त्र छन् । यही बेथितीले गर्दा सम्भावित जोखिम भनेर थाह पाउँदापाउँदै पनि विकल्प उपलब्ध नहुनु र अन्ततः विपदको शिकार हुनुपर्ने नियति भएको छ ।

रसुवागढीको बाढीले बेत्रावती सन्धि भएको ढुंगो बगाएर केही तल पुर्‍यो । कुनै समय त्यो ढुंगो, यस्तै खालको प्रकोपले त्यहाँसम्म ल्याएको थियो होला । तर हामीले त्यति ठूलो बाढी वा प्रकोपको इतिहास भेटाउदैनौं । प्रकोपवारे मानिसहरूको स्मृति कति लामो हुन्छ ?

अहिले यो बाढीमा आफ्ना परिवारका धेरै सदस्यहरू गुमाएका मानिसहरूको स्मृतिमा यो प्रकोप लामो समयसम्म रहन्छ । हाम्रो यति धेरै जना परिवारका सदस्य गुमाएको थियौं भनेर स्मृति बसिरहेको हुन्छ । त्यसले पारेको क्षतिको आधारमा पनि स्मृति रहन्छ ।

अर्कोतर्फ, प्रत्यक्ष प्रभावित नभएका तर त्यसलाई देखेर सहानुभूति राख्नेहरू पनि छन् । अनि मानिसहरूले गर्ने दस्तावेजीकरणको आधारमा पनि यस्ता घटना स्मृतिमा रहने भए । घटनाको प्रकृति र फरक-फरक मानिसमा प्रकोपको स्मृति फरक रुपमा बस्छ होला ।

आदिम कालमा प्रकोपको यस्तो स्मृति कसरी पुस्तान्तरण हुन्थ्यो ?

कुनै ठाँउमा जोखिम भएकाले मानिस अर्को ठाँउमा सरेको र त्यहाँ सभ्यता बसाएको भन्ने अनुमानको प्रमाणिकता खोज्न गाह्रो हुन्छ । पुरातात्विक अवशेषको अध्ययनबाट बाढी र ज्वालामुखी अनि केही हदसम्म भूकम्पको पनि विगत थाहा हुन्छ ।

त्यहाँ प्राप्त भएको भौतिक वस्तु, मानिस तथा जनावरको अवशेष आदिको अध्ययनबाट त्यहाँ प्रकोपले भएको जनधनको क्षतिबारे थाहा हुन्छ । कयौं मुलुकमा यसरी अध्ययन भएका छन् । तर प्रकोपपछि पनि त्यही ठाँउमा मानिसहरू बसेका हुन्छन् । प्रकोपपछि मानिसहरू कति कहाँ गए र को कसरी फेरि त्यही बसे भनेर निर्‍क्यौल गर्न कठिन हुन्छ, अनुमानसम्म गर्न सकिने कुरा हो ।

चीनको ह्वाङ ह्वे नदीको बाढीले १८८७ मा करिब २० लाख मानिस मारेको अनुमान गरिन्छ । १९३१ तिर याङ सी नदीको बाढीले पनि त्यस्तै क्षति गरेको थियो । एलो रिभरले हरेक वर्ष बाढी ल्याएको हुन्छ, तर सबै मानिसहरूले ठाँउ छाडेका छैनन् ।

त्यहाँको वरपर अहिले पनि मानिस बसिरहेका छन् । जापानजस्तो विकसित देशमा समेत बाढीपहिरोबाट मानिसहरू मरिरहेका छन् । युरोपतिर पछिल्ला वर्षहरूमा हिट वेभले मानिसहरू मर्न थालेका छन् । जोखिमको प्रकार र तह फरक हुँदो रहेछ । केही पूर्वानुमान गर्न सकिने भयो । तर मानिस जोखिमबाट पूर्ण रुपमा टाढा बस्छु भन्न नसक्ने रहेछ ।

प्रकोपको जोखिमबाट जोखिने मामिलामा मानिस त अरु प्राणीहरू भन्दा अब्बल हुनुपर्ने होइन र ?

हुनुपर्ने हो तर त्यस्तो हुँदैन । जस्तै, भूकम्पका वारेमा सबैभन्दा पहिले जमिनमुनि बस्ने जनावरहरू, सरिसृप लगायतलाई थाहा हुन्छ भनिन्छ । भूकम्प आउनुअघि नै सर्प, मुसाहरू बाहिर निस्कन्छन् भन्ने गरिन्छ ।

चरा र अरु जनावरहरूमा पनि ‘वेभ’ सेन्स गर्नसक्ने क्षमता हुन्छ भनिन्छ । मानिसले थाहा पाउने प्रविधिका कारणले मात्रै हो । अहिले भनिएको ‘अर्लि वार्निङ सिस्टम’ पनि त्यही हो । कतिबेला पानी पर्न सक्छ ? पानी पार्नसक्ने बादलको गति र आद्रता कति छ भनेर मानिसले विकसित गरेको प्रविधिका आधारमा पूर्वानुमानसम्म गर्नसक्ने हो ।

अर्कोतर्फ एक ठाँउमा बाढी आइसकेपछि तल्लो तटीय क्षेत्रमा सूचना प्रवाहित गर्न सक्छ । मानिसले जानेको त्यति नै हो । प्रविधि मात्रै भएर हुँदो रहेनछ, प्रविधिलाई विश्वास गर्ने प्रवृति पनि चाहिने रहेछ । भोटेकोशीमा बाढी आएको सूचना कतिपयले विश्वास गरेनन् या कम आँकलन गरे । सूचना भएर मात्रै नहुदो रहेछ, त्यसलाई भरपर्दो र विश्वसनीय ढंगले बताउनुसक्नुपर्ने रहेछ ।

जोखिम र जिविकोपार्जनको दोसाँधमा मानिसले जिविकोपार्जनलाई नै पहिलो प्राथमिकतामा राख्दो रहेछ । हैन ?

यसलाई मैले आंशिक सत्यमात्रै मान्छु । मानिससँग छनौट र बाध्यता हुन्छ । उदाहरणका लागि, त्रिशुली बाढीबाट प्रभावित भएका मानिसको अन्यत्र पनि घरजग्गा होला रे, तर उनीहरू त्रिशुली वा बेत्रावतीमै जोडिएका हुन्छन् । किनभने त्यहाँ पैत्रिक र सांस्कृतिक रुपमा जोडिएको हुन्छ ।

म अस्ति त्रिशुली जाँदा के देखे भने जोगिएका मानिसहरूले आफ्नो पहिलेको ठाँउ वरपर कोठा वा ठाँउ खोजेर व्यापार शुरु गरेको देखेँ । २०० थान कपडा राखेर व्यापार गरेकाले अहिले २० थान राखेर त्यसलाई निरन्तरता देलान् । तर आफूले गरिरहेको काम, अवसर र जिविकोपार्जन त्यहाँ जोडिन्छ । त्यो ठाँउमा बाढीपहिरो गएको भएपनि मानिसको आफ्नो समूदाय, पहिचान र प्रतिष्ठा त्यहीसँग जोडिएको हुन्छ ।

प्रकोपपछि पनि मानिस किन त्यहाँ बस्न चाहन्छन् भनेर सोधिने प्रश्नमा अर्को पाटो पनि हेरिनुपर्छ । हामीले क्षतिको हिसाबकिताब गरिरहेका हुन्छौं । तर मानिसले कमाएको प्रतिष्ठा कुनै ठाँउसँग जोडिएको हुन्छ । उसको प्रतिष्ठा र पहिचान पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । नातेदार, विश्वास, आफन्त जस्ता मानिसको जुन सामाजिक पूँजी हुन्छ, त्यो पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

सामाजिक, साँस्कृतिक र प्रतिकात्मक पूँजी पनि आर्थिक वा वित्तिय पूँजीजत्तिकै महत्त्वपूर्ण हुन्छ । यी आधारमा पनि मानिसले ठाँउसँगको सम्बन्ध कायम राखेको हुन्छ । जोखिम एउटा कुरा हो, तर ठाँउबाट पूरै अलग्गिएर पनि मानिस बस्न सक्दैन । यी पक्षहरूको विचमा सन्तुलन कायम गरिनुपर्ने महत्त्वपूर्ण कुरा हो ।

२०७२ सालको भूकम्पपछि कयौं बस्ती सार्नुपर्छ भन्ने अध्ययनहरू भएका थिए । तर त्यसमा थप काम हुन सकेन । हाम्रो ‘लोककल्याणकारी राज्य’ले यसमाथि हेक्का राखेको भए जोखिमपूर्ण रसुवागढी करिडोरमा त्यो तहको क्षति हुँदैनथ्यो कि भन्न सकिन्छ ?

कल्पनाको कुरा होइन, त्यो त यथार्थ हुनुपर्थ्यो । त्यसकै लागि भू-उपयोग योजना आएको करिब एक दशक पुग्न लाग्यो । तर कार्यान्वयन हुन सकेको छैन । २०७२ पछि जोखिमपूर्ण ठाँउका मानिसहरूलाई अन्यत्र लगेर पुनस्र्थापना गर्ने कुरा भयो । मानिसहरूलाई पनि भौगोलिक रुपमा त्यो ठाँउ जोखिमयुक्त भयो, तर जिविकोपार्जन लगायत अरु पाटोबाट जोखिमयुक्त भएन ।

लोककल्याणकारी राज्य र सुशासनका कुरा गर्दा अहिले रसुवामा त्यही भएको हो । भूकम्पप्रभावित बस्ती थियो । जोखिमयुक्त ठाँउमा भएकाले पुनस्र्थापना गर्ने भनी कार्ययोजना पनि बन्यो । तर समयमा काम नहुँदा भूकम्पबाट विस्थापितहरू कतिपयले ज्यान गुमाए । कयौं बस्ती नै बाढीबाट गयो । प्रकोप त त्यही हो । तर विनाश र त्यसपछिको विपद् त सरकारी ढिलासुस्तीका कारण निम्तिएको हो ।

उदाहरणका लागि हैटी र जापानमा उही खालको भूकम्प आउँदा जापानमा भन्दा कयौं गुणा बढी हैटीमा जनधनको क्षति भएको थियो । प्रकोपले ल्याउने परिणम अर्थात विपद् भने फरक खालको हुनुको कारण के हो ?

हैटीमा भन्दा ठूला भूकम्प अन्यत्र पनि गएका थिए । तर क्षतिको तुलनै हुँदैन । अर्कोतर्फ पुनर्स्थापना पनि जापानमा छिटो भयो । हैटीमा ठूलो क्षति थियो, त्यो सुशासनसँग पनि जोडिएको कुरा हो । त्यसपछि पुनस्र्थापनामा देखाइने तदारुकता सरकारको वा राज्यको जिम्मेवारीको विषय हो ।

कतिपय मानिसहरूले विनाशपछिको पुनर्निमाण र पुनर्स्थापनालाई भ्रष्टाचार गर्ने अवसरको रुपमा लिएको देखियो । विदेशबाट सहायता ल्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निगरानी गर्ने सरकारको क्षमतामा पनि ह्रास आएको हुनसक्छ । त्यसमा राज्यको जिम्मेवारी बढी हुन्छ ।

भोटेकोशी बाढीपछि विभिन्न क्षेत्रबाट राहतका सामानहरू नुवाकोट र रसुवामा लगियो । तर त्यसरी पुर्‍याइएको सामग्रीको गुणस्तर के छ भनेर तीनै तहको सरकारले ध्यान दिन सकेको देखिएन ।

हाम्रोजस्तो सरकारी संयन्त्र भएको ठाँउमा सरकार आफैंले पनि केही गर्न सक्दैन । यसपाली पनि सरकारले राहत वितरणमा एकद्वार प्रणाली भन्यो । त्यसले गर्दा निकै ढिला भयो । सोचका हिसाबले त्यो ठिक थियो, तर हामीसँग पूर्वाधार थिएन । कतिसम्म भने कतिपय संघसंस्थाहरूले ट्रकमा सामान ल्याए, बाटोबाट बाँडिदिए अनि हिँडे । कहाँ चाहिएको हो ? उनीहरूलाई मतलब नै भएन । उनीहरूलाई निषेध गर्ने वा प्रतिबन्ध गराउने होइन, तर निगरानी आवश्यक हुन्छ ।

धेरैजसो मानिसहरूले विनाशपछि नयाँ निर्माण त होला भन्ने आशा राखेका हुन्छन् । तर त्यसपछि सरकारको स्पष्ट दृष्टि र सुशासनको कमी भयो भने विनाशपछि झनै ठूलो वित्यास हुन्छ । त्यस्तो अवस्थामा हामीले अपेक्षा गरेजस्तो तत्काल पुननिर्माण भइहाल्दैन, झनै ठूलो वित्याश आउँछ । भोटेकोशी बाढीपछि त्यो अवस्था आउछ कि भन्ने डर छ ।

भूकम्पले त घरहरू भत्कायो, मानिसहरू मरे । तर जग्गा जमिन त त्यहि नै थियो । घर ठड्याउने ठाउँ थियो । जीविकोपार्जन गर्ने खेतहरू थिए । तर अहिले सयौं रोपनी खेत बगर बनेको छ । घर मात्रै नोक्सान भएको छैन, गरीखाने ठाउँहरू बगर बनेका छन् । मानिसहरूले एक/डेढ किलोमिटर पर देखाउँदै, ‘त्यो मेरो खेत थियो’ भन्छन् ।

अहिले प्रभावित ठाँउमा राहत गएको छ । दैनिक गुजारा गर्नुपर्ने मानिसहरूलाई ठिकै भएको छ । तर जमिन भएका किसानहरूले भन्दै थिए कि ‘अब कृषि मजदुरहरूको अभाव हुने भयो ।’ त्यसले प्रत्यक्ष रुपमा कृषि उत्पादनमा असर गर्ने उनीहरूको चिन्ता थियो ।

अब पुनस्र्थापनाको योजना बनाउँदा सुक्ष्म रुपमा हेरेर त्यसले पार्ने असरवारे ध्यान दिन आवश्यक छ । अनि सरकार र त्यहाँ जोडिने संघसंस्थाहरूलाई जिम्मेवार बनाउन पनि उत्तिकै आवश्यक छ । नत्र अहिलेकै गति कायम रह्यो भने पुनर्निर्माण र पुनर्स्थापना चाडै हुनेवाला छैन ।

विगतका प्रकोपहरू मानवसिर्जित थिएनन् । अब त हरितग्यास उत्सर्जन र तापमान वृद्धिलाई पनि प्रमुख कारक मानिएको छ । विकसित मुलुकको मिच्याईले विकासोन्मुख मुलुकहरू मारमा परेका कुराहरू आएका छन् । हैन र ?

विश्वको कुनैपनि कुनामा बस्ने मानिसलाई वातावरणीय मुद्दाले अब अलग नराख्ने भयो । एक ठाँउमा हुने गतिविधिले अर्को ठाँउमा प्रभाव पार्छ नै । संसारमा भएको विकास असन्तुलित र असमान भयो । विकासका स्रोतसाधन– इन्धनहरूको विकसित मुलुकहरूले नै उपयोग गरिरहेका छन् । विकासोन्मुख मुलुकहरूमा त्यसको असर बढी हुने भयो ।

अहिले पनि हामीसँग हिमाल छ, खोला छ । हामीले यिनलाई वर्षौंसम्म हाम्रो प्रतिष्ठा र वैभवका विषय ठानेका थियौं । अब भने तापमान वृद्धिले यिनैलाई सबैभन्दा पहिले असर गर्ने रहेछ । जसले गर्दा हामीले नै पहिले असर भोग्नुपर्ने भयो ।

विश्वभर मानिसहरूले समानता र न्यायका लागि आवाज उठाइरहेका छन् । वातावरणीय न्यायको आवाज उठाइरहेका छन् ।

त्यसले सार्थकता पाएमा क्षतिपूर्तिको कुरामा केही समाधान हुन सक्छ । तर त्यो आफैमा स्थायी समाधान होइन । स्थायी समाधानका लागि अहिलेको विकासको मोडेल नै परिवर्तन गर्नु आवश्यक छ ।

जलवायु परिवर्तनको असरबाट हुने प्रकोप र क्षतिलाई स्थानीय तहमा कसरी कम गर्न सकिन्छ भनेर हामीले ध्यान केन्द्रित गर्नुपर्छ र विश्वमञ्चमा आफ्नो आवाज उठाउनुपर्छ ।

तर विडम्बनाको कुरा, संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरू नै अहिले सबैभन्दा कम प्रभावकारी भएका छन् । यसले त अबको संसार झनै बढी जोखिमपूर्ण र कुरुप हुनेवाला छ भन्ने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?