+
+
Shares

अपडेट : सुनकोशीमा जिप खस्दा मृत्यु र बेपत्ता भएका सबैको पहिचान खुल्यो

घाइते बनेका चालकले बताए अनुसार तीन जना यात्रु सुनकोसीमा बेपत्ता भएका छन् । बेपत्ताको अझै पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते २१:२९

१ कात्तिक, खोटाङ । दशैं-तिहारको संघारमा जिप दुर्घटना हुँदा खोटाङका तीन किशोरीले ज्यान गुमाएका छन् भने तीन जना बेपत्ता भएका छन् ।

दशैं तिहार मनाउनका लागि कात्तिक १ गते काठमाडौंबाट घर फर्कनेक्रममा सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानमा को १ ज २९७६ नम्बरको जिप दुर्घटना हुँदा तीन किशोरीको मृत्यु भएको हो ।

मध्यपहाडी लोकमार्गमा गुडिरहेको जिप सडकबाट करिब दुई सय मिटर तल सुनकोसीमा खस्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।

घाइते बनेका चालकले बताए अनुसार तीन जना यात्रु सुनकोशीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता हुनेमा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई छन् ।

दुर्घटनामा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष विष्ट, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीय सम्झना राई, छोरी १२ वर्षीय सिवानी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १३ वर्षीय अंकित विश्वकर्मा घाइते भएका छन् । घाइतेमध्ये सम्झनाको अवस्था गम्भीर छ ।

कात्तिक १ गते बिहान करिब साढे २ बजे काठमाडौँबाट हिँडेको जिप सिन्धुलीमा पुगेपछि दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न बाँकी छ । चाडबाडको समयमा चालक अनिदो बसेर गाडी कुदाउनु, ओभर स्पीड लगायतका कारण दुर्घटना हुने गरेको प्रहरीहरु बताउँछ ।

जिपमा सवार यात्रुको नाम, ठेगाना र सम्पर्क विवरणको अभिलेख नहुँदा मृतक र बेपत्ताको पहिचान गर्न कठिन भएको थियो । आफन्त घटनास्थलमा पुगेपछि मात्रै पहिचान खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?