+
एनपीएल विशेष :

दुई सिजन उपविजेता बनेको सुदूरपश्चिम तेस्रो सिजनमा च्याम्पियन बन्ला ?

२०८३ कात्तिक  २ गते १२:०६ २०८३ कात्तिक २ गते १२:०६

दुवै संस्करणमा सुदूरपश्चिमले लिग चरणमा ७ मध्ये ६ खेल जितेर शीर्ष स्थानमा रहँदै लिग सकायो । पहिलो क्वालिफायर जित्दै फाइनल पनि पुग्यो । तर फाइनलमा भने अझै जित हात पार्न सकेन ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा लगातार दुई सिजन उपविजेता भएर पनि तेस्रो सिजनका लागि तयारी तीव्र बनाएको छ।
  • सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित कोर नेपाली खेलाडी रिटेन गर्दै भारतको लखनउमा प्रशिक्षण गरिरहेको छ।
  • टोलीले न्युजिल्यान्डका स्कट कुगेलेइन, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्ल्यान्डका सैफ जैब अनुबन्ध गरी पाकिस्तानका मिसबाह उल हकलाई मुख्य प्रशिक्षक बनाएको छ।

२ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दुई सिजन उपविजेता बन्यो । दुवै सिजन सुदूरपश्चिम उपाधिका लागि दाबेदार टोलीको रुपमा देखिएको थियो । मैदानमा प्रदर्शन पनि उस्तै थियो ।

दुवै संस्करणमा सुदूरपश्चिमले लिग चरणमा ७ मध्ये ६ खेल जितेर शीर्ष स्थानमा रहँदै लिग सकायो । पहिलो क्वालिफायर जित्दै फाइनल पनि पुग्यो । तर फाइनलमा भने अझै जित हात पार्न सकेन ।
पहिलो संस्करणमा जनकपुर बोल्ट्सँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा भने लुम्बिनी लायन्सलाई पराजित हुँदै उपविजेतामा सिमित रह्यो ।

नेपालका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले नेपालका अनुभवी खेलाडीहरू देखि चर्चित विदेशी खेलाडीहरू अनुबन्ध गर्दा पनि ट्रफी उचाल्ने लक्ष्य पूरा गर्न सकेको छैन ।

के तेस्रो प्रयासमा सुदूरपश्चिमले एनपीएलको उपाधि जित्ला ? यस पटक सुदूरको यो टोली भाग्यमानी होला ?

एनपीएलमा सबैभन्दा धेरै फ्यान फलोइङ भएको टोली सुदूरपश्चिम नै हो । दर्शकको उल्लेख्य समर्थन अनि घरेलु अनुभवी खेलाडीहरू पनि यस टिममा छन् ।

तेस्रो संस्करण नजिकँदै जाँदा सुदूरपश्चिमले एनपीएलको लागि तयारी पनि तीव्र बनाएको छ । यस्तै विदेशी खेलाडीहरू अनुबन्ध गर्ने क्रम पनि जारी छ ।

सुदूरपश्चिमले हाल भारतको लखनउमा प्रशिक्षण गरिरहेको छ । नेपालका अनुभवी र सफल प्रशिक्षक जगत टमाटा लगायत कोचिङ स्टाफले टोलीलाई प्रशिक्षण गराइरहेका छन् ।

सुदूरपश्चिमले तेस्रो सिजनका लागि अहिलेसम्म ३ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ र विदेशी मुख्य प्रशिक्षक अनुबन्ध गरेको छ । पाकिस्तानका लेजेन्ड मिसबाह उल हक सुदूरपश्चिमको प्रशिक्षक बनेका छन् ।

स्थानीय खेलाडीलाई विश्वास

सुदूरपश्चिमले तेस्रो सिजनअघि अक्सनमा कोर टिमलाई रिटेन गर्दै आफ्ना खेलाडीहरूमा विश्वास देखाएको छ । कप्तान दीपेन्द्रसहित अनुभवी खेलाडीहरू विनोद भण्डारी, आरिफ शेख, इशान पान्डे, हेमन्त धामी, अभिनाश बोहरा र हिक्मत महरालाई सुदूरपश्चिमले रिटेन गरेको थियो ।

हिक्मत महरा पहिलो सिजन ट्यालेन्ट हन्टमार्फत आइकोनिक प्लेअरको रुपमा सुदूरको टिममा समावेश भएका थिए । मिडियम पेसर हिक्मतले दोस्रो सिजनमा डेब्यू पनि गरे ।

बाँकी ६ खेलाडीले राष्ट्रिय टिममा खेलिसकेका छन् जस मध्ये कप्तान दीपेन्द्र र इशान हाल राष्ट्रिय टिममा छन् । आरिफ केही समयअघि २०औं एसियन गेम्स खेल्ने टोलीमा थिए । हेमन्तले पनि केही समयअघि ओडीआई टिमबाट खेलिसकेका छन् ।

यस बाहेक सुदूरपश्चिमले अक्सनमा पनि आफ्नै खेलाडीहरूमा विश्वास देखायो । दोस्रो सिजन टिममा रहेका तर रिटेन गर्न नसकेका खेलाडीहरूलाई पनि सुदूरपश्चिमले टिममा राखेको छ ।

अक्सनअघि रिलिज गरेको दीपक बोहरा, मिलन बोहरा र टेक रावतलाई सुदूरपश्चिमले अक्सनमा फेरि अनुबन्ध गरेको छ । यस्तै सुदूरपश्चिमले अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई पनि अक्सनमा अनुबन्ध गरेको थियो ।

सुदूरपश्चिमले ट्यालेन्ट हन्टमार्फत टेक राज थलाललाई आइकोनिक प्लेअरको रूपमा छनोट गरिसकेको छ । यस टिमका अधिकांश खेलाडी सुदूरपश्चिम क्षेत्रकै छन् र आफ्नो क्षेत्रको खेलाडीहरूलाई बढी अवसर समेत दिएको छ ।

कस्ता छन् विदेशी खेलाडी ?

एनपीएलको दोस्रो सिजन सुदूरपश्चिममा अष्ट्रेलिया चर्चित खेलाडी क्रिस लिनदेखि एसोसिएटका उत्कृष्ट खेलाडी हर्मीत सिंह थिए ।

यस पटक सुदूरपश्चिमले तीन विदेशी खेलाडी घोषणा गरिसकेपनि बाँकी विदेशी खेलाडी कस्ता आउँछन् घोषणा हुन बाँकी छ ।

अहिलेसम्म भने सुदूरपश्चिमले न्युजिल्यान्डका स्कट कुगेलेइन, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्लयान्डका सैफ जैबलाई अनुबन्ध गरेको छ ।

कुगेलेइन लगातार तेस्रो पटक सुदूरपश्चिमबाट खेल्दैछन् भने पहिलो संस्करणमा उत्कृष्ट खेलाडी बनेका सैफ जैब तेस्रो सिजन सुदूरपश्चिममा फर्किएका छन् । दोस्रो सिजन उनले चितवन राइनोजबाट खेलेका थिए ।

यस्तै स्कटिस ब्याटिङ अलराउण्डर ब्रान्डन म्याकमुलेन पनि सुदूरपश्चिमको टिममा फर्किएका छन् ।

सुरुवाती दुई सिजन सुदूरपश्चिमबाट खेलेका अमेरिकन स्पीन अलराउण्डर हर्मीत सिंह भने यस पटक जनकपुर बोल्ट्समा अनुबन्ध भइसकेका छन् र हर्मीतले जनकपुरको कप्तानी गर्ने पनि पक्का भइसकेको छ ।

स्कट कुगेलेइनको निरन्तरता अनी म्याकमुलेन र जैबको आगमनले सुदूरपश्चिमको ब्याटिङ र बलिङमा सन्तुलन भने मिलेको छ ।

जैब र म्याकमुलेन टप अर्डरमा ब्याटिङ गर्न सक्षम छन् आवश्यकता अनुसार मिडल अर्डरमा पनि खेल्न सक्छन् ।

यस्तै विनोद भण्डारीले पनि ओपनिङ गर्छन् भने मिडल अर्डरमा नेपाली खेलाडीहरू इशान पान्डे र आरिफ शेख पनि हुनेछन् । कप्तान दीपेन्द्र आवश्यकता अनुसार मिडल अर्डरदेखि फिनिसरसम्म खेल्न सक्छन् । हर्मीत सिंहको बहिर्गमनपछि सुदूरपश्चिमलाई फिनिसिङ गर्न सक्ने अलराउण्डर आवश्यक देखिन्छ । यस्तै पेस बलिङमा कुगेलेइनसँगै नेपालका अभिनाश र हेमन्त धामी हुनेछन् ।

स्पीनमा भने सुदूरपश्चिमले विदेशी खेलाडीको विकल्प पनि हेर्नुपर्नेछ । यसअघि कप्तान दीपेन्द्रसँगै हर्मीत सिंह र नरेन साउद स्पीनमा थिए । नरेन साउदलाई सुदूरपश्चिमले रिलिज गरिसकेको छ । अक्सनबाट सुदूरपश्चिमले स्पीनर अनिल खरेललाई अनुबन्ध गरेको छ ।

हर्मीतको स्थान पूरा गर्न सुदूरपश्चिमले अर्का विदेशी स्पीनर अनुबन्ध गर्नुपर्ने देखिन्छ ।

सुदूरपश्चिम रोयल्स टिम

रिटेन गरिएका खेलाडी : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी अविनाश बोहरा, हिक्मत महरा
अक्सनबाट अनुबन्ध भएका खेलाडी : दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट, आयुव चन्द
विदेशी खेलाडी : सैफ जैब, स्कट कुगेलेइन, ब्रान्डन म्याकमुलेन,
मुख्य प्रशिक्षक : मिसबाह उल हक

एनपीएल २०२६ नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय