३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच मङ्गलबार ४५ मिनेट लामो टेलिफोन संवाद भएको छ।
अमेरिका र युक्रेनबिच पछिल्लो समय चर्किएको कूटनीतिक तनाव कम गर्ने प्रयासस्वरूप भएको उक्त संवादमा रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नोक्सान पुर्याउने वा मद्दत रोक्ने कुनै पनि निर्देशन नदिएको स्पष्ट पारेका छन्।
ओस्लोमा युरोपेली सहयोगीहरू र ह्वाइट हाउसका दूत स्टिभ विटकफबिच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष पेस गरिने नयाँ शान्ति प्रस्तावबारे उच्चस्तरीय वार्ता हुनुभन्दा केही घण्टाअघि यो टेलिफोन वार्ता भएको हो।
अमेरिकाको स्पष्टीकरण: ‘कुनै नियोजित प्रतिबन्ध छैन’
सञ्चारकर्मीहरूसँग कुरा गर्दै विदेशमन्त्री रुबियोले पेन्टागन वा ह्वाइट हाउसका तर्फबाट युक्रेनलाई दिइने गुप्तचर जानकारी , हतियार बिक्री वा स्टारशिल्ड उपग्रह प्रणालीको प्रयोगमा कुनै कटौती नगरिएको जानकारी दिए।
नाटो देशहरूले पहिले नै रकम भुक्तानी गरिसकेका प्याट्रिओट इन्टरसेप्टरहरू युक्रेन पुग्न ढिलाइ भएको रुबियोले स्वीकार गरे। तर, यसको कारण युक्रेनलाई सहयोग रोक्नु नभई विश्वभर रहेका अमेरिकी सैन्य आधार शिविरहरूको सुरक्षाका लागि आफ्नै भण्डार सन्तुलनमा राख्नु रहेको उनले बताए।
हालै रुसले हानेका ब्यालिस्टिक क्षेप्यास्त्रहरूबारे युक्रेनलाई पूर्व चेतावनी नदिनु अमेरिकाको निर्देशन नभई ‘प्राविधिक त्रुटि’ भएको रुबियोको दाबी छ।
ट्रम्पले युक्रेनलाई जानाजानी नोक्सान पुर्याएको भन्ने असत्य आरोपहरूका कारण राष्ट्रपति ट्रम्प मर्माहत र आक्रोशित भएको रुबियोले बताए। दुई वर्षदेखि प्रयास गर्दा पनि शान्ति वार्तामा उल्लेख्य प्रगति नभएकाले ट्रम्प रुष्ट भएको उनले थपे।
‘निसन्देह दुई देशबिच तनाव छ। तर, युक्रेनलाई जानीजानी नोक्सान पुर्याउन कुनै राजनीतिक निर्देशन दिइएको छैन। हामी हाम्रा साझेदारप्रतिको दायित्व र आफ्नै आवश्यकताबिच सन्तुलन मिलाइरहेका छौँ,’ रुबियोले भनेका छन् ।
जेलेन्स्कीको प्रतिक्रिया र स्टारलिङ्क पुनर्वहालीको माग
टेलिफोन वार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति जेलेन्स्कीले विदेशमन्त्री रुबियोको सहयोग गर्ने तत्परता र स्पष्ट दृष्टिकोणका लागि आभार व्यक्त गरेका छन्।
यद्यपि, जेलेन्स्कीले युक्रेनी नागरिकहरूको रक्षाका लागि ब्यालिस्टिक क्षेप्यास्त्र इन्टरसेप्टर र समयमै पाइने पूर्व चेतावनीको अत्यावश्यकता दोहोर्याएका छन्।
साथै, सैन्य अपरेसनका लागि ‘स्टारलिङ्क’ र ‘स्टारशिल्ड’ प्रणालीमा देखिएका अवरोधहरू तुरुन्त हटाएर सेवा पुरानै अवस्थामा फर्काउनुपर्नेमा उनले जोड दिएका छन्।
नर्वेको ओस्लोमा बहुपक्षीय शान्ति वार्ता र मस्को यात्राको तयारी
यसैबिच, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ मङ्गलबार नर्वेको राजधानी ओस्लो पुगेका छन् । जहाँ उनी र राष्ट्रपति जेलेन्स्कीबिच युरोपेली नेताहरूसँग गहन छलफल भइरहेको छ।
यस बैठकमा नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरे, फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब,ई-४ राष्ट्रहरू (बेलायत, फ्रान्स, जर्मनी र पोल्याण्ड) का प्रतिनिधिहरूका साथै युरोपेली युनियन र नाटोका उच्च अधिकारीहरू सहभागी छन्। वार्तामा संलग्न अर्का अमेरिकी दूत जेरेड कुश्नर भने भाइरल इन्फ्लुएन्जाका कारण भर्चुअल रूपमा जोडिएका छन्।
ओस्लोमा युक्रेन र युरोपेली साझेदारहरूसँगको सहमतिमा नयाँ शान्ति प्रस्ताव तयार पारेपछि विटकफ मस्को प्रस्थान गर्नेछन् । जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर उक्त प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया 4