+
+
Shares

दशैं नमान्ने आठपहरिया समुदाय : रामलिहाङ–रिदामालाई सांस्कृतिक शहीद घोषणा गर्न माग

ईश्वर थापा ईश्वर थापा
२०८३ कात्तिक ५ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको आठपहरिया समुदायले दशैंको सट्टा आफ्नै विशु, न्वागी र वाडाङ्मेट पर्वलाई प्राथमिकता दिँदै आएको छ।
  • समुदायले राणाकालमा संस्कृति जोगाउन विद्रोह गर्दा मारिएका रामलिहाङ र रिदामालाई देशकै पहिलो सांस्कृतिक शहीद घोषणा गर्न माग गर्दै आएको छ।
  • आठपहरिया समाजले चुलीबनलाई शहीद रामलिहाङ–रिदामा स्मृति पार्क घोषणा भए पनि राष्ट्रिय मान्यताका लागि औपचारिक सम्मान आवश्यक रहेको बताएको छ।

५ कात्तिक, धनकुटा । यतिबेला मुलुकभर दशैंको रौनक छ । हिन्दु धर्मावलम्बीहरू दशैं मनाउन व्यस्त छन् । तर, धनकुटामा मुख्य रूपमा बसोबास गर्ने आठपहरिया समुदायका लागि दशैंको विशेष सांस्कृतिक महत्व छैन । आफ्नै मौलिक भाषा, संस्कृति र परम्परा रहेको यो समुदायले दशैंको सट्टा आफ्नै चाडपर्वलाई प्राथमिकता दिँदै आएको छ ।

राणाकालमा शासकले दशैं मनाउन दिएको आदेश अस्वीकार गर्दा ज्यान गुमाएका रामलिहाङ र रिदामा आठपहरियालाई देशकै पहिलो सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग समुदायले गर्दै आएको छ ।

आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षणका लागि विद्रोह गरेका उनीहरूलाई तत्कालीन शासकले झुन्ड्याएर मृत्युदण्ड दिएको इतिहास आठपहरिया समुदायले स्मरण गर्दै आएको छ ।

आठपहरिया समाजका उपाध्यक्ष सूर्य आठपहरियाका अनुसार तत्कालीन शासकको आदेशअनुसार दशैं मनाउन अस्वीकार गरेपछि समुदायका पुजारीसमेत रहेका रामलिहाङ र रिदामालाई विक्रम संवत् १९३३ मा झुन्ड्याएर मारिएको थियो। आफ्नै मौलिक संस्कृतिको संरक्षणमा अडिग रहँदा उनीहरूले ज्यान गुमाउनुपरेको समुदायको बुझाइ छ ।

धनकुटाको चुलीबननजिकै रहेको झुन्डगाउँ पनि यही ऐतिहासिक घटनासँग जोडिएको छ । राणाकालमा मानिसलाई झुन्ड्याएर मृत्युदण्ड दिने गरिएको स्थान भएकाले यस ठाउँको नाम झुन्डगाउँ रहन गएको स्थानीय इतिहासमा उल्लेख छ । रामलिहाङ र रिदामालाई मृत्युदण्ड दिइएको प्रसंग पनि यही ठाउँसँग जोडिन्छ।

आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टमान आठपहरिया रामलिहाङ र रिदामाको बलिदानलाई राज्यले उचित सम्मान दिनुपर्ने बताउँछन् । आफ्नो संस्कृति जोगाउन विद्रोह गर्दा ज्यान गुमाएका उनीहरूलाई सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने उनको माग छ ।

‘आफ्नो संस्कृति र परम्परा जोगाउन खोज्दा ज्यान गुमाएका रामलिहाङ र रिदामाको योगदानको उचित कदर हुनुपर्छ,’ अष्टमानले भने ।

संघीयता कार्यान्वयनपछि धनकुटाको चुलीबनलाई शहीद रामलिहाङ–रिदामा स्मृति पार्कका रूपमा घोषणा गरिएको छ । तर, समुदायले उनीहरूको योगदानलाई राष्ट्रिय पहिचान दिलाउन सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग गर्दै आएको छ।

दशैंको सट्टा आफ्नै चाडपर्व

धनकुटामा करिब ६ हजार आठपहरियाको बसोबास छ । आफ्नै मौलिक भाषा, संस्कार, संस्कृति र परम्परा रहेको यो समुदाय आफ्नो पहिचान संरक्षणमा सक्रिय छ । अन्य समुदायले दशैंलाई प्रमुख चाडका रूपमा मनाइरहँदा आठपहरियाले भने आफ्नै धार्मिक तथा सांस्कृतिक पर्वलाई विशेष महत्व दिँदै आएका छन् ।

आठपहरिया समुदायले वैशाख पूर्णिमा, भदौरे पूर्णिमा र मंसिरे पूर्णिमालाई विशेष महत्वका साथ मनाउँछ । यी पर्व समुदायको जीवनशैली, कृषि परम्परा, धार्मिक आस्था र पुर्खाको संस्कृतिसँग जोडिएका छन् ।

वैशाखमा बाली लगाउने समय सुरु हुन लागेको अवसरमा वर्षा र खेतीपाती राम्रो होस् भन्ने कामनासहित विशु चाड मनाउने गरिन्छ । भदौमा नयाँ बाली पाकेपछि न्वागी चाड मनाइन्छ । त्यसैगरी, मंसिरमा वाडाङ्मेट पर्व मनाउने परम्परा छ। यस पर्वमा समुदायमा परेको मृत्युशोक सामूहिक रूपमा उकास्ने र जेठो सन्तान जन्मिएको खुसीयाली मनाउने गरिन्छ ।

आठपहरिया समुदायका लागि दशैं नमनाउने परम्परा एउटा चाड अस्वीकार गर्ने विषय मात्रै होइन । यो उनीहरूको मौलिक सांस्कृतिक पहिचान, ऐतिहासिक संघर्ष र पुर्खाले जोगाएको परम्परासँग जोडिएको विषय हो । त्यसैले रामलिहाङ र रिदामाको बलिदानलाई राज्यले औपचारिक मान्यता दिनुपर्ने र उनीहरूलाई सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग समुदायले उठाउँदै आएको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?