News Summary
Generated by OK AI. Editorially reviewed.- कात्तिक ९ देखि ११ गतेसम्म चितवनमा नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ ।
- एनआरएनए आईसीसी र समृद्ध चितवन अभियानले आयोजना गर्ने उक्त कार्यक्रमको उद्देश्य नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्नु रहेको संयोजक सोमनाथ सापकोटाले बताए ।
- कार्यक्रममा भारतका २१ पर्यटन व्यवसायी सहभागी भई नेपाली व्यवसायीसँग भेटघाट, परिचयात्मक भ्रमण र व्यावसायिक छलफल गर्नेछन् ।
७ कात्तिक, चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
‘यस कार्यक्रमको मुख्य उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नु, नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु तथा नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु हो,’ उनले भने ।
भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोड्न सके नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना गर्न सकिने सापकोटाको भनाइ छ ।
‘नेपालको पर्यटन प्रवर्द्धन केवल प्रचार सामग्री वितरण गरेर मात्र सम्भव हुँदैन । भारतीय पर्यटन व्यवसायीलाई नेपालका गन्तव्यमा प्रत्यक्ष ल्याउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेट गराउने, सेवा र सुविधाबारे जानकारी दिने र व्यावसायिक साझेदारीका आधार तयार गर्ने काम आवश्यक छ । यही सोचका साथ यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ।
यहाँ आयोजना गर्ने कार्यक्रममा भारतका विभिन्न सहरका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधिहरू सहभागी हुने उनको भनाइ छ ।
नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन सरोकारवालासँग प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल गर्ने पनि उनले जानकारी दिए ।
कार्यक्रममा व्यावसायिक भेटघाट, परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण तथा भविष्यमा नियमित पर्यटक आवागमन बढाउने सम्भावनाबारे छलफल हुनेछ ।
लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्य राखिएको उनले बताए ।
विशेषगरी भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायत क्षेत्रलाई पर्यटन सञ्जालमा जोड्दै क्षेत्रीय पर्यटन सहकार्य विस्तार गर्न सकिने सापकोटाले बताए । रासस
प्रतिक्रिया 4