News Summary
Generated by OK AI. Editorially reviewed.- बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नेपालका विभिन्न स्थानमा तीन–चार दिन वर्षा हुने र कम्तीमा २९ जिल्ला प्रभावित हुने आकलन गरिएको छ।
- डा. विनोद पोखरेलले कात्तिक १२ देखि १५ गतेसम्म लुम्बिनी, गण्डकी, बागमती र कोशीका जिल्लामा केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने जोखिम नक्सा सार्वजनिक गरेका छन्।
- मौसमविद्हरूले बिहीबारदेखि धान नकाट्न, लामोदूरीको यात्रा नगर्न र हिमाली क्षेत्रमा पदयात्रा नगर्न सुझाव दिएका छन्।
८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । सो वर्षाले हिमाली जिल्ला मनाङसहित कम्तीमा २९ जिल्ला बढी प्रभावित हुने प्रारम्भिक आकलन छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलको मौसम विश्लेषणअनुसार, सो प्रणालीको प्रभावले तीन–चार दिनसम्म पानी पर्ने र केही स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना छ ।
भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने सो प्रणालीको प्रभावले बिहीबार रातिदेखि वर्षाको गतिविधि थप बढ्ने पूर्वानुमान छ ।
अहिलेको प्रारम्भिक आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी हुनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने सम्भावना छ ।
२९ जिल्लामा जोखिममा पर्नसक्छ : डा. पोखरेल
नेपालको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने जनाएको छ । तर वर्षाको मात्रा र जोखिम क्षेत्र भने महाशाखाले सार्वजनिक गरिसकेको छैन ।
डा. पोखरेलले भने जोखिम नक्सा सार्वजनिक गर्दै कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना औंल्याएका छन् ।

उनले प्रस्तुत गरेको नक्सामा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लासहित २९ जिल्लामा तुलनात्मक रूपमा बढी जोखिम हुन सक्ने देखाइएको छ ।
यद्यपि, अहिलेको पूर्वानुमान प्रारम्भिक भएकाले मौसमी प्रणालीको मार्ग, वर्षाको मात्रा र बढी जोखिममा पर्ने जिल्लाहरू परिवर्तन हुन सक्ने डा. पोखरेलले बताएका छन् ।
तीन मौसमी प्रणालीको संयुक्त प्रभाव पर्न सक्ने
डा. पोखरेलका अनुसार अहिले समग्र मौसमी अवस्थालाई हेर्दा तीनवटा प्रणाली विकसित भइरहेको देखिन्छ ।
दक्षिण भारतमा उत्तरपूर्वी मनसुनको प्रभाव कायम रहनुका साथै त्यहाँ न्यून चापीय प्रणाली पनि विकसित भइरहेको छ । यसका कारण दक्षिण भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ ।
त्यस्तै, बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली नेपालतर्फ आउने मुख्य प्रणालीका रूपमा देखिएको छ । यसबाहेक पश्चिमी वायुको प्रभाव पनि कायम रहेकाले नेपालमा वर्षाको सम्भावना थप बढ्न सक्ने सम्भावना छ ।
नेपालमा भारी वर्षा गराउन बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावासँगै माथिल्लो वायुमण्डलको अवस्थाले पनि भूमिका खेल्न सक्ने उनको विश्लेषण छ ।
मनाङसहित हिमाली क्षेत्रमा सतर्कता आवश्यक
डा. पोखरेलले मनाङसहित हिमाली क्षेत्रमा पनि विशेष ध्यान दिनुपर्ने बताएका छन् । अहिलेको पूर्वानुमानमा मनाङ क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएकाले त्यहाँको मौसमलाई गम्भीरतापूर्वक अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
तराई मधेशका जिल्लामा डुबान, पहाडी क्षेत्रमा पहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेकाले पर्याप्त सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।
मौसमविदहरुका अनुसार बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधिमा विशेष सतर्कता आवश्यक पर्ने संकेत देखिएको छ ।
बिहीबारदेखि धान नकाट्न र यात्रा नगर्न सुझाव
मौसमविद् समेत रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बंगालको खाडीमा उत्पन्न प्रणाली थप विकसित हुँदै भारतको उडिसा, बिहार हुँदै नेपालतिर आउने र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ । साथै पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।
त्यसैले उनी दशैं सकेर आफ्नो कार्यस्थलमा फर्किने योजना बनाएकाहरुलाई शुक्रबार र शनिबार यात्रा नगर्न तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान सुझाव दिन्छन् ।
आगामी बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएकाहरुलाई पनि योजना स्थगित गर्न उनले सुझाव दिएका छन् ।
अर्का मौसमविद उज्ज्वल उपाध्यायले पनि कात्तिक ११ गतेदेखि १५ गतेसम्म लामोदूरीको यात्रा नगर्न र बाली काट्ने–भित्राउने कार्य नगर्न र पदयात्रामा नजान सुझाव दिएका छन् । यात्राको क्रममा खासगरी पृथ्वी राजमार्ग, बीपी राजमार्गमा थप सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।
प्रतिक्रिया 4