+
+
Shares

सेयर बजारमा बेन्चमार्क सूचकांक ‘एनबीआई’ ल्याइँदै, नेप्सेभन्दा के छ फरक ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते २१:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले कारोबारयोग्य सेयरको मूल्यका आधारमा नेप्से बेन्चमार्क इन्डेक्स विकास गर्ने कार्यपत्र प्रस्तुत गरेको छ ।
  • बोर्डले हालको नेप्से परिसूचकलाई ‘नेप्से अल इक्वीटी इन्डेक्स’का रूपमा कायम राखेर नयाँ सूचक विकास गर्ने तयारी गरेको छ ।
  • नयाँ सूचकमा संस्थापक, सरकारी, लकइन र कारोबारमा नआउने सेयर गणना नगर्ने प्रस्ताव गरिएको छ ।

८ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा बेन्चमार्क सूचकांक विकास गर्नका लागि कार्यपत्र प्रस्तुत गरेको छ । कार्यपत्रमा नयाँ बेन्चमार्क सूचकलाई नेप्से बेन्चमार्क इन्डेक्स (एनबीआई) नाम राख्न सकिने भए पनि नेप्सेले आवश्यक परामर्श गर्न सक्ने बोर्डले जनाएको छ ।

साथै हालको नेप्से परिसूचकलाई ‘नेप्से अल इक्वीटी इन्डेक्स’को रुपमा कायम राख्दै नयाँ सूचक विकास गर्ने तयारी गरिएको हो । बजारमा सर्वसाधारणले खरिदबिक्री गर्ने सेयरको मूल्य घटबढका आधारमा बेन्चमार्क विकास गरिने बोर्डले जनाएको छ । हालको नेप्से परिसूचक सूचीकृत सबै सेयरको कुल बजार पूँजीकरणमा आधारित रहेर गणना हुने गरेको छ ।

कारोबारमै नआउने संस्थापक सेयरको मूल्य पनि कारोबार मूल्यकै आधारमा गणना हुने, लकइनमा रहेको सेयरको पनि मूल्य गणना हुने, सर्वसाधारण सेयर र संस्थापक सेयरको मूल्य एउटै भई गणना हुने जस्ता कारण हालको नेप्से परिसूचकले वास्तवमा कारोबार हुने सेयरको सूचकलाई प्रतिनिधित्व गर्न सकेको छैन ।

‘नेप्से परिसूचकले कम्पनीको कुल बजार पूँजीकरणलाई बढी महत्व दिने भएकाले बजारमा वास्तवमा उपलब्ध कारोबारयोग्य सेयरको प्रभाव पूर्ण रुपमा प्रतिबिम्वित नहुन सक्छ’ बोर्डले कार्यपत्रमा भनेको छ, ‘संस्थापक, सरकारी तथा लकइन सेयरले बजार पूँजीकरण बढाए पनि ती सेयर दैनिक बजारमा कारोबार योग्य नहुन सक्छन् ।’

नेप्सेले बजारमा सूचीकरण भएको बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरलाई पनि साधारण मूल्य नै मानेर गणना गरेको छ, तर संस्थापक समूहको कारोबार मूल्य साधारण सेयरको भन्दा कम हुने गर्दछ ।

यदि कुनै बैंकको साधारण सेयर मूल्य ३ सय र संस्थापक सेयर मूल्य १ सयमा कारोबार हुने गरेको छ भने पनि नेप्से गणनाका क्रममा संस्थापक सेयरको मूल्य पनि ३ सयकै आधारमा हुने गरेको छ । तर नयाँ बेन्चमार्कमा भने संस्थापक सेयरलाई समावेश नगरी कारोबारमा आउने साधारण सेयरको मूल्यका आधारमा मात्रै गणना गर्ने प्रस्ताव बोर्डले गरेको छ ।

२०५० माघ ३० गतेदेखि प्रारम्भिक विन्दु (आधार अंक) १०० कायम गरी नेप्सेको गणना थालिएको हो । नयाँ बेन्चमार्क सूचकांकको गणना विधि पनि बोर्डले प्रस्ताव गरेको छ ।

नयाँ बेन्चमार्क सूचकमा संस्थापक सेयर, सरकार वा सरकारी निकायको रणनीतिक सेयर स्वामित्व, कारोबारमा नआउने सेयर, स्वतन्त्र रुपमा कारोबार गर्न नमिल्ने सेयर (लकइनमा रहेको सेयर), कारोबारका लागि उपलब्ध नभएको प्रमाणित सेयर गणना गरिँदैन । तर हालको नेप्से गणनामा भने यी सेयर पनि समेटिँदै आएको छ ।

उदाहरणका रुपमा हाल नेपाल टेलिकमको पूँजीकरण (कुल सेयर संख्याको मूल्य) सबैभन्दा धेरै १ खर्ब ६५ अर्ब भएकाले यो कम्पनीले नेप्से परिसूचकलाई सबैभन्दा धेरै प्रभाव पार्ने गरेको छ ।

जबकि यो कम्पनीको ९१.५३ प्रतिशत सेयर सरकारी स्वामित्वमा छ, जुन सेयर कारोबारमै नआउने भए पनि नेप्से गणनाका क्रममा सधैं समेटिन्छ । तर बेन्चमार्क सूचक गणनाका क्रममा भने कारोबारमा आउने सर्वसाधारणको सेयर ८.४७ प्रतिशत मात्रै समेटिने भएकाले सो सूचकमा टेलिकमको प्रभाव न्यून हुन जान्छ ।

पूँजीका आधारमा सबैभन्दा ठूलो कम्पनी रहे पनि कारोबारमा आउने सेयर न्यून भएमा सो कम्पनीको प्रभाव नयाँ बेन्चमार्क सूचकमा कम पर्दछ ।

हाल सेन्सिटिभ इन्डेक्स र फ्लोट इन्डेक्स गणना पनि भइरहेको छ । नेप्सेले क वर्गमा सूचीकृत गरेका कम्पनीको कुल सेयरको आधार वर्ष मूल्य र वर्तमान बजार मूल्यका आधारमा सेन्सिटिभ इन्डेक्स गणना गरिन्छ । २०६३ पुस १७ देखि यो सूचक गणना हुँदै आएको छ ।

त्यस्तै कारोबारयोग्य सेयरको आधार मूल्य र वर्तमान बजार मूल्यका आधारमा फ्लोट इन्डेक्स परिसूचक गणना हुने गरेको छ । कुल सूचीकृत सेयरमध्ये करिब एक तिहाई कारोबारयोग्य सेयरको मूल्यका आधारमा फ्लोट इन्डेक्स निकालिएको हो, जसमा संस्थापक सेयरलाई समेटिँदैन । कारोबारयोग्य सेयरलाई मात्रै आधार मानेर गणना गरिने भएकाले धेरै हदसम्म यो परिसूचक यथार्थपरक मानिन्छ ।

२०६५ भदौ ३० देखि फ्लोट इन्डेक्स गणना सुरु भएको हो । यीबाहेक क्षेत्रगत (समूहगत) सूचकहरु १२ वटा कायम गरी गणना हुँदै आएको छ । समूहगत सूचकहरूमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, लगानी, व्यापार, जलविद्युत् र अन्य समूह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?