News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएलको तेस्रो संस्करणअघि क्यानले प्रसारण राइट्सबाट ३२ करोडभन्दा बढी आम्दानी गरिसकेको छ र पुरस्कार रकम पनि बढाएको छ।
- आईसीसीको अनुमति पाएपछि यस पटक डेविड वार्नर र आन्द्रे रसेलसहित विश्वस्तरीय खेलाडी एनपीएल मैदानमा उत्रिने भएका छन्।
- एनपीएलमा पहिलो पटक डीआरएस प्रयोग हुँदैछ, जसमा एलबीडब्ल्यु, रनआउट, स्टम्पिङ, नो बल र एआई आधारित एनालिटिक्स समावेश हुनेछन्।
८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले कूल २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गर्यो ।
दोस्रो संस्करणमा करिब २० करोड बढी ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको क्यानले एनपीएलको तेस्रो संस्करणमा त प्रतियोगिता सुरु नहुँदै प्रसारण अधिकारबाट ३२ करोड बढी आम्दानी गरिसकेको छ ।
अघिल्ला दुई सिजनमा कम्तीमा ४ टोलीले टेस्ट राष्ट्रका सक्रिय खेलाडी ल्याउन पाउँथे । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट अनुमति पाएसँगै विश्वस्तरीय स्टार खेलाडीहरू यसपटक एनपीएलको मैदानमा उत्रिँदैछन् ।
तेस्रो संस्करणमा आइपुग्दा एनपीएल विश्वस्तरीय स्टारको आँखामा परिसकेको छ ।
पहिलो संस्करणमा युट्युब र नेपालमा टेलिभिजन प्रसारण राइट्स एक्सन स्पोर्ट्सले ७५ लाख रुपैयाँमा पायो । एक्सन स्पोर्ट्सले यूट्युब र टेलिभिजन प्रसारण सित्तैमा गर्यो । त्यसपछि भने नेपाली क्रिकेटमा सब्क्रिप्सन सुरु हुन थाल्यो ।
पहिलो संस्करण युट्युबमा नि:शुल्क हेर्ने व्यवस्था भए पनि दोस्रो सिजनबाट निश्चित शुल्क तोकिएको थियो । दोस्रो सिजनमा क्यानले पहिलो पटक ओटीटीमा एनपीएललाई बेच्न सफल भयो । ओटीटी डिसहोमले लिँदा टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजनले ३ करोडमा खरिद गर्यो । यो रकम तेस्रो संस्करणमा आइपुग्दा करबाहेक १४ करोड ६४ लाख पुग्यो ।

हिमालय टेलिभिजनअन्तर्गतको हिमालय स्पोर्ट्सले अघिल्लो संस्करणभन्दा करिब ५ गुणा बढी रकम तिरेर नेपालमा टेलिभिजन प्रसारण अधिकार किन्यो । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले एक कार्यक्रममा एनपीएलको प्रभाव र बजारको अवस्थालाई मूल्यांकन गरेर लगानी गरेको बताएका थिए । पहिलो संस्करणबाट जोडिएको भारतीय च्यानल स्टार स्पोर्ट्सको प्रसारणले एनपीएलको ब्रान्डिङमा सहयोग पुर्यायो ।
पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीले ३ करोड १६ लाख पाएका थिए । तर दोस्रो संस्करणमा त्यो बढेर १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ पुग्यो ।
अघिल्लो सिजनमा मात्रै क्यानका सचिव पारस खड्काले डीआरएस एकदमै महँगो भएको बताएका थिए । तर तेस्रो सिजनमा आउँदा क्यान डीआरएस प्रविधि भित्र्याउन सक्षम भयो । यसले एनपीएलप्रति बढ्दो व्यावसायिक आकर्षण र बजार विस्तारको सम्भावनालाई पनि देखाउँछ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द एनपीएल विश्वस्तरमा स्थापित हुन सफल भएको बताउँछन् । ‘सुरुवातमा अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा प्रतियोगिताप्रति विश्वास दिलाउनु सबैभन्दा ठूलो चुनौती थियो । प्रतियोगिताको पारदर्शिता, विदेशी खेलाडीहरूको पारिश्रमिक भुक्तानी र खेल मिलेमतो नियन्त्रण जस्ता विषयमा सबैको चासो थियो । विशेषगरी आईसीसीले यी सम्पूर्ण पक्षहरूको गहिरो अध्ययन गरिरहेको थियो । अन्तत: यो लिग विश्वस्तरमा स्थापित हुन सफल भएको छ,’ उनी भन्छन् ।
एनपीएलमा टेलिभिजन प्रसारण अधिकारदेखि डिजिटल माध्यमसम्म प्रायोजकहरूको आकर्षण उत्कृष्ट रहेको अध्यक्ष चन्दको अनुभव छ ।
‘पहिलो संस्करणमा डिजिटल प्रसारणको व्यवस्था नै थिएन । तर दोस्रो संस्करणबाट प्रायोजनको राम्रो संस्कृति विकास भयो,’ उनी भन्छन्, ‘यसले अन्तत: नेपाली क्रिकेटको विकास र खेलाडीहरूको भविष्य सुनिश्चित गर्न मद्दत पुर्याउँछ । आईसीसीले पनि हाम्रा हरेक माग, निर्णय र पहललाई सकारात्मक रूपमा लिँदै सहजीकरण गरिदिएको छ ।’
नेपालका व्यावसायिक घराना तथा प्रायोजकहरूको क्रिकेटप्रति ठूलो सद्भाव रहेको उनको भनाइ छ ।

पहिलो सिजनमा भारतीय क्रिकेटर शिखर धवनलाई कर्णाली याक्सले भित्र्याएको थियो । दोस्रो सिजनमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई विराटनगर किङ्सले भित्र्याएको थियो । यस पटक भने हरेक टोलीले उच्च स्तरका खेलाडी भित्र्याएका छन् ।
आईसीसीले जुनसुकै खेलाडी पनि ल्याउने अनुमति दिएको छ । यसअघि एक सिजनमा ४ टोलीले एक–एक एक्टिभ टेस्ट प्लेयर ल्याउन पाउँथे । तर यस पटक यो प्रावधान हटेको छ । जसका कारण अस्ट्रेलियाका ओपनर डेभिड वार्नरदेखि वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल एनपीएलको मैदानमा उत्रिने छन् ।
पहिलो सिजनमा भुइँमा बसेर हेरेका दर्शकले दोस्रो सिजनमा प्यारापिटमा बसेर फ्लडलाइटसहित खेलको अवलोकन गरेका थिए । अहिले डीआरएससहित स्टार खेलाडीको खेल हेर्ने अवसर नेपाली समर्थकले पाउने छन् ।
जनकपुर बोल्ट्सका सीईओ निरोज खतिवडा तेस्रो सिजनसम्म आइपुग्दा प्रायोजक ३ देखि ४ गुणा वृद्धि भएको बताउँछन् ।
‘पहिलो सिजनमा एक करोडभन्दा माथिका कम्पनी आइसकेका थिएनन् । करोड भन्दा जिब्रो टोक्ने अवस्था थियो । तर अहिले तेस्रो सिजनमा आइपुग्दा प्रायोजकहरू एक करोड छोइसकेको छ । त्यो पोजेटिभ साइन हो,’ उनी भन्छन् ।
एनपीएलमा टेक्नोलोजी विस्तारले नेपाली क्रिकेट अघि बढेको संकेत गरेको खतिवडाको अनुभव छ । ‘नेपालमा डीआरएस टेक्नोलोजी र फ्लडलाइट हुँदाको जुन क्रिकेट छ, त्यो एउटा स्ट्यान्डर्ड फर्म्याटमा जाँदैछ भन्ने सङ्केत हो,’ उनी भन्छन्, ‘यसले क्रिकेटमा नेपाल विस्तारै अघि बढ्दै छ भन्ने म्यासेज जान्छ ।’

यस पटक पुरस्कार रकम पनि वृद्धि गरिएको छ । यसअघि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पाउँथ्यो । यस पटक विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पाउने छन् । दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० र चौथो हुनेले ३० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।
एनपीएलको तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुँदैछ । जुन नेपाली भूमिमा पहिलो पटक प्रयोग हुन लागेको हो । एलबीडब्ल्युको रिभ्युका लागि फुल थ्रीडी बल ट्र्याकिङको प्रयोग हुनेछ । जसमा रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यु हुनेछ । एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन, हाइटको वाइड, छक्काको लम्बाइ र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि यस पटक एनपीएलमा देख्न पाइने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाउनु पनि एनपीएलको सफलता हो । यो मान्यताले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास क्यानको छ ।
टी–२० को मान्यतासँगै खेलाडीले एनपीएलमा बनाएका रेकर्डहरू आधिकारिक रेकर्डका रूपमा समावेश हुने छन् । अर्थात्, एनपीएल अब आधिकारिक रूपमा विश्व क्रिकेटको हिस्सा बनेको छ ।
प्रतिक्रिया 4