+
+
Shares

दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते २१:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङमा युवाले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत चार दिनमा ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन्।
  • अभियानको तेस्रो संस्करणमा ५० राइडर सहभागी भएका थिए र तिहारमा कात्तिक २४ देखि २६ गतेसम्म पनि नि:शुल्क सेवा दिने तयारी गरिएको छ।
  • संयोजक सञ्जयकुमार राईका अनुसार दिक्तेल बजारबाट ३५ किलोमिटर दूरीसम्म सेवा दिइने यो अभियानले विसं २०८१ मा ३४५ र २०८२ मा ७५० चेलीलाई सेवा दिएको छ।

८ कात्तिक, खोटाङ । खोटाङमा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैंमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् ।

युवा समूहले दसैंको अवसर पारेर चार दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म) सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटरबाइक सेवा दिएका हुन् ।

अभियानको पहिलो दिन कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२ जना र कात्तिक ६ गते २३० जना चेलीले नि:शुल्क माटरबाइक सेवा सेवा लिएको अभियानका संयोजक सञ्जयकुमार राईले जानकारी दिए ।

‘तेस्रो संस्करणका रुपमा सञ्चालन गरिएको अभियानमा ५० जना राइडर सहभागी भएका थिए । अभियानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईसमेत राइडरका रुपमा खटिनुभएको थियो’, उनले भने, ‘माइती तथा मावली घर जाने आउनेक्रममा नि:शुल्क मोटरबाइक सेवा पाउँदा चेली हर्षित छन् । सामाजिक सेवाभावले सञ्चालन गरिएको अभियान तिहारमा पनि जारी रहन्छ ।’

तिहारमा माइती पुज्न आवतजावत गर्ने चेलीका लागि कात्तिक २४ गतेदेखि २६ गतेसम्म नि:शुल्क मोटरबाइक सेवा दिने तयारी गरिएको युवा समूहले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाले विसं २०८१ देखि ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गर्दै आएका छन् ।

जिल्लाका युवा समूहले दिक्तेलबजारस्थित किरातचोकमा सचिवालय स्थापना गरेर माइतीघर जाने छोरीचेलीलाई दिक्तेल बजारबाट ३५ किलोमिटर दूरीसम्ममा नि:शुल्क मोटरबाइक सेवा उपलव्ध गराउने व्यवस्था मिलाएको छ ।

यातायातका साधन नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका, यातायात भाडा तिरेर यात्रा गर्न नसक्ने अवस्था भएका महिला, बालबालिका र वृद्धालाई लक्षित गर्दै नि:शुल्क मोटरबाइक सेवा दिन अभियान सञ्चालन गरिएको हो ।

अभियानका दौरानमा कुदाइने सवारीसाधन (मोटरबाइक)का लागि सहयोग जुटाएर इन्धनको प्रबन्ध मिलाउने गरिएको संयोजक राईले जानकारी दिनुभयो । विशुद्ध सामाजिक सेवाअन्तर्गत विसं २०८१ मा ३४५ जना र विसं २०८२ मा ७५० जना चेलीलाई नि:शुल्क यातायात सेवा प्रदान गरिएको जनाइएको छ ।

नेपाल सरकारको सेवा सुविधा प्राप्त, बहालवाला जनप्रतिनिधि र घरमा सवारीसाधन भएका चेलीले भने यो सुविधा पाउने छैनन् । अभियानअन्तर्गतका नि:शुल्क यातायात सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा माइतीका लागि कोसेली बोक्न पाउने सर्तसमेत राखिएको छ ।

जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर यात्रुका लागि तौल निर्धारण गरिएको अभियानका संयोजक राईले जानकारी दिनुभयो । नि:शुल्क यातायात सेवा अभियानमा स्व:स्फूर्त स्वयंसेवकको भूमिका निर्वाह गर्न चाहने जो–कोहीले सहयोग गर्नसक्ने जनाइएको छ ।

स्वयंसेवक बन्न चाहने युवाको सवारीसाधनको ब्लुबुक र सवारी चालकको चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य हुनुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । शुभेक्षुकको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिँदै आएको अभियानका लागि एकपटकमा करिब रु चार लाख खर्च हुने गरेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?