+

हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

२०८३ कात्तिक  ८ गते २२:२८ २०८३ कात्तिक ८ गते २२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० हजार मिटर हेरिटेज रनमा महिलातर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजेता बनेका छन्।
  • महिलातर्फ जेनिशा राई र निशा महर्जन दोस्रो र तेस्रो भए भने पुरुषतर्फ समीर कन्दङ्वा र सुरज शाही दोस्रो र तेस्रो भए।
  • दौडमा ७०४ जनाले नाम दर्ता गराएका थिए, र काठमाडौं फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा वसन्तपुरबाट सुरु भएको दौड १३ वडामा सम्पन्न भयो।

८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० हजार मिटरको काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रनमा महिलातर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजेता बनेका छन्।

आइतबार बिहान वसन्तपुरबाट सुरु भएको दौडमा कृतिकाले ५१ मिनेट ५८.५ सेकेन्ड र सलमानले ३८ मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पार गरे।

महिलातर्फ जेनिशा राई ५४ मिनेट २३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन्। निशा महर्जनले ५८ मिनेट २५.८ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्।

पुरुषतर्फ समीर कन्दङ्वा ४० मिनेट २५.८ सेकेन्डसहित दोस्रो र सुरज शाही ४४ मिनेट २२.८ सेकेन्डसहित तेस्रो भए।

महिलातर्फ र पुरुषतर्फका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिन्।

दौडमा सहभागी हुन ७०४ जनाले नाम दर्ता गराएका थिए। तीमध्ये १५२ महिला र ५५२ पुरुष थिए। निर्धारित समयभित्र नाम दर्ता गराएका ५५० जनाले प्रतिस्पर्धामा भाग लिएका थिए। समयसीमापछि नाम दर्ता गरेका अन्य धावक पनि कार्यक्रममा सहभागी भएका थिए।

काठमाडौं महानगरपालिकाले एनएसआर स्पोर्ट्स फाउन्डेसन (काठमाडौं म्याराथन) सँगको सहकार्यमा आयोजना गरेको दौडले सहरका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पहिचान र पैदल हिँड्ने संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।

दौडको पुरस्कार वितरण कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौंको सौन्दर्य, जनजीवन र सम्पदाको विशेषता पैदल हिँडेर अझ राम्रोसँग अनुभव गर्न सकिने बताइन्। महानगरपालिकाले स्वस्थ सहर निर्माणका लागि खेलकुदलाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले बताए।

दौडमा ७५ वर्षीय मंगलदास तण्डुकार सबैभन्दा बढी उमेरका सहभागी थिए। धावकलाई प्रोत्साहन गर्न पारालिम्पिक पदक विजेता अस्ट्रेलियाली खेलाडी क्याट्रिना वेब, नेपाली धावक सन्तोषी श्रेष्ठ र ओलम्पियन हरिबहादुर रोकायालगायत सहभागी भएका थिए।

महानगरपालिकाका १३ वटा वडा समेटिएको दौड बिहान ६ बजे वसन्तपुर डबलीबाट सुरु भएको थियो। असन, जमल, दरबारमार्ग, नारायणहिटी, नक्साल, हाँडीगाउँ, मालीगाउँ, सिफल, गौशाला, मैतीदेवी, डिल्लीबजार, भद्रकाली, सहिद गेट, धरहरा र न्युरोड हुँदै वसन्तपुरमै पुगेर दौड सम्पन्न भएको थियो।

काठमाडौं फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा हेरिटेज रन आयोजना गरिएको हो। महानगरपालिकाको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म हुने फिल्म फेस्टिभलमा युथ च्यालेन्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र, लघुचलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछ। फेस्टिभलमा रेड कार्पेट, मास्टर क्लास, प्यानल छलफल र अवार्ड वितरणलगायत कार्यक्रम पनि हुनेछन्।

हेरिटेज रन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय