News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएर पहिलो जित दर्ता गरेको छ ।
- कप्तान दीपेन्द्र सिंह ऐरीले ३६ बलमा अविजित ५१ रन बनाउँदै सिजनको पहिलो नेपाली अर्धशतक प्रहार गरेका छन् ।
- युवा स्पीनर अनिल खरेलले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएर सुदूरपश्चिमको जितमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
११ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो र दोस्रो सिजन सानदार प्रदर्शनका बाबजुद पनि फाइनलमा पराजित हुँदा सुदूरपश्चिम रोयल्स दुवै सिजन उपविजेतामै समेटियो ।
लिग चरणमा राम्रो सुरुवात गर्ने अनी अन्तिमतिर जाँदा महत्वपूर्ण खेलमा पराजित हुने बानी लागेको सुदूरपश्चिम एनपीएलको तेस्रो सिजनमा पहिलो खेलमै लुम्बिनीसँग पराजित भएको थियो ।
हारबाट एनपीएलको यात्रा सुरु गरेको सुदूरपश्चिमले यस संस्करणमा दोस्रो खेलमा आएर पहिलो जित हात पार्यो । पोखरा एभेन्जर्समाथि ६ विकेटको आरामदायी जितपछि सुदूरपश्चिमका इशान पाण्डेले यस पटक सुरुमै दशा कटेको प्रतिक्रिया दिए ।
‘हाम्रो पछिल्लो दुई सिजन यस्तो दिन लास्ट-लास्टमा आइराथ्यो । मे बी त्यो दशा कटेको हो कि’ पोखरालाई हराएर पहिलो जितपछि पोस्ट म्याच कन्फ्रेन्समा इशानले भने, ‘पहिलो खेलमा हाम्रो फेभरमा केही थिएन र पार्टनरसिप पनि भएन । हारको मुख्य कारण त्यही थियो । आजको जितले दशा कटेको छ ।’
कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर बलिङको निर्णय लिएपछि त्यसलाई बलरहरूले न्याय गर्दा पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
सातौं नम्बरमा ब्याटिङ गरेका अर्जुन घर्तीले क्यामियो इनिङ्स खेल्दै २५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित ४० रन बनाएका थिए । टप अर्डरमा राम्रो योगदान गर्न नसक्दा पोखराको स्कोर ठूलो बन्न सकेन ।
जवाफमा कप्तान दीपेन्द्रले नै अविजित ५१ रन बनाउँदा सुदूरपश्चिमले १६.५ ओभरमै ४ विकेट गुमाएर १४८ रन बनाउँदै खेल जितेको हो । दीपेन्द्रले ३६ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे ।
उनी यस सिजन एनपीएलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी र समग्रमा दोस्रो खेलाडी बने । यसअघि चितवन राइनोजका डाविड मालानले विराटनगर किंग्स विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

दीपेन्द्र र इशानको साझेदारी जितको आधार
सुदूरपश्चिमलाई पोखरा विरुद्ध सहज जित दिलाउन कप्तान दीपेन्द्र र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे । यो जोडीले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । ६.३ ओभरमा ५६.३ को अवस्थामा रहेको बेला क्रिजमा पुगेका इशानले दीपेन्द्रलाई राम्रो साथ दिएका थिए ।
आजको खेलमा हतारिएर खेल्नु जरुरी नरहेकोले आरामले खेलेको इशानले बताए । ‘आजको खेलको अवस्था यस्तै थियो । मैले चान्स लिनु जरुरी थिएन’ उनले भने ।
१६औं ओभरको तेस्रो बलमा इशान महेदी हसनको बलमा एलबीडब्लु हुनुअघि इशानले ३७ रन बनाएका थिए । ३१ बल खेलेका उनले समान २ चौका र २ छक्का प्रहार गरे ।
यसबाहेक ओपनर सेफ जैब र ब्रान्डन म्याकमुलेनले पनि दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । म्याकमुलेनले २२ र जैबले १५ रन योगदान गरे । शेरफन रदरफोर्डले ४ बल खेल्दै १ छक्का प्रहार गरे र ८ रनमा अविजित रहे ।
पोखराका लागि कुनै पनि बलर प्रभावकारी हुन सकेनन् । ४ ओभर कोटा पूरै बलिङ गरेका बंगलादेशी खेलाडीद्वय शाकिब अल हशन र महेदी हसनले १-१ विकेट लिए । यस्तै श्रीलंकन धनन्जय लक्षनले पनि १ विकेट लिए ।

अनिल खरेलको लय
एनपीएलको तेस्रो सिजन नयाँ टोलीबाट खेलिरहेका युवा स्पीनर अनिल खरेलले सुदूरपश्चिमका लागि राम्रो प्रदर्शन गरिरहेका छन् । दुवै खेलमा लयमा देखिएका अनिलले पोखरा विरुद्ध दोस्रो खेलमा ३ विकेट लिए ।
पोखराको मध्यक्रमलाई आउट गर्न अनिलले नै महत्वपूर्ण भूमिका खेले । अनिलले शकिब अल हशनसहित तीन विदेशी खेलाडीको विकेट लिए । अनिलले सुरुमा पोखराका लागि ओपनिङ गर्दै राम्रो ब्याटिङ गरिरहेका महदी हसनलाई छैटौं ओभरमा आउट गरे ।
महेदीले २१ बलमै ३२ रन बनाएका थिए । त्यसपछि ११औं ओभरमा शकिब र १३औं ओभरमा श्रिलंकन विकेटकिपर सदिरा समराविक्रमालाई आउट गरे ।
आफ्नो तीनवटै ओभरमा विकेट लिएका अनिलले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।
पहिलो खेलमा लुम्बिनीसँग पराजित भएपनि अनिलले अलराउण्ड प्रदर्शन गरेका थिए । जहा उनले ९ रन खर्चेर २ विकेट लिएका थिए भने त्यसअघि ब्याटिङमा अविजित १५ रन जोडेका थिए ।

अनिलको प्रदर्शन भर्खर देखिएपनि उनी नयाँ खेलाडी नभएको र कन्फिडेन्ट रहेको बताए । ‘अनिल टिममा नयाँ छ तर नेपाली क्रिकेट र नेपाली कन्डिसनमा नयाँ होइन । उसले अष्ट्रेलियामा राम्रो खेलिरहेको छ र धेरै कन्फिडेन्ट पनि छ र हामी सबै खुशी छौं’ इशानले भने ।
यस्तै इशानले डीआरएस प्रयोग हुनु नेपाली क्रिकेटको लागि राम्रो भएको पनि बताए । ‘नेपाली क्रिकेटको लागि डीआरएस आउनु एकदमै ठूलो स्टेप हो । हामी हरेक दिन हेरिरहेका छौं कति निर्णयहरू चेन्ज भइराछ । जस्तो कुशल दाई पहिलो बलमा थियो । डीआरएस नभएको भए आजको दिन खराब भयो नि त । ब्याट्सम्यानको एक-एक बल मात्र हुन्छ । त्यसैले त्यो ठूलो स्टेप हो नेपालको लागि’ उनले भने ।
प्रतिक्रिया 4