News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योग विभागले प्रशोधन नगरिएको फोहोर पानी नदी र खोलामा सिधै नछोड्न उद्योगहरूलाई निर्देशन दिएको छ ।
- दीपावली र छठको मुखमा वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी आसपास प्रदूषण बढेपछि स्थानीयले समस्या भोगेको भन्दै विभागले सूचना जारी गरेको छ ।
- विभागले वातावरणीय मापदण्डअनुसार मात्र पानी निष्कासन गर्न र संयुक्त अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ ।
१३ कात्तिक, काठमाडौं । उद्योग विभागले नदी तथा खोलामा प्रशोधन नगरिएको फोहोर पानी सिधै नमिसाउन उद्योगहरूलाई निर्देशन दिएको छ ।
विशेषगरी दीपावली तथा छठजस्ता चाडपर्वको मुखमा नदी प्रदूषणका कारण स्थानीयलाई समस्या भएको गुनासो बढेपछि विभागले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
विभागका अनुसार उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्ड विपरीत सिधै खोलामा विसर्जन गरी प्रदूषण बढाएको भन्दै उजुरीहरू प्राप्त भएका छन् ।
विशेषगरी वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी आसपास उद्योगहरूले निष्कासन गरेको प्रदूषित पानीले स्थानीयलाई दीपावली र छठ पर्व मनाउन समेत कठिनाइ भएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।
यसैलाई मध्यनजर गर्दै चाडपर्वका अवसरमा नदीको स्वच्छता कायम राख्न सम्पूर्ण उद्योगलाई विशेष संवेदनशील हुन आग्रह गरिएको छ ।
विभागले नेपाल सरकारले निर्धारण गरेको वातावरणीय मापदण्ड अनुरूपको पानी मात्रै उद्योगबाट बाहिर पठाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
साथै, चाडपर्वको समयमा नदी स्वच्छ बनाउन उद्योगहरूलाई आफ्नै ‘डिप बोरिङ’ वा अन्य स्रोतबाट स्वच्छ पानी पठाएर नदी सफा गर्ने कार्यमा थप सहयोग गर्नसमेत अनुरोध गरिएको छ ।
उल्लिखित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन भए वा नभएको जाँच्न सरोकारवाला निकायहरूको ‘संयुक्त अनुगमन तथा निरीक्षण’ गरिने सूचनामा उल्लेख छ । जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेश अन्तर्गतका उद्योग विभाग, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसम्मको सहभागिता रहने छ ।
प्रचलित वातावरणीय कानुन तथा मापदण्ड परिधिभित्र रही नदी प्रदूषण नियन्त्रण गर्नु सबैको साझा दायित्व भएको स्मरण गराउँदै विभागले तत्काल आवश्यक व्यवस्था मिलाउन सम्पूर्ण उद्योगलाई सचेत गराएको छ ।
प्रतिक्रिया 4