+
+
Shares

अस्पताल उद्घाटनका क्रममा रास्वपा–एमाले कार्यकर्ताको झडप, के थियो विवाद ?

प्रशासनका अनुसार यो उद्घाटन रोक्न र शिलालेखमा भएको नाम हटाउन निवर्तमान पालिका अध्यक्ष अमिरीलाल साह कानुले चाहेका थिए ।

शैलेन्द्र महतो सुनिल गाउँले शैलेन्द्र महतो, सुनिल गाउँले
२०८३ कात्तिक १४ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको फेटा गाउँपालिकामा शनिबार अस्पताल उद्घाटन कार्यक्रम रोक्ने विवादमा झडप हुँदा अस्पताल तोडफोड र १० मोटरसाइकलमा आगजनी भएको छ।
  • प्रहरीको गोली लागेर फेटा–३ का १५ वर्षीय आदित्य पासवान घाइते भएका छन् र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
  • ढुंगामुढाबाट ५ प्रहरी घाइते भएका छन् र जिल्ला प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

१४ कात्तिक, (जनकपुर/बारा ) ।  बाराको फेटा गाउँपालिकामा शनिबार बिहान भएको झडप भएको छ । त्यसक्रममा अस्पतालमा तोडफोड तथा मोटरसाइकलमा आगजनी समेत भएको छ । झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । ढुंगामुढा लागेर अन्य पाँचजना प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीको गोली लागेर बाराको फेटा गाउपालिका ३ का १५ बर्षीय आदित्य पासवान घाइते भएका छन् । उनलाई एउटा तिघ्रामा गोली लागेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।

घाइतेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रवक्ता एसएसपी ढकालका अनुसार झडप नियन्त्रणमा लिन खोज्दा ढुंगामुढा लागेर ५ जना प्रहरी घाइते भएका छन् ।

कसरी भयो विवाद ?

फेटा गाउँपालिकामा १५ बेडको नवनिर्मित हस्पिटल उद्घाटनको कार्यक्रम रहेको थियो । सो पालिका राष्ट्रिय स्वतन्त्रत पार्टीको एक मात्र जनप्रतिनिधि भएको पालिका हो । विवेकशील साझाबाट पालिका अध्यक्ष जितेका छन् ।

पार्टी चुनावका बेला रास्वपामा समाहित भयो । शनिबार हस्पिटल उद्घाटन गरी पालिकालाई हस्तान्तरण गर्न विगतमा विवेकशील साझाकी र वर्तमान रास्वपा प्रतिनिधि सभा सदस्य समीक्षा बास्कोटा आएकी थिइन् ।

प्रशासनका अनुसार यो उद्घाटन रोक्न र शिलालेखमा भएको नाम हटाउन निवर्तमान पालिका अध्यक्ष अमिरीलाल साह कानुले चाहेका थिए ।

उनी नेकपा एमालेबाट जित्दा अस्पताल निर्माणको थालनी भएको थियो । त्यसकारण उनीसहितका एमाले नेता कार्यकर्ताले उद्घाटन रोक्न पहिले नै चेतावनी दिएको थिए ।

बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार, रास्वपा सांसदले उद्घाटन गर्ने भएपछि स्थानीय एमाले नेताहरूले जिल्ला प्रशासनसमक्ष आफुहरुले कार्यक्रम बिथोल्ने चेतावनी दुई दिन अघिनै दिएका थिए ।

एमालेसहित स्थानीय समेत रहेका शिक्षक लालबाबु साह दुईजनाको नेतृत्व समेत विरोधको नेतृत्व गरेका थिए । साह बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहा स्थित श्री नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक समेत छन् । उनी माध्यमिक तह द्वीत्तिय श्रेणीका शिक्षक हुन् । प्रजिअ अधिकारीका अनुसार जिल्ला प्रशासनमा कार्यक्रम बिथोल्ने चेतावनी दिन उनी पनि पुगेका थिए ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले शिक्षण पेशामा आबद्ध व्यक्ति राजनीतिक रुपमा प्रस्तुत भएको विषयमा दुई दिन अघिनै शिक्षा विकास तथा समन्वय ईकाई बारालाई जानकारी गराइएको बताए ।

‘आज फेटामा भएको घटनाको पूर्व जानकारी गराउने शिक्षकका विषयमा दुईदिन अघिनै हामीले शिक्षा कार्यालयलाई जानकारी गराएका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।

मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी ढकालका अनुसार कार्यक्रम स्थलमा निवर्तमान अध्यक्षको नेतृत्वमा अढाइ सय जित मानिसहरू आएर आक्रमण गरेका थिए । त्यसपछि झडप भएको थियो ।

त्यस क्रममा प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

बाराका प्रजिअ अधिकारीका अनुसार अस्पताल परिसरमा शिलालेख र उद्घाटनका लागि तयार टेण्ट तोडफोड भएपछि प्रहरीले लाठीचार्ज गरि भिड तितरबितर पारेको थियोे । आक्रोशित प्रदर्शनकारीले अस्पताल परिसरमा रहेका १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

सो क्रममा अस्पताल परिसरमा थुनिएका १० जना स्वास्थ्यकर्मी र केहि सुरक्षाकर्मीलाई प्रहरीले उद्धार गरेको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

‘हामी बैठकमै छौं, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ, हालसम्म कसैलाई पक्राउ गरेका छैनौं,’ बाराका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले अनलाइनखबरसँग भने ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?