News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले पत्रकार धरपकड र न्यायालय तथा प्रहरीसम्बन्धी विवादपछि जति सक्दो छिटो संघीय संसद् अधिवेशन बोलाउन माग गर्ने भएको छ।
- सञ्चारगृहभित्र छापा मारी पत्रकार पक्राउ गरेपछि चौतर्फी विरोध भएको र प्रधानमन्त्री कार्यालयको चासोपछि उनीहरू सोही दिन साँझ रिहा भएका छन्।
- कांग्रेसले यो विषयमा विपक्षी दलहरूसँग छलफल गरेर संसद्मै सरकारमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ।
१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जति सक्दो छिटो संघीय संसद् अधिवेशन बोलाउन माग गर्ने भएको छ ।
यो विषयमा विपक्षी दलहरूसँग पनि कुरा गरेर अगाडि बढ्ने तय भएको नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले जानकारी दिए ।
‘पछिल्लो राजनीतिक घटनाक्रमले संसद अधिवेशन जतिसक्दो आवश्यक रहेको महसुस भएको छ । पत्रकार धरपकडदेखि न्यायलयभित्रको अवस्था र प्रहरीको विषय आएको छ,’ उनले भने ।
सर्वोच्च न्यायाधीश–बिचौलिया भेटघाट र नेपाल प्रहरीको नेतृत्व (आईजीपी दानबहादुर कार्की) सँग जोडिएका विवादित समाचार सार्वजनिक भएपछि पत्रकारहरूमाथि प्रहरीको धरपकड गरेको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कनेक्सन देखिएका भनिएका इनम सापकोटाको मोबाइल विवरण र प्रहरी नेतृत्व परिवर्तनको विषयलाई लिएर समाचार लेखेका आधारमा प्रहरीले सञ्चारगृहका न्युजरुममै पुगेर धरपकड गरेको हो । धरपकड गरेकै दिन शुक्रबार पक्राउ परेका पत्रकारहरू छुटे ।
नेपाल प्रहरीको टोलीले सादा पोसाकमा सञ्चारगृह भित्रै प्रवेश गरी नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका धिरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई पक्राउ गरेको थियो । साथै नयाँ पत्रिकाका नवराज मैनालीसहित अन्य पत्रकारहरूको खोजी र मोबाइल जाँचसमेत गरिएको थियो ।
पूर्वप्रधानन्यायाधीश र बिचौलियाबीचको सम्बन्ध तथा वर्तमान प्रहरी महानिरीक्षक आईजीपी कार्कीलाई सरकारले हटाउन लागेको भनी प्रकाशित समाचार र त्यसको स्रोत खोज्ने क्रममा प्रहरीले यो कदम चालेको भनिएको छ ।
सञ्चारगृहभित्रै प्रहरी पसेर धरपकड गरेपछि चौतर्फी विरोध र प्रधानमन्त्री कार्यालयको चासोपछि पक्राउ परेका पत्रकारहरूलाई सोही दिन साँझ रिहा भएका हुन् ।
तर प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोपछि पत्रकारसँग सोधपुछ गरिएको बताएको छ ।
यो पृष्ठभूमिमा नेपाली कांग्रेसले संसद् अधिवेशन जति सक्दो छिटो बोलाएर संसद्मै छलफल हुनुपर्ने माग गर्न लागेको हो ।
समाचार लेखेकै आधारमा पक्राउ पुर्जी बिना सञ्चारगृहमा छापा मारेको विषयमा सोही दिन कांग्रेसले विरोध जनाएको थियो ।
नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरूले गत शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन समेत गरेका थिए ।
प्रेस काउन्सिल नेपालले पनि कानुनी प्रक्रिया बिना गरिएको पत्रकारहरूमाथिको धरपकडप्रति गम्भीर आपत्ति जनाएको छ ।
यो अवस्थामा संसद् अधिवेशन आवश्यक रहेको महसुस भएको र यो विषयमा विपक्षी दलहरूसँग समेत सल्लाह गरेर सरकारमाथि दबाब सिर्जना गर्न लागिएको कांग्रेस सांसद रोकायाले जानकारी दिए ।
उनका अनुसार आजै दिउँसो १ बजे विपक्षी दलहरूको बैठक बस्दैछ ।
अघिल्लो अधिवेशन १६ असोज २०८३ मा अन्त्य भएको थियो ।
प्रतिक्रिया 4