News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले १४ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर मंगलबार सन्न्यास लिए ।
- म्याक्सवेलले सात टेस्ट, १४९ एकदिवसीय र १३० टी–२० अन्तर्राष्ट्रिय खेल्दै एकदिवसीयमा ३ हजार ९९० रन बनाए ।
- सन् २०२३ को विश्वकपमा अफगानिस्तानविरुद्ध उनले १२८ बलमा २१ चौका र १० छक्कासहित अविजित २०१ रन बनाएर अस्ट्रेलियालाई जित दिलाए ।
१८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले १४ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट मंगलबार सन्न्यास लिए । आक्रामक ब्याटिङ र तीव्र रन गति बनाउने क्षमताका लागि परिचित म्याक्सवेलले अस्ट्रेलियाका लागि तीनै प्रारूपमा खेलेका थिए ।
उनले सात टेस्ट, १४९ एकदिवसीय र १३० टी–२० अन्तर्राष्ट्रिय खेले । एकदिवसीयमा ३ हजार ९९० रन बनाएका म्याक्सवेलको स्ट्राइक रेट १२६.७ थियो ।
८०० भन्दा बढी बल खेलेका ब्याटरमध्ये यो प्रारूपकै उच्च स्ट्राइक रेट हो । टी–२० अन्तर्राष्ट्रियमा उनले २ हजार ८९७ रन बनाएका छन् ।
उनी अस्ट्रेलियाका लागि यस प्रारूपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।
म्याक्सवेलले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ब्याटिङ र बलिङ दुवैबाट सम्झनलायक प्रदर्शन गरेका छन् । उनका पाँच उत्कृष्ट प्रदर्शनबारे यहाँ चर्चा गरिएको छ :
अफगानिस्तानविरुद्ध अविजित २०१ रन, २०२३

सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध म्याक्सवेलले खेलेको अविजित २०१ रनको इनिङ्स उनको करियरकै सबैभन्दा चर्चित प्रदर्शनमध्ये एक हो ।
मुम्बईमा भएको खेलमा अफगानिस्तानले इब्राहिम जद्रानको शतक र राशिद खानको आक्रामक ब्याटिङको मद्दतमा पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले सुरुवातमै विकेट गुमायो । म्याक्सवेल क्रिजमा पुग्दा अस्ट्रेलियाको स्कोर ५ विकेटमा ४९ रन थियो र पछि ९१-७ को अवस्थामा पुग्यो ।
नूर अहमदको बलमा एलबीडब्ल्यू आउट दिइए पनि रिभ्युबाट म्याक्सवेलले जीवनदान पाए । त्यसपछि उनले अफगानिस्तानका बलरमाथि आक्रामक ब्याटिङ गरे । मांसपेशी बाउँडिने समस्याका बाबजुद उनले १२८ बलमा २१ चौका र १० छक्कासहित अविजित २०१ रन बनाए ।
प्याट कमिन्ससँग आठौँ विकेटका लागि २०२ रनको साझेदारी गर्दै म्याक्सवेलले अस्ट्रेलियालाई तीन विकेटको जित दिलाए । उक्त साझेदारीमा कमिन्सको योगदान ६८ बलमा अविजित १२ रन मात्रै थियो । अस्ट्रेलियाले १९ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो ।
२. श्रीलंकाविरुद्ध अविजित १४५ रन, २०१६

सन् २०१६ मा श्रीलंका भ्रमणका क्रममा म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रियमा अविजित १४५ रन बनाएका थिए । पालेकेलेमा भएको शृंखलाको पहिलो खेलमा डेभिड वार्नरसँग ओपनिङ गरेका उनले सुरुवाती ओभरमा वार्नरलाई रन बनाउन दिए ।
वार्नर आउट भएपछि म्याक्सवेलले ब्याटिङको जिम्मेवारी सम्हाले । उनले ६५ बलमा १४ चौका र नौ छक्कासहित अविजित १४५ रन बनाए ।
उनको प्रदर्शनमा अस्ट्रेलियाले तीन विकेट गुमाएर २६३ रन बनाएको थियो । त्यो समय टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाको उच्च स्कोर थियो ।
अस्ट्रेलियाले खेल ८५ रनले जितेको थियो ।
३. दक्षिण अफ्रिकाविरुद्ध अविजित ६२ रन, २०२५

सन् २०२५ मा दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखलाको निर्णायक खेलमा म्याक्सवेलले अर्को महत्वपूर्ण इनिङ्स खेलेका थिए ।
केर्न्समा भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १७३ रनको लक्ष्य दिएको थियो । जवाफमा अस्ट्रेलियाले मिचेल मार्सको ५४ रनको मद्दतमा सुरुवात गरे पनि ८८ रनमा चार विकेट गुमाइसकेको थियो । जितका लागि ५५ बलमा ८५ रन आवश्यक थियो ।
त्यस अवस्थामा म्याक्सवेलले ३६ बलमा अविजित ६२ रन बनाए । उनले आठ चौका र दुई छक्का प्रहार गरे । खेलको अन्तिमभन्दा अघिल्लो बलमा लुंगी एन्गिडीलाई रिभर्स शटमार्फत् चौका प्रहार गर्दै म्याक्सवेलले अस्ट्रेलियालाई दुई विकेटको जित दिलाए ।
यससँगै अस्ट्रेलियाले शृंखला २–१ ले जितेको थियो ।
४. भारतविरुद्ध टेस्ट शतक, २०१७

म्याक्सवेलले आफ्नो छोटो टेस्ट करियरमा एउटा शतक बनाएका थिए । सन् २०१७ मा भारतविरुद्ध राँचीमा भएको बोर्डर–गावस्कर ट्रफीको तेस्रो टेस्टमा उनले १०४ रन बनाएका थिए ।
शृंखलामा १–१ को बराबरी रहेको अवस्थामा अस्ट्रेलियालाई भारतमा शृंखला जित्ने आधार बनाउन बलियो स्कोर आवश्यक थियो । कप्तान स्टिभ स्मिथले एकातिरबाट इनिङ्स सम्हालिरहेका बेला म्याक्सवेलले पनि संयमित ब्याटिङ गरे ।
उनले १८५ बलमा नौ चौका र दुई छक्कासहित १०४ रन बनाए । स्मिथसँगको साझेदारीले अस्ट्रेलियालाई पहिलो इनिङ्समा ४५१ रनसम्म पुर्यायो ।
स्मिथले १७८ रन बनाएका थिए । भारतका चेतेश्वर पुजाराले दोहोरो शतक बनाएपछि खेल बराबरीमा सकिएको थियो ।
५. पाकिस्तानविरुद्ध २ रन डिफेन्ड, २०१४
म्याक्सवेल ब्याटिङमा मात्रै होइन, स्पिन बलिङमा पनि उपयोगी थिए । सन् २०१४ मा यूएईमा पाकिस्तानविरुद्ध भएको एकदिवसीय शृंखलाको तेस्रो खेलमा उनले बलिङबाट अस्ट्रेलियालाई अविश्वसनीय जित दिलाएका थिए ।
२३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान जित नजिक पुगेको थियो । नवौं विकेटका लागि सोहेल तनवीर र जुल्फिकार बाबरले महत्वपूर्ण साझेदारी गरेपछि पाकिस्तानलाई अन्तिम ओभरमा जितका लागि दुई रन मात्रै आवश्यक थियो ।
अन्तिम ओभरको जिम्मेवारी म्याक्सवेलले पाए । उनले तनवीर र मोहम्मद इरफानलाई आउट गर्दै मेडन ओभर नै फाले । यससँगै अस्ट्रेलियाले अन्तिम बलमा एक रनको रोमाञ्चक जित हात पारेको थियो ।
प्रतिक्रिया 4