२० कात्तिक, संखुवासभा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने बताएका छन् ।
शुक्रबार जिल्ला अस्पताल सङ्खुवासभाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले ५० बाट १०० शय्यामा अस्पताललाई स्तरोन्नति गर्न प्रदेश सरकार तयारी रहेको बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले जिल्ला अस्पताल संखुवासभासहित प्रदेशका अन्य चार अस्पताललाई ५० बाट स्तरोन्नति गरी १०० शय्याको बताउने प्रतिबद्धता व्यक्त गरे ।
अस्पतालको भौतिक संरचनासँगै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक जनशक्ति र कर्मचारी दरबन्दीसमेत थप गरिने मुख्यमन्त्री कार्कीले बताए ।
अस्पतालको क्षमता विस्तारसँगै विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै उनले जिल्लावासीले सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने बताए ।
यसैबीच मुख्यमन्त्री कार्कीले एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन पनि गरे ।
उक्त भवन सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत २७ करोड २७ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
प्रतिक्रिया 4