२१ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा असामाजिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न भन्दै कास्की प्रहरीले सञ्चालन गरेको अपरेसन सभ्यता अन्तर्गत थप ३१ जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूसँगै ५८ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएर कारबाही थालेको छ ।
कात्तिक २१ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा गरिएको कारबाहीमा २९ पुरुष र २ महिला पक्राउ परेका कास्की प्रहरी प्रवक्त वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा यात्रुलाई दुःख हैरानी दिने ३ जना, मोबाइल चोरी गरेर फरार भएका १ जना, झण्डीबुर्जा खेलाउने १ जना, मादक पदार्थ सेवन गरी होहल्ला गर्दै सवारी चलाउने २५ जना र अनैतिक गतिविधिमा संलग्न १ जना रहेको पासवानको भनाइ छ ।
प्रहरीले चेकजाँचका क्रममा ५८ वटा सवारीसाधनलाई पनि कारबाहीको दायरामा ल्याएको छ । तीमध्ये ३८ वटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाही गरिएको छ । अन्य ९ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै जरिवाना गरिएको छ भने ११ वटा सवारीसाधन वडा प्रहरी कार्यालय बैदाममा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
कास्की प्रहरीले कात्तिक १९ गते राति १ बजेदेखि लेकसाइड क्षेत्रमा अपरेसन सभ्यता सुरु गरेको थियो । पहिलो दिनको कारबाहीमा २१ जना नियन्त्रणमा परेका थिए । पछिल्लो कारबाहीसँगै अभियान सुरु भएयता नियन्त्रणमा लिइएका मानिसको संख्या ५२ पुगेको छ ।
लेकसाइडमा खुलेआम देहव्यापार, होहल्ला, झैझगडा, पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने तथा अन्य अमर्यादित गतिविधि बढेको गुनासो आएपछि प्रहरीले विशेष अभियान थालेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीको भनाइ छ । शंकास्पद गतिविधिमा संलग्नलाई निगरानी गरी नियन्त्रणमा लिने र कानुनअनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ ।
कास्की प्रहरी प्रमुख एसपी कार्कीले कानुनविपरीत गतिविधिमा संलग्नलाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अघि बढाइएको र अपरेसन निरन्तर जारी रहने बताएका छन् ।
प्रतिक्रिया 4