+
+
Shares

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पा कारागारबाट फरार भएका थप दुई कैदी त्रिपुरासुन्दरी नगरपालिका-४ को रंग गाउँमाथिको जंगलबाट पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोट बारेकोट गाउँपालिका-१ का यज्ञ विक छन्।
  • गत कार्तिक १४ गते सुरुङ खनेर फरार भएका ८ जनामध्ये ६ जना पक्राउ परेका छन्, दुई जना अझै फरार छन्।

२२ कात्तिक, डोल्पा । जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन्। उनीहरू लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।

योसँगै डोल्पा कारागारबाट फरार भएका ८ जनामध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ। यसअघि पनि त्रिपुरासुन्दरी नगरपालिका-४ रंगगाउँबाटै त्रिपुरासुन्दरी नगरपालिका-७ का कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका-९ का कैलाश भन्ने कपिल परियार पक्राउ परेका थिए।

त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना पनि पक्राउ परिसकेका छन्। उनीहरूलाई गत मंगलबार बिहान पक्राउ गरिएको हो।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- ६ दामाचौरस्थित खोलीबगरबाट वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका दुवै जना पनि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।

गत कार्तिक १४ गते दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका ८ जनामध्ये अझै दुई जना फरार छन्। फरार हुनेमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का तिलक भण्डारी र वडा नम्बर-३ का आदेश भण्डारी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?