२५ कात्तिक, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
बुधबार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटरसँगै साइकल ठोक्किएका थिए ।
दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री घाइते भएका थिए ।
घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको हो । चिकित्सकले उनलाई साँझ ५ः४५ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा स्कुटर चालक इनरुवा–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी–३ का २२ वर्षीय सागर सरदार, मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा साइकलयात्री इनरुवा–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल घाइते भएका छन् ।
घाइते पाँचै जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4