अमेरिकी राजनीतिमा एक–अर्काका कट्टर प्रतिद्वन्द्वी मानिने राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनबीच बन्द कोठाभित्र हुने संवाद सार्वजनिक छविभन्दा बिल्कुलै फरक रहने गरेको तथ्य बाहिरिएको छ ।
आगामी साता सार्वजनिक हुन लागेको आफ्नो संस्मरण ‘प्रोमिस मी, अमेरिका’ मा पूर्वराष्ट्रपति बाइडेनले सन् २०२४ को नोभेम्बरमा ह्वाइट हाउसमा भएको भेटका क्रममा ट्रम्पले आफूलाई ‘राजनीति नभएको भए हामी असल साथी हुन्थ्यौँ’ भनेको खुलासा गरेका छन् ।
चुनावी अभियानका क्रममा बाइडेनलाई ‘स्लिपी जो’ भन्दै कडा कटाक्ष र अपमान गर्ने ट्रम्पले राष्ट्रपतीय निर्वाचन जितेपछि ह्वाइट हाउसको ‘डिप्लोम्याटिक रिसेप्सन रुम’ मा भएको भेटमा अत्यन्तै मैत्रीपूर्ण व्यवहार देखाएको बाइडेनले उल्लेख गरेका छन् ।
ह्वाइट हाउसको त्यो दुई घण्टे भेट
‘द एटलान्टिक’ पत्रिकामा प्रकाशित बाइडेनको पुस्तकको अंशअनुसार, सन् २०२४ को नोभेम्बरमा तत्कालीन नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उनको टोलीलाई बाइडेनले ह्वाइट हाउसमा स्वागत गरेका थिए ।
केवल ३० मिनेटका लागि तय गरिएको उक्त भेटघाट करिब दुई घण्टासम्म चलेको थियो ।
भेटमा ट्रम्प निकै गफगाफ गर्ने मुडमा देखिएका थिए । उनले बाइडेनको कार्यकालमा भएको रोजगारी सिर्जनाको प्रदर्शन ‘असाधारण’ रहेको भन्दै प्रशंसा गरेका थिए ।
साथै, बाइडेन चुनावी दौडबाट बाहिरिएपछि आफूले उनीविरुद्ध प्रतिस्पर्धा गर्नु नपरेकोमा राहत महसुस गरेको समेत ट्रम्पले बताएका थिए ।
बाइडेनले पुस्तकमा लेखेका छन्, ‘ट्रम्पले यति धेरै मैत्रीपूर्ण र चाप्लुसी जस्तो देखिने शैली अपनाए कि मलाई एकछिन त उनले मसँग ठट्टा गरिरहेकोरहेको जस्तो लाग्यो । यस्तो लाग्थ्यो मानौँ संसारमा दुई जना फरक डोनाल्ड ट्रम्प छन् ।’
८३ वर्षीय बाइडेनका अनुसार ८० वर्षीय ट्रम्पले उनीतिर फर्कँदै भनेका थिए, ‘तिमीलाई थाहा छ जो, यदि राजनीति नभएको भए, मलाई विश्वास छ हामी निकै असल साथी हुने थियौँ । हो, राजनीति नभएको भए हामी हाम्रो सारा समय सँगै गल्फ खेलेर बिताउने थियौँ ।’
ट्रम्पको यो कुरा सुनेर आफू यति स्तब्ध भएको थिएँ कि कुनै जवाफ नै फर्काउन नसकी केवल आँखा झिम्क्याएर हेरिरहेको बाइडेनले स्मरण गरेका छन् ।
बाइडेनको क्यान्सर सङ्घर्ष
गत वर्ष प्रोस्टेट क्यान्सर पुष्टि भएका पूर्वराष्ट्रपति बाइडेनले आफ्नो स्वास्थ्य अवस्थाका कारण नयाँ पुस्तकको प्रचार–प्रसारका लागि तय गरिएका प्रत्यक्ष सार्वजनिक कार्यक्रमहरू कम गर्नुपरेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बाइडेनले भनेका छन्, ‘कुनै दिन राम्रो हुन्छ त कुनै दिन गाह्रो । यसले मलाई पूर्ण रूपमा रोकेको त छैन, तर कहिलेकाहीँ मेरो गति सुस्त बनाइदिन्छ । दुःखका साथ भन्नुपर्छ, मैले मेरो पुस्तकबारे जति धेरै अन्तरक्रिया गर्ने आशा राखेको थिएँ, त्यति गर्न सक्नेछैन । तर मलाई आशा छ कि पुस्तकका पानाहरूमा लेखिएका शब्दहरूले आफैँ बोल्नेछन् ।’
२०२४ को चुनावी हार, जिल बाइडनको खुलासा
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पसँगको टेलिभिजन बहसमा कमजोर प्रस्तुति देखिएपछि बाइडेनको उमेर र मानसिक स्वास्थ्यलाई लिएर डेमोक्रेटिक पार्टीभित्रै चर्को दबाब सिर्जना भएको थियो ।
त्यसपछि बाइडेनले उम्मेदवारी फिर्ता लिएका थिए र तत्कालीन उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा उत्रिए पनि पराजित भइन् ।
आलोचकहरूले बाइडेन प्रशासनले राष्ट्रपतिको स्वास्थ्य समस्या लुकाएर डेमोक्रेटिक पार्टीले हारको बाटो तयार पारेको आरोप लगाउँदै आएका छन् ।
यसैबीच, पूर्वप्रथम महिला जिल बाइडेनले गत जुन महिनामा ‘द भ्यू’ कार्यक्रममा बोल्दै पतिको क्यान्सर निदानले जीवनप्रतिको दृष्टिकोण नै बदलिदिएको बताइन् ।
विगतमा डेमोक्रेटिक पार्टीले बाइडेनप्रति गरेको व्यवहारलाई लिएर आक्रोशित रहेकी जिलले भनेकी छिन्, ‘जोको क्यान्सर निदानले जीवनलाई सही दृष्टिकोणबाट हेर्न सिकाएको छ । तपाईं हरेक दिनको महत्व बुझ्नुहुन्छ र मनमा रहेका पुराना आक्रोशहरूको कुनै अर्थ नरहेको महसुस गर्नुहुन्छ । त्यसैले जो र म हरेक दिनलाई सहज रूपमा लिँदै खुसी खोज्ने प्रयास गरिरहेका छौं ।’
प्रतिक्रिया 4