+
+
Shares
भीमफेदी दुर्घटना :

चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई गाउँपालिकाको तर्फबाट जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते ८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा माइक्रोबस दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको मृत्यु भएपछि गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ।
  • गाउँपालिकाले मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
  • दुर्घटनामा गर्भवती महिलासहित १३ जनाको मृत्यु भएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ।

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ ।

गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाहेकका नियमित सेवा प्रवाह हुने कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको छ ।

शोक बिदाका दिन स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई गाउँपालिकाको तर्फबाट जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको सूचनामा उल्लेख छ ।

मकवानपुरको भीमफेदीमा भएको उक्त दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्रै एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको छ ।

छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्तको मृत्यु भएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ । पर्वको तयारीमा रहेका परिवारमा एकैपटक ठूलो बज्रपात परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?