+
+
Shares
इनम फ्याक्टर :

एआईजीको जागिर खुस्कियो, लगानी बोर्डका पूर्वसीईओदेखि नेताका भाइसम्म पक्राउ

पूर्वप्रधानन्यायाधीशदेखि न्यायाधीशसम्म राडरमा

कनेक्सन देखिएको भने पनि इनम–महेश सम्बन्ध कस्तो हो भन्नेबारे प्रहरीले केही बताएको छैन । इनमकै मोबाइलबाट कनेक्सन देखिएपछि महेश पक्राउ परेका हुन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ मंसिर १ गते २१:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका इनम सापकोटासँग जोडिएको आरोपमा प्रहरीले कीर्तिपुर पाँगाबाट महेश श्रेष्ठलाई पक्राउ गरेको छ।
  • प्रहरीका अनुसार इनमको मोबाइल र डीएफएल रिपोर्टबाट श्रेष्ठसँग ह्वाट्सएप, अडियो कल र चेक आदानप्रदान भएको देखिएको छ।
  • उनीमाथि काठमाडौं जिल्ला अदालतले इनमकै म्याद मिलान गर्दै ५ दिनको हिरासत म्याद दिएको छ।

१ मंसिर, काठमाडौं । इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा गत शनिबार जिल्ला प्रहरी परिसर काठमाडौंले कीर्तिपुर पाँगाबाट महेश श्रेष्ठ नाम गरेका व्यक्तिलाई पक्राउ गर्‍यो ।

भोजपुर घर भई कीर्तिपुर बस्दै आएका उनी पाँगास्थित कीर्तिपुर सिनेप्लेक्समा फिल्म हेरेर निस्किँदानिस्किँदै पक्राउ परे । श्रेष्ठविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार सम्पत्ति शुद्धीकरणको कसुरमा इनम सापकोटासँगै म्याद मिलान गरेर श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाइएको छ । काठमाडौं जिल्ला अदालतले श्रेष्ठविरुद्ध इनम सापकोटाकै म्याद मिलान गर्दै ५ दिनको म्याद दिएको छ ।

श्रेष्ठ शनिबार पक्राउ परेकाले सोही मितिदेखि गणना गर्दा उनी बुधबारसम्म हिरासतमा बस्ने छन् । त्यसपछि बिहीबार फेरि उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्ने हुन्छ ।

महेश श्रेष्ठ

श्रेष्ठको सम्बद्ध कसुरलाई भने इनमकै सुरुवाती कसुरसँग जोडिएको छ । ‘एउटा व्यक्तिको सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेकोमा त्यही व्यक्तिसँग जोडिएर कारोबार गरेको देखिएकाले प्रथम व्यक्तिकै कसुरलाई सम्बद्ध कसुरको रूपमा मानिन्छ,’ एक अनुसन्धान अघिकारीले भने ।

इनमलाई भने प्रहरीले राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरलाई सम्बद्ध कसुरको रूपमा लिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद लिइएका श्रेष्ठ नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् । उमेश कांग्रेसका कोषाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

कनेक्सन देखिएको बताए पनि इनम–महेश कस्तो सम्बन्ध हो भन्नेबारे प्रहरीले केही बताएको छैन । इनमकै मोबाइलबाट कनेक्सन देखिएपछि महेश पक्राउ परेका हुन् ।

जानकार स्रोतका अनुसार उनीहरूबीच चेकका फोटाहरूसमेत आदानप्रदान भएको देखिन्छ । १४ असोजमा दिल्ली जान लागेका इनमलाई प्रहरीको विशेष ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । पक्राउ परेका इनमको मोबाइल प्रहरीले डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको थियो ।

डीएफएल रिपोर्ट आइसकेकाले इनमसँग कनेक्सन देखिएका व्यक्तिहरूको विवरण खुलेको छ । सोहीअनुसार अहिले श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठ र सापकोटाबीच ह्वाट्स एपमा कुराकानी हुने, च्याट हुने, अडियो कल हुने गरेको देखिएको छ ।

त्यति मात्रै होइन, अन्य व्यक्तिका नाममा काटिएका चेकहरूसमेत सेयर भएको भेटिएको दाबी छ । प्रहरी स्रोतका अनुसार करोडभन्दा बढी रकम महेशले इनमलाई पठाएकोसमेत देखिएको छ । यिनै विषयहरूलाई प्रमाण मान्दै प्रहरीले महेशलाई पक्राउ गरेको हो । तर उनीहरूबीच के कारोबार भएपछि रकम लेनदेन भएकोेबारे यकिन भएको छैन । महेश कीर्तिपुरमै रहेको पुष्पसदन बोर्डिङ स्कुलका प्रधानाध्यापकसमेत हुन् ।

इनमसँगै कनेक्सन देखिएपछि यसअघि लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पनि पक्राउ परेका थिए । प्रहरीले २१ असोजमा परिसर काठमाडौंले नै ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ गरेको थियो ।

सुशील भट्ट

भट्ट अहिले थुनामा रहेका व्यवसायी दीपक भट्टका भाइ हुन् । प्रहरी स्रोतका अनुसार अदालतमा सेटिङ मिलाएर दीपक भट्टलाई छुटाउनेबारे उनीहरूबीच संवाद भएको भेटिएको थियो । त्यसका लागि तोकेरै रकमबारे समेत कुराकानी गरेको इनमको मोबाइलमा भेटिएपछि सुशील पक्राउ परेका थिए ।

दीपकलाई छुटाउन चलखेल गरेकोबारे कुराकानी भेटिएपछि ललितपुरको नख्खु कारागारमा रहेका दीपकलाई सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको थियो ।

उनीमाथि पनि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । इनम पक्राउ परेपछि यो प्रकरणमा अहिलेसम्म तीन जना पक्राउ परेर हिरासतमा छन् ।

यस बाहेक इनमसँगै कनेक्सन देखिएपछि सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालको जागिर नै खुस्किएको थियो । इनम पक्राउ परेपछि उनको मोबाइलबाट एआईजी दाहालको कनेक्सन देखिएको थियो ।

वंशीराज दाहाल

इनमसँग कनेक्सन देखिएको र इनमलाई संवेदनशील सूचना चुहाएको भन्दै १९ असोजमा सरकारले एआईजी दाहाललाई निलम्बन गरेको थियो । त्यसपछि एआईजी अञ्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको थियो ।

२३ असोजमा सरकारले एआईजी दाहाललाई बर्खास्तसमेत गरेको थियो । प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भन्दै उनलाई बर्खास्त गरिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ११ असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई राति २ बजे पक्राउ गरी १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर केरकार गरिएको थियो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रले व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाललगायत छुटाउन अदालतमा चलखेल गरेको सूचनापछि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा चोलेन्द्र मध्यराति नै पक्राउ परेका थिए ।

१२ घण्टा नियन्त्रणमा लिएर दिउँसो २ बजे चोलेन्द्रलाई प्रहरीले छाडेको थियो । त्यतिबेला प्रहरीले चोलेन्द्रको मोबाइलसमेत नियन्त्रणमा लिएर हेरेको थियो । त्यसपछि चोलेन्द्र र इनमको कनेक्सन खुलेको थियो । चोलेन्द्रलाई नियन्त्रणमा लिएपछि सिनमा देखिएका उनै इनमलाई दिल्ली जान लागेका बेला १४ असोजमा प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

बिचौलियाको काम गर्ने इनम पक्राउ परेपछि उनीसँगै धेरै हाइप्रोफाइल व्यक्तिहरूको कनेक्सन देखिएको छ । इनमसँग हाइप्रोफाइल व्यक्तिहरूको सम्पर्क देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी नरहरि रेग्मीको नेतृत्वमा अनुसन्धान गर्न छुट्टै समिति नै बनाइएको थियो ।

त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंबाट डीएसपी रुकबहादुर खड्काको टोलीले यसको अनुसन्धान गरिरहेको छ । इनमसँग बहालवाला प्रधानन्यायाधीश डा. मनोज शर्मादेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसम्मको कनेक्सनसमेत देखिएको छ ।

सर्वोच्च अदालतकै न्यायाधीश हरि फुयालसँग पनि उनको कनेक्सन भेटिएको छ । इनम सापकोटाको ह्वाट्सएप म्यासेज लिक भएर नाम जोडिएपछि न्यायाधीशहरू बिदामा बसेका थिए । आजबाट भने इजलासमा फर्कन थालेका छन् । प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल मंगलबार इजलासमा सामेल भएका भए । हरि फुयालले आफूले इनमलाई भेटेकोसमेत स्वीकारेका थिए ।

त्यस्तै, निर्वतमान आईजीपी दानबहादुर कार्कीदेखि एआईजी राजन अधिकारीसँगसमेत इनमको कनेक्सन देखिएको छ ।

प्रधानमन्त्री बालेनकै सचिवालयका व्यक्तिसँगसमेत इनमको कनेक्सन देखिएको छ । प्रहरीले पक्राउ गरेपछि इनमका मोबाइल प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनको ज्वागलस्थित घरमा लगिएको विषयसमेत सार्वजनिक भएको छ । इनम र बेनबीच पनि ह्वाट्स एपमा कुराकानी भएको विषयहरू सार्वजनिक भएका छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?