+
+
Shares

कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति

हेमन्त केसी हेमन्त केसी
२०८३ मंसिर १ गते १९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली करिडोरअन्तर्गत जमुनाहादेखि हिल्सासम्मको ५०५ किलोमिटर सडक निर्माण र स्तरोन्नतिको काम अघि बढेको छ ।
  • दक्षिण खण्डका ४१ किलोमिटर सडक तीन खण्डमा कालोपत्रे गर्न तीनवटा ठेक्काको मूल्याङ्कनपछि निर्माण व्यवसायी छनोट प्रक्रिया सुरु भएको छ ।
  • उत्तरी खण्डको हिल्सा–सिमकोट सडक योजनाका दुई ठेक्काको बोलपत्र स्वीकृत गर्ने तयारी भएको छ ।

१ मंसिर, सुर्खेत । कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ ।

भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यस करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यसका लागि तीनवटा ठेक्काको बोलपत्र मूल्याङ्कन गरी निर्माण व्यवसायी छनोटको काम सुरु भएको छ । उत्तरी खण्डअन्तर्गत हिल्सा–सिमकोट सडक योजनाका दुईवटा ठेक्काको बोलपत्र स्वीकृत गर्ने तयारीमा रहेको छ ।

लामो समयदेखि बजेट अभाव, बहुवर्षीय ठेक्का स्वीकृति र निर्माण व्यवस्थापनको समस्याले अपेक्षित गति लिन नसकेको कर्णाली करिडोरका दुवै खण्डका योजना पछिल्लो समय अघि बढेका हुन् ।

४१ किलोमिटर सडक तीन खण्डमा कालोपत्रे गरिने

कालिकोटको खुलालु–हुम्लाको सलिसल्ला सडक योजनाअन्तर्गत तीन खण्डमा ४१ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिने भएको छ । खुलालु (चेनेज ०+०००) देखि कोट (१३+०००) सम्म १३ किलोमिटर, भुक्का खोला (४५+०००) देखि पिलिचौर (६०+०००) सम्म १५ किलोमिटर र तुम्चा (११०+०००) देखि सलिसल्ला (१२३+०००) सम्म १३ किलोमिटर सडक निर्माण गरिनेछ ।

योजना कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार खुलालु–कोट खण्डका लागि यती बिल्डर्स प्रालि, ललितपुर, भुक्का खोला–पिलिचौर खण्डका लागि लामा–सुनकोशी जेभी, काठमाडौं र तुम्चा–सलिसल्ला खण्डका लागि प्यासिफिक इन्जिनियरिङ कम्पनी प्रालि, काठमाडौंको बोलपत्र सारभूतरूपमा प्रभावग्राही र न्यूनतम मूल्याङ्कित ठहरिएको छ ।

तीनवटै खण्डको ठेक्कामा सडक संरचना निर्माण, रिजिड पेभमेन्ट, डीबीएसडी कालोपत्रे, ट्राफिक सुरक्षा तथा जैविक इन्जिनियरिङका काम समावेश छन् । बोलपत्रदाताले पेस गरेको रकमको अन्तिम यकिन र सम्झौता भने हुन बाँकी छ ।

उत्तरी खण्डमा पनि दुई ठेक्काको प्रक्रिया अघि

उत्तरी खण्डतर्फ उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, हुम्लाको सिमकोटस्थित कार्यालयका अनुसार दिव्यज्योति कन्स्ट्रक्सन प्रालि, धादिङ र एसकेसीपीएल/बीएनटी/बागमती जेभी, काठमाडौंको बोलपत्र स्वीकृत गर्ने आशय सार्वजनिक भएको छ ।

५०५ किलोमिटर लामो करिडोर, दुई खण्डमा विभाजन

कर्णाली करिडोर भारतको जमुनाहा नाकादेखि नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दैलेख, कालिकोट, बाजुरा हुँदै हुम्लाको सिमकोट भएर चीनसँगको सीमा हिल्सासम्म पुग्छ ।

करिडोरको कूल लम्बाइ ५०५ किलोमिटर रहे पनि खुलालुदेखि हिल्सासम्मको मुख्य सडक आयोजना २६९ किलोमिटरको छ । यसलाई दुई खण्डमा विभाजन गरिएको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १२३ किलोमिटर दक्षिण खण्ड हो भने सलिसल्लादेखि सिमकोट हुँदै हिल्सासम्मको १४६ किलोमिटर उत्तरी खण्ड रहेको योजना प्रमुख बेलबहादुर नेपालीले बताए ।

विशेषगरी हुम्लावासीले खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा भोग्दै आएको कठिनाइ कम गर्न सडकले महत्वपूर्ण भूमिका खेल्न सक्ने छ । सडक सञ्चालनमा आएपछि रारा, हुम्लाका पर्यटकीय गन्तव्यसम्मको यात्रा सहज हुनेछ भने स्थानीय कृषि उत्पादन र जडीबुटीको बजारीकरण तथा व्यापारिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बताए ।

हिल्सा नाकामार्फत चीनसँगको व्यापारिक सम्पर्क विस्तार गर्ने सम्भावना पनि यस करिडोरसँग जोडिएको छ । कोहलपुरमा एसियन हाइवे सञ्जालसँग जोडिने भएकाले यो मार्ग भारत र चीनबीचको व्यापारिक आवागमनका लागि समेत रणनीतिक महत्वको मानिन्छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?