+
+
Shares

प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

‘हामीलाई बन्दरगाहको थप विकल्प होस् भनेर माग गर्ने तयारी गरेका छौं,’ भ्रमणका एजेण्डाहरूलाई अन्तिम रुपमा दिन काममा संलग्न एक उच्च अधिकारी भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते २१:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि धाम्रा र मुन्द्रा बन्दरगाहको पहुँच माग्ने तयारी गरेको छ।
  • भारतले २०१९ मै सहमति गरे पनि व्यापार तथा पारवहन सन्धि संशोधन नभएकाले नेपालले ती बन्दरगाह प्रयोग गर्न पाएको छैन।
  • परराष्ट्र मन्त्रालयले यो विषयलाई प्राथमिकता दिने तयारी गरेको छ र भारतीय राजदूतसँग पनि पुनः स्मरण गराइएको छ।

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँग आयात- निर्यातका लागि फेरि पनि उडिसा र गुजरातका दुई बन्दरगाहको पहुँच माग्ने तयारी गरेको छ ।

भारतले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न दिने सहमति २०१९ मै भएको थियो । तर हालसम्म पनि सहमतिअनुसार ती बन्दरगाह प्रयोग गर्ने गरी व्यापार तथा पारवहन सन्धि संशोधन हुन सकेको छैन ।

यसपटक फेरि पनि नेपालले आयात निर्यातको सहजताका लागि भारतसँग ती बन्दरगाहको पहुँच माग्ने तयारी गरेको हो । धाम्रा र मुन्द्रा दुवै बन्दरगाहको व्यवस्थापन निजी क्षेत्रको अडानी समूहले गर्ने हुनाले त्यहाँबाट वैदेशिक व्यापार गर्न सहज हुने नेपालको निजी क्षेत्रले बताउँदै आएको छ ।

‘हामीलाई बन्दरगाहको थप विकल्प होस् भनेर माग गर्ने तयारी गरेका छौं,’ भ्रमणका एजेण्डाहरूलाई अन्तिम रुपमा दिन काममा संलग्न एक उच्च अधिकारी भने । नेपालले हाल भारतको कोलकाता, हल्दिया र विशाखापट्नम बन्दरगाह प्रयोग गर्दै आएको छ । पश्चिम बंगालका कोलकाता र हल्दिया बन्दरगाहलाई नेपालले एउटै बन्दरगाहका रुपमा लिने गरेको छ । किनभने एउटै रुटका यी बन्दरगाहमध्ये कोलकातामा साना जहाज मात्रै आउँछन् भने हल्दियामा ठूला जहाज आउँछन् । त्यसबाहेक आन्द्रप्रदेशको विशाखापट्टनम बन्दरगाहबाट पनि नेपालले तेस्रो मुलुकमा व्यापार गर्न पाउँछ ।

नेपालले यी तीनबाहेक अन्य बन्दरगाहको प्रयोग गर्न पाउने गरी लामो समयदेखि अनुमति मागिरहेको हो । धाम्रा र मुन्द्रा दुवै बन्दरगाहमा ठूला पानीजहाजहरू आइपुग्छन् । जसको पहुँच भए नेपाललाई समान आयात निर्यातमा सहुलियत हुन्छ ।

भारतले गुजरातको मुन्द्रा बन्दरगाहसम्म पहुँच दिए दक्षिण पूर्वि एसियाका देशहरूबाटको ढुवानीलाई सहज हुन्छ । उडिसाको धाम्राबाट पश्चिम एसियाली मुलुकहरूबाट ढुवानी सहज हुनेछ । वीरगञ्जबाट धाम्रा बन्दरगाहको दूरी करिब ९ सय ५० किलोमिटर मात्रै छ ।

कोलकाता बन्दरगाहमा पानीको गहिराइ कम भएकाले ठूला जहाजहरू आउन सक्दैनन्, जसले गर्दा सामान सार्न समय र खर्च बढी लाग्छ। धाम्रा गहिरो पानी भएको आधुनिक बन्दरगाह भएकाले यहाँ ठूला मालवाहक जहाजहरू सिधै आउन सक्छन् र विशाखापटनमको तुलनामा यो नेपालको सिमानाबाट नजिक पनि पर्छ।

मुन्द्रा भारतको पश्चिमी तटमा रहेको ठूलो व्यावसायिक बन्दरगाह हो। युरोप, मध्यपूर्व र अफ्रिकाबाट आउने जहाजहरू सिधै मुन्द्रा आउन सक्छन्। यसले गर्दा भारतको दक्षिणी भाग घुमेर कोलकाता वा विशाखापट्टनम पुग्नुपर्ने लामो समुद्री यात्राको समय र खर्च जोगिन्छ। यो बन्दरगाह पुग्न भने करिब १८५० देखि २००० किलोमिटर यात्रा गर्नुपर्छ ।

‘हामीले धेरै विषयहरू पठाएका छौं बन्दरगाहको विषय पनि छ’ वाणिज्य मन्त्रालयका एक अधिकारीले भने,’ परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले एजेण्डा तय गर्ने भएकाले त्यहाँबाट मात्र यो विषयमा अन्तिम निर्णय हुन्छ ।’

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार यो विषयलाई प्राथमिकता दिने तयारी छ । परराष्ट्रमन्त्री शिशिर खनाललाई सोमबार शिष्टाचार भेटका लागि गएका भारतीय राजदूत सुधाकर दलेलालाई पुन: यो विषयमा स्मरण गराइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?