+
+
Shares

बंगालको खाडीमा अकवान चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

अर्नबपछि एक महिनाभन्दा कम समय अवधिमा विकसित भएको नयाँ चक्रवात अकवानको सम्भावित मार्ग र यसको प्रभावबारे नेपालमा पनि चासो बढिरहेको छ । मौसमविद्‍हरूले यसलाई नजिकबाट नियालीरहेको जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगालको खाडीमा एक महिनाभन्दा कम अवधिमा अर्नब, मुरासु र अकवान गरी तीन चक्रवात विकसित भएका छन्।
  • मौसमविद् डेभिड ढकालका अनुसार अकवानले नेपालमा उल्लेख्य प्रभाव पार्ने सम्भावना छैन र हल्का वर्षा मात्र हुन सक्छ।
  • भारतीय मौसम विज्ञान विभागले अकवान ४ मंसिरमा आन्ध्र प्रदेशको नेल्लोर र विशाखापट्टनमबीच जमिनमा प्रवेश गर्ने पूर्वानुमान गरेको छ।

२ मंसिर, काठमाडौं । एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन् । ‘अर्नब’ र ‘मुरासु’ पछि अहिले ‘अकवान’ नामको चक्रवात विकसित भएको छ ।

नयाँ विकसित चक्रवात अकवानको मार्ग पनि भारतको आन्ध्र प्रदेशतर्फ देखिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार नोभेम्बर २० (४ मंसिर) आसपास चक्रवातले तटीय क्षेत्र पार गर्ने सम्भावना छ । यो चक्रवात आगामी दिनमा अझै शक्तिशाली बन्दै उत्तर–उत्तरपश्चिम दिशातिर सर्ने आईएमडीले पूर्वानुमान गरेको छ ।

यसअघि गत अक्टुबर २५ मा अर्थात ८ कात्तिकमा बंगालको खाडीमा अर्नब चक्रवात बनेको थियो । त्यसको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा १२ देखि १४ कात्तिकसम्म वर्षा र हिमपात भएको थियो ।

अर्नबको प्रभाव कमजोर भएलगत्तै बंगालको खाडीमा १५ कात्तिकमा मुरासु नामको अर्को चक्रवात विकसित भएको थियो । १७ कात्तिकमा भारत आन्ध्रप्रदेशको दक्षिणी तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको सो चक्रवातको प्रभाव भने नेपालमा खासै परेको थिएन ।

२५ कात्तिकमा भाइटीकाको दिन काठमाडौं उपत्यका र आसपासमा असिना पानी परेको थियो । तर त्यसमा पश्चिमी र स्थानीय वायु जिम्मेवार रहेको मौसमविदहरु बताउँछन् ।

अकवानको प्रभाव नेपालमा कस्तो पर्ला ?

अर्नबपछि एक महिनाभन्दा कम समय अवधिमा विकसित भएको नयाँ चक्रवात अकवानको सम्भावित मार्ग र यसको प्रभावबारे नेपालमा पनि चासो बढिरहेको छ । मौसमविद्‍हरूले यसलाई नजिकबाट नियालीरहेको जनाएका छन् ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि यसको मार्ग र तीव्रता हेरेर थप आकलन गर्न सकिन्छ । तर अहिलेसम्मको अवस्था हेर्दा यसले नेपालमा उल्लेख्य प्रभाव पार्ने सम्भावना नरहेको उनी बताउँछन् ।

‘अहिलेको प्रारम्भिक अनुमान हेर्दा यसले पूर्वतिर बादल ल्याउने सम्भावना छ । वर्षा गराइहाले पनि एक–दुई ठाउँमा हल्का खालको होला । तर यसले लगातार पानी पार्ने, भारी वर्षा गराउने सम्भावना भने अहिलेसम्म देखिएको छैन,’ मौसमविद ढकालले भने ।

त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल पनि अकवान चक्रवातबाट नेपालमा भारी वर्षा हुने सम्भावना अहिलेसम्म नदेखिएको बताउँछन् । ‘आइतबार र सोमबार पूर्वी आधा नेपालका थोरै ठाउँमा हल्का वर्षा हुन सक्छ । अहिलेसम्म भारी वर्षाको स्पष्ट संकेत छैन,’ उनले फेसबुकमा लेखेका छन् ।

अहिले कहाँ, कस्तो अवस्थामा छ अकवान ?

भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवाती आँधी ‘अकवान’ (Akvan) शक्तिशाली बन्दै गएको छ । हाल दक्षिणी तथा त्यससँग जोडिएको पश्चिममध्य बंगालको खाडीको मध्य भागमा रहेको चक्रवाती आँधी ‘अकवान’ पछिल्लो ६ घण्टामा प्रतिघण्टा ३ किलोमिटरको गतिमा बिस्तारै उत्तरतर्फ सरेको छ ।

भारतीय समयअनुसार १७ नोभेम्बर २०२६ (१ मंसिर) को मध्यरातसम्म उक्त आँधी १२.५ डिग्री उत्तरी अक्षांश र ८५.६ डिग्री पूर्वी देशान्तरमा थियो ।

यो आँधी तमिलनाडुको चेन्नईबाट करिब ५९० किलोमिटर पूर्व, श्रीलंकाको त्रिणकोमालीबाट ६४० किलोमिटर उत्तरपूर्व, आन्ध्र प्रदेशको मछलीपट्टनमबाट ६३० किलोमिटर दक्षिणपूर्व, विशाखापट्टनमबाट ६३० किलोमिटर दक्षिण–दक्षिणपूर्व र ओडिशाको गोपालपुरबाट ७६० किलोमिटर दक्षिणमा रहेको छ ।

आँधी बिस्तारै उत्तर–उत्तरपश्चिम दिशातर्फ सर्ने र आज २ मंसिरमा थप शक्तिशाली बन्दै गम्भीर चक्रवाती आँधी (Severe Cyclonic Storm) मा परिणत हुने सम्भावना छ ।

त्यसपछि ३ मंसिर साँझसम्म उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै थप शक्तिशाली भएर अति गम्भीर चक्रवाती आँधी (Very Severe Cyclonic Storm) मा परिणत हुने अनुमान गरिएको छ ।

उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने क्रममा उक्त आँधी ४ मंसिरमा आन्ध्र प्रदेश तथा यानमको तटीय क्षेत्रअन्तर्गत नेल्लोर र विशाखापट्टनमबीचको भूभागबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ । त्यस समयमा आँधीको अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा १२० देखि १३० किलोमिटर रहने र हावाको झोक्का प्रतिघण्टा १४५ किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ ।

मौसमविद्‍हरूका अनुसार बंगालको खाडीमा विकसित हुने चक्रवातको सिधा असर नेपालमा पर्ने गरेको छैन । यसको बाहिरी घेराका बादलका कारण वर्षा, हिमपात र हावाहुरी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?