+
+
Shares

गाउँको आकर्षण फर्काउन सात सय कोल्मा बहाकोटको क्रसकन्ट्री दौड

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ७:१६

३ मंसिर, पोखरा । कुनै बेला गाउँलेहरूको चहल–पहलले गुल्जार थियो, स्याङ्जाको सात सय कोल्मा बहाकोट । चारथुम र सात सय कोल्मा बहाकोटमा जोडिएका थिए, गाउँहरू । गाउँ–गाउँ मिलेर सामाजिक तथा सांस्कृतिक गतिविधिहरू हुन्थे ।

लाहुरे संस्कृतिले सम्पन्न हुँदै गए पनि आफ्नै गाउँ सम्झेर फर्किन्थे । तर, पछिल्ला दशकहरूमा भने स्याङ्जा सात सय कोल्मा बहाकोट, चारथुम र आसपासका गाउँ बस्तीबाट ठूलो संख्यामा बेलायत, हङकङ, सिंगापुरमै बस्न थाले । नेपालमा हुनेहरूको रोजाइ पनि पोखरा र काठमाडौंजस्ता सहरमा हुन थाले ।

गाउँबाट गाउँको सुगन्ध हराउँदै गएपछि आफ्नै ठाउँमा केही गतिविधि गरेर घरदेश र परदेशमा हुनेहरूको आकर्षण बढाउन एउटा संस्था खुल्यो, ‘सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च’ । त्यही संस्थाले २०७५ सालमा एउटा अवधारणा ल्यायो, कोल्मा बहाकोट र आसपासका गाउँहरू जोडेर राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिता गर्ने ।

सम्पर्क मञ्चले ल्याएको अवधारणालाई बेलायत, सिंगापुर, हङकङ र पोखरालगायतका ठाउँमा बस्ने गाउँलेहरूले हौसला भरे । देशदेखि विदेशसम्मका गाउँलेहरू त्यही मौका पारेर फर्किन थाले ।

अहिले सात सय कोल्मा बहाकोट क्रस कन्ट्री दौड प्रतियोगिता बर्सेनि हुने मुख्य कार्यक्रममा दरिएको छ र अहिले सातौं शृङ्खलाको तयारी भएको छ ।

यो पटक पुस ८ गते सातौं संस्करणको क्रस क्रन्ट्री दौड प्रतियोगिता हुन थालेको हो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ राष्ट्रिय स्तरको क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना हुने आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

‘गाउँघर छोडेर विदेशिने क्रम बढेसँगै रित्तिएका गाउँबस्ती र लोपोन्मुख बन्दै गएको स्थानीय लोक संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सातौं संस्करणको प्रतियोगिता गर्दैछौं,’ सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष दूतप्रसाद गुरुङले भने ।

बेलायत, अमेरिका, जापान, हङकङ, जर्मनीलगायत विभिन्न देश तथा पोखरा र काठमाडौँजस्ता प्रमुख सहरहरूमा बसोबास गर्नेहरूको पुनर्जागरण अभियान अन्तर्गत संस्था गठन भएको र यो कार्यक्रम गर्न लागिएको उनले बताए ।

खेलकुद र पर्यटनमार्फत ग्रामीण क्षेत्रको आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ क्रसकन्ट्री दौडसँगै स्थानीय लोक संस्कृतिको प्रदर्शन र होमस्टे साँझ कार्यक्रमसमेत समावेश गरिएको संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक जीतबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा कुल ६ वटा विधामा प्रतिस्पर्धा हुने र सबै दौडहरू कोल्मा बराहचौरबाट सुरु भई सोही स्थानमा आएर समापन हुने उनले जानकारी दिए । यो प्रतियोगिताले स्याङ्जाको पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका र तनहुँको शुक्लागण्डकी नगरपालिकालाई जोड्ने मञ्चका सचिव जीवन थापाले बताए ।

लुंगी ड्रेस दौड पनि हुने

प्रतियोगिता अन्तर्गत खुला पुरुष तथा महिला २५ किलोमिटर दौड कोल्मा बराहचौरबाट सुरु भई बराहखोला, सतिडाँडा, काहुले, डाँडास्वाँरा, नाम्च्रे, काल्खु, शुक्लागण्डकी नगरपालिका–११ खल्लुवोट, विसाउना, विरुवा गाउँपालिका–४ खुदी, मड्किना भञ्ज्याङ हुँदै पुन: सतिडाँडा भएर बराहचौरमा समापन हुनेछ ।

खुला महिला दौडप्रति १० किलोमिटर र २१ वर्षमुनिका पुरुष १० किलोमिटर दौड बराहचौरबाट सुरु भइ बराहचौरमै आएर समापन हुनेछ ।

विद्यार्थी छात्र तथा छात्रा ५ किलोमिटर दौड पनि हुने छ । सबैभन्दा आकर्षण ‘रन फर फन’ लुंगी ड्रेस दौड हुने छ । यसमा महिलाहरू परम्परागत लुंगी पोशाकमा रमाइलोका लागि दौडने छन् ।

२५ किमी दौडतर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार  र तृतीयलाई  ३० हजार प्रदान प्रदान गरिने महासचिव जीवन पोख्रेलले जानकारी दिए । पोखरेलका अनुसार खुला महिला १० किमी दौड र २१ वर्षमुनिका पुरुष १० किमी दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिइने छ ।

विद्यार्थी छात्र तथा छात्रा ५ किमी दौडतर्फ प्रथमलाई ८ हजार , द्वितीयलाई  ५ हजार  र तृतीयलाई  ३ हजार तथा ३० वर्ष माथिका महिलाहरूको लुंगी ड्रेस दौडतर्फ प्रथमलाई  ५ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार प्रदान गरिने छ ।

दौडका लागि करिब १२ लाख ८१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा करिब ५ सय जना सहभागी हुने अनुमान गरिएको छ ।

‘यो दौड केबल प्रतियोगितामात्रै होइन, यो त गाउँप्रतिको आकर्षण बढाउने र आफ्नो माटोमै फर्काउने सुन्दर परिकल्पना हो,’ बेलायतबाट यही कार्यक्रमका लागि भनेर आउँदै गरेका लालबहादुर गुरुङले भने, ‘गाउँ रित्तिँदै गयो तर छातिभरि गाउँको माया हुनेहरूलाई फर्काउने अवसर पनि हो । नयाँ पुस्तालाई गाउँ सम्झाउने मेलो पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?