+
+
Shares

जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त

जसपा नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले जसपा नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त भएको सूचना आज प्रकाशित गरेको छ।
  • आयोगका अनुसार पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत दल त्याग गरेको जानकारी जसपा नेपालले दिएको आधारमा २०८३ मंसिर २ गते निर्णय गरिएको हो।
  • पद रिक्त हुनेमध्ये मधेश प्रदेशका ५ र कोशी प्रदेशका १३ जना जनप्रतिनिधि छन्।

३ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले आज सूचना प्रकाशित गरी पद रिक्त भएको जानकारी दिएको हो ।

सूचना अनुसार जसपा नेपालले २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको जानकारी आयोगलाई दिएको थियो । आयोगले सम्बन्धित दलको केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित प्राप्त जानकारीका आधारमा २०८३ मंसिर २ गते निर्णय गर्दै उनीहरूको पद रिक्त भएको जनाएको हो ।

आयोगले प्रकाशित सूचनामा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पद रिक्त भएको जनाएको छ ।

पद रिक्त हुनेमा मधेश प्रदेशका पाँच र कोशी प्रदेशका १३ जना जनप्रतिनिधि छन् ।

मधेश प्रदेशअन्तर्गत सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष विजय कुमार महतो छन् ।

त्यस्तै, पर्साको कालिकामाई गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ ।

कोशी प्रदेशअन्तर्गत खोटाङका आठ जना, भोजपुर, उदयपुर र सुनसरीका एक–एक जना तथा इलामका दुई जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।

खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नम्बर १० का अध्यक्ष मुगाधन राईको पद रिक्त भएको छ ।

सोही वडाका महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगरकार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पदसमेत रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, सन्दकपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डालबहादुर गुरुङ र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जुडिलाल कौडगियाको पद पनि रिक्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?