+
+
Shares

राष्ट्रिय भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई सचेत हुन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केपी शर्मा ओलीले एमालेको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गर्दै प्रवेश कडाइ गर्न स्वयंसेवकलाई निर्देशन दिए ।
  • उनले भेलामा सहभागी नेता र कार्यकर्तालाई परिचयपत्र अनिवार्य लगाउन आग्रह गर्दै आवश्यक परे देखाउनुपर्ने बताए ।
  • ओलीले बैठकस्थलमा अनावश्यक कुराकानी नगर्न, शान्त वातावरण कायम राख्न र निर्धारित कार्यसूचीअनुसार अघि बढ्न आग्रह गरे ।

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए ।

आफू बसेको स्थानसम्मै एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको ओलीको भनाइ थियो ।

पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न अपरिचित व्यक्ति सहजै पुग्दा महत्वपूर्ण समय खेर जाने भन्दै उनले स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दिए ।

ओलीले भेलामा सहभागी सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र अनिवार्य रूपमा लगाउन पनि आग्रह गरे । परिचयपत्रले सहभागीको पहिचान खुल्ने र स्वयंसेवक तथा सुरक्षाकर्मीलाई व्यक्ति चिनाउन सहज हुने उनको भनाइ थियो ।

सांस्कृतिक वा अन्य कारणले परिचयपत्र लगाउन नमिल्नेले साथमा राखेर आवश्यक पर्दा देखाउनुपर्ने उनले बताए ।

भेलाका क्रममा अनावश्यक कुराकानी नगर्न र बैठकस्थलमा शान्त वातावरण कायम राख्न पनि ओलीले निर्देशन दिए । भेटघाट र कुराकानीका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न आग्रह गर्दै उनले बैठकको समय कार्यसूचीमै केन्द्रित हुनुपर्ने बताए ।

‘बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ । आपसी भेटघाट र कुराकानीका लागि खाना खाने, खाजा तथा विश्रामको समय प्रयोग गरौँ, बैठकको समय होइन,’ उनले भने ।

कार्यक्रमलाई दिउँसो २ बजेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै ओलीले निर्धारित कार्यसूचीअनुसार अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘कार्यक्रमलाई अनुशासनको नमूना बनाउँदै निर्धारित कार्यसूचीअनुसार अघि बढौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?