६ मंसिर, काठमाडौं । धेरै वर्षअघिको कुरा होइन । कोरोना महामारीले संसार आक्रान्त थियो । नेपाल पनि अछुतो रहने कुरै भएन । राम्रो सेवा सुविधाको जागिर कोरोनाकै कारण गुम्यो । उनी घरमै बस्न बाध्य भइन् । अब के गर्ने ? यो ठूलो प्रश्न थियो आफैंलाई ।
काठमाडौं नयाँ बानेश्वरमा जन्मेहुर्केकी उनी जागिरमै रमाइरहेकी थिइन् । उच्च अध्ययनको सिलसिलामा भारत बस्दा पनि उतै राम्रा र ठूला कम्पनीमा जागिर गरेकी थिइन् । पढाइ सकेर नेपाल फर्केपछि यता अर्को राम्रो जागिर गर्न थालिन् ।
फ्याट्ट कोरोना कहर आयो, सबै बिगारेर गयो । अनि, सुरु भयो उनको जिन्दगीको नयाँ अध्याय । कोरोना माहामारी पनि सकियो, तर काम केही छैन । यत्तिकै घर बसेर हुँदैन, केही त गर्नुपर्छ । आमालाई छेउमा राखेर श्वेता पाण्डेले दिमाग घुमाइन् ।
आमाले पकाएको खाना उनलाई औधि मिठो लाग्ने । झ्वाट्ट दिमागको बत्ती बल्यो- किन आफ्नै भान्साबाट व्यापार सुरु नगर्ने ?
तर, गर्ने चाहिँ के ? आमाछोरीले अनेक जुक्ति लगाए । अनि, बानेश्वरको आफ्नै घरमा श्वेताले सुरु गरिन्- भोला फुड्स ।
यो चार वर्षअघिको कुरा हो । श्वेताका आमाछोरीले आफ्नै भान्साबाट सुरु गरेको व्यापार अहिले ‘अपार’ भएको छ । आमाको हातको स्वादबाट श्वेताले आफ्नै भान्साबाट सुरु गरेको भोला फुड्समा आमाछोरीको मिहिनेत र लगनले बिस्तारै फल दिन थाल्यो । ‘दिन दुई गुना रात चौगुना’ हुँदै भोला फुड्सले बजारमा राम्रो उपस्थिति जनाउन सफल भयो ।
खासमा श्वेताका बुबालाई सबैले माया गरेर ‘भोला’ भन्थे । उनै बुबाको सम्झनामा श्वेताले कम्पनीको नाम राखिन्- भोला फुड्स । नाम र काम दुवै जम्यो । दैनिकी भ्याइ नभ्याइ हुने नै भयो ।
‘अहिले यसो पछाडि फर्केर हेर्दा यहाँसम्म आइपुगिएला जस्तो लागेकै थिएन,’ श्वेताले अनलाइनखबरसँग खुसी साटिन्, ‘वास्तवमा म जागिरमा रमाइरहेकी मान्छे, व्यापार गर्छु भन्ने त कहिल्यै पनि दिमागमै थिएन, तर ख्यालख्यालमै भान्साबाट सुरु गरेको व्यापारले बजारमा उल्लेख्य उपस्थिति जनाउन सफल भएको देख्दा औधि खुसी लाग्छ ।’

भोला फुड्सले के गर्छ ?
भोला फुड्सले केटरिङको काम गरिरहेको छ । आफ्नै भान्सामा पकाएका स्वादिष्ट, गुणस्तरीय र सहज मूल्यका नेपाली खाना घरमात्र होइन, अफिस-अफिसमा पुर्याउने गरेको छ ।
श्वेताको अगुवाइमा भोला फुड्सले हाल दैनिक ६ सयजनाका लागि कर्पोरेट गृहहरूमा ब्रेकफास्ट, लन्च, स्न्याक्स र डिनर उपलब्ध गराइरहेको छ । त्यतिमात्र होइन, कसैको घरमा हुने जमघट, बर्थडे पार्टी वा अन्य ठूला कार्यक्रम होस्, भोला फुड्स चल्तीको नाम बनेको छ ।
‘कसैको घरमा २० जना, ३० जनाको जमघट हुँदा खाना कति बनाउने, कस्तो बनाउने, सामान किन्नुपर्यो, तरकारी काटकुट गर्नुपर्यो, समय अभाव हुन्छ,’ श्वेता भन्छिन्, ‘हो, यस्तो बेलामा धेरैजसोले भोला फुड्सलाई सम्झिनुहुन्छ, हामी जतिबेला पनि सेवामा हाजिर हुन्छौं ।’
तर, यो ठाउँसम्म पुग्नुअघि धेरै मिहिनेत, लगन र प्रयास गरेको श्वेताले बिर्सिएकी छैनन् । सुरुवातमा उनले फुड पार्टनर, डेलिभरी पार्टनरहरूसँग पनि मिलेर प्रतिप्लेटका हिसाबमा काम गरिन् । घरमै क्याफे पनि सञ्चालन गरिन् । होम डेलिभरी त हुने नै भयो । रातभरि पनि काम गरिन् ।
कति ठाउँमा असफल भइन्, धेरै कुरा सिक्दै गइन्, अनिमात्र उनको मिहिनेतको रङ देखिएको हो । पछिल्लो पटक उमेरका कारण आमाले दैनिक सहयोग गर्न नसके पनि श्वेतालाई मामाले साथ दिइरहेका छन् ।
‘आफ्नै भान्सामा यी सबै काम चौबिसै घण्टा गरिरहँदा मलाई र मामुलाई चाहिँ सबैभन्दा महत्त्वपूर्ण के थियो भने खानाको गुणस्तरमा सम्झौता गर्नै हुँदैन,’ श्वेता भन्छिन्, ‘खाना सधैं शुद्ध हुनुपर्छ, के गर्दा शुद्ध र गुणस्तरीय हुन्छ भनेर सुरुदेखि नै हामी लागिपर्यौं, शुद्धता र गुणस्तरमा हामी कहिल्यै सम्झौता गर्दैनौं ।’
भोला फुड्सको गुणस्तर कस्तो छ भनेर परीक्षण गर्न श्वेताले प्रत्येक वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई बोलाइरहन्छिन् । ‘खाद्य प्रविधिका अधिकारीहरू आएर सबै परीक्षण गर्नुहुन्छ, नमिलेका कुरा मिलाइदिनुहुन्छ, हामी उहाँहरूले भने जसरी नै काम गरिरहेका छौं,’ श्वेता भन्छिन्, ‘यस्तै-यस्तै सिकाइबाट सफलता हासिल गर्दै यो अवस्थामा आइपुगेका हौं ।’

भोला फुड्समा कसरी हुन्छ काम ?
भोला फुड्सले ‘कर्पोरेट मिल’ डेलिभरी गरिहेको छ । दैनिक अर्डरभन्दा पनि वार्षिक सम्झौता अनुसार खाना आपूर्ति गरिरहेको छ । कम्पनीको प्रमुख आम्दानीको स्रोत भनेको नै यही हो । हाल भोला फुड्सले दैनिक ६ सय जनालाई ब्रेकफास्ट र लन्च उपलब्ध गराइरहेको छ ।
‘हामी चाँडै नै दिउँसो २-३ बजेको टिफिन (खाजा) स्न्याक्समा जाँदैछौं, हाम्रो विशेषता भनेको नियमित घरको खाना (दाल, भात, दुई थरी तरकारी, कुखुराको मासु, सलाद, अचार) उपलब्ध गराउने हो,’ श्वेता थप्छिन्, ‘कतिपय ठाउँमा हामी बेन्टो बक्सहरूमा पठाउँछौं, जसले गर्दा ग्राहकले आफ्नै टेबुलमा आफ्नै बक्समै खान पाउनुहुन्छ, कतिपय ठाउँमा चाहिँ गएर हामी केटरिङ, बुफे पनि गर्छौं ।’
उनका अनुसार भोला फुड्समा मूल्य सकेसम्म सरल बनाइएको छ । कम्पनीले लन्चमा चार विकल्प दिएको छ । एउटा नियमित खानासँगै फ्रुट बक्स, अर्को डायट खाना, अर्को हेल्दी मिल र अर्को भनेको मोमो, चाउमिन लगायत चटरपटर खाना ।
‘यो सबै विकल्पका मूल्य बेग्लै छ,’ उनी भन्छिन्, ‘खानाको विविधता अनुसार मूल्य तोकिएको हुन्छ, तर सकेसम्म सरल नै गरेका छौं ।’
लगानी, आम्दानी र रोजगारी
श्वेताले भोला फुड्स सुरु गर्न ५० लाख रुपैयाँ बिउपूँजी लगानी गरेकी थिइन् । दुई-तीन जना कर्मचारीबाट सुरु भएको कम्पनीमा अहिले २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । भोला फुड्सले अहिले वार्षिक करिब ३ करोड रुपैयाँ बराबर कारोबार गर्छ ।

बजारमा के देखेर खुल्यो भोला फुड्स ?
बजारमा केही देखेर भन्दा पनि घरकै भान्साबाट व्यापार सुरु गरौं भनेर भोला फुड्स सुरु भएको श्वेता बताउँछिन् । सबै चिज बजारमै हेरेर नहुने उनको अनुभव छ ।
‘मैले त दालभात नै बेचिरहेको हो, यो त जुन घरमा पनि पाक्छ,’ श्वेता भन्छिन्, ‘मैले अवसर खोज्नेभन्दा पनि अवसर बनाउँदै गएँ र यहाँसम्म आइपुगेँ ।’
भोला फुड्सले ‘रेडी टु इट’ मा अर्को अवसर खोजिरहेको उनी बताउँछिन् । कम्पनीले ‘चिकेन ग्रेभी’ प्रडक्ट ल्याउँदै छ । मासु पकाउन रहर लाग्नेले चिकेन ग्रेभी लिएर जाने र तताएर त्यसमा मासु हालिदिएपछि मासु तयार हुने उनले बताइन् ।
‘अब यसको बजार सम्भावना छ वा छैन, मलाई थाहा छैन तर यसको आवश्यकता त छ फेरि,’ श्वेता भन्छिन्, ‘किनभने, बजार अध्ययन गर्न थुप्रै पैसा लाग्छ, तर त्यसअघि नै मैले मेसिन किनेर ल्याएँ, अब बिस्तारै अगाडि बढ्दै जाने हो, सबैको साथ र सहयोगले सफल हुने विश्वास छ ।’
कम्पनी सञ्चालन र चुनौती
श्वेतालाई खानाको मूल्य नै सबैभन्दा ठूलो चुनौती लाग्ने गरेको छ । किनभने, नेपालमा अधिकांश खाद्यान्न विदेशबाटै ल्याउनुपर्छ । चामलदेखि नुनसम्म विदेशमा भर पर्नुपर्ने अवस्थाका कारण खाना तयार गरेपछि मूल्य तय चुनौती हुने गरेको उनको अनुभव छ । त्यसमाथि मूल्य अभिवृद्धि कर (भ्याट) पनि अर्को समस्याका रूपमा रहेको उनी बताउँछिन् ।
‘हाम्रो स्वदेशी उत्पादन नै महँगो छ, तै पनि हामी सकेसम्म सरल मूल्य तय गरेर अगाडि बढिरहेका छौं,’ उनी भन्छिन् ‘हाम्रो व्यवसायमा भ्याट दाबी गर्ने ठाउँ नै छैन, दालचामलमा भ्याट दाबी गर्न पाइँदैन, हाम्रा कर्पोरेट ग्राहकलाई पनि भ्याट दाबी गर्ने ठाउँ छैन ।’

त्यसैगरी भोला फुड्स सामाजिक सुरक्षा कोषमा आबद्ध छ । यसका सबै कर्मचारीले कोषमा आबद्ध हुँदाको फाइदा भने खासै लिन नपाएको श्वेता बताउँछिन् । स्वास्थ्य उपचारका लागि कुनै अस्पताल जाँदा सम्बद्ध अस्पताल कोषमा आबद्ध नभएका कारण आफ्ना कर्मचारीले सुविधा नपाएको उनको गुनासो छ ।
पहिलो ग्राहक, पहिलो कर्मचारी र पहिलो कार्यालय
श्वेताले भोला फुड्स सुरु गर्दाका केही रमाइला पल सुनाइन् । कम्पनी सुरु गरेको दिन कतैबाट खानाको अर्डर नआएपछि श्वेताले आफ्नै एक साथीलाई फोन गरेर ‘खाना अर्डर गर न, आज अर्डर नै आएन’ भनेको हाँस्दै सुनाइन् ।
त्यसैगरी कम्पनीको पहिलो कर्मचारी सबिता मगरलाई पनि उनी खुब सम्झिन्छिन् । सबिताको साथ र सहयोगलाई उनी कहिल्यै भुल्न नसक्ने बताउँछिन् । सबिता अहिले विदेशमा छिन् ।
कम्पनीको पहिलो कार्यालय आफ्नै घरलाई बनाइएको र हालसम्म यसैबाट कम्पनी चलिरहेको श्वेताले बताइन् ।
संघर्षका पल
भोला फुड्स सुरु गर्न श्वेताले धेरै नै संघर्ष गरिन् । उनकै शब्दमा भन्नुपर्दा दिमागी संघर्ष । जे पनि तत्काल गर्नुपर्ने, तत्काल निर्णय लिनुपर्ने, यसलाई पनि उनी संघर्ष नै मान्छिन् ।
‘सुरु गर्दामात्र होइन, अहिले पनि संघष नै चलिरहेको छ, जस्तो हामी चाँडै रेडी टु इट निकाल्दै छौं, मेसिन ल्यायौं, नेपालमै परामर्शदाता खोज्यौं, तर पाइएन,’ श्वेता अहिलेको संघर्ष सुनाउँछिन्, ‘यसकै विषयमा हामीलाई तालिम दिने, भान्सा यस्तो हुनुपर्छ, उत्पादनमा जाँदा यस्तो हुनुपर्छ, यस्तो–यस्तो गुणस्तर नियन्त्रणको काम गर्नुपर्छ भनेर सिकाउने परामर्शदाता खोजेको, नेपालमा पाइएन र भारतबाटै ल्याउनुपर्यो, त्यतिमात्र होइन, आवश्यक मेसिन पनि भारतबाटै ल्याउनुपर्यो ।’

टिकटक हुँदै बजारमा
भोला फुड्स सुरु गर्नुअघि श्वेताले डिजिटल मार्केटिङमा काम गरेकी थिइन् । सोसल मिडिया मार्केटिङ गरिरहेकी थिइन् । त्यसकारण सामाजिक सञ्जाल टिकटकमा भोला फुड्सबारे दर्जनौं भिडियो पोस्ट गरिन् । खासमा उनी कम्पनीबारे बताउन एउटामात्र ठाउँमा गएको सम्झिन्छिन् । बाँकी ग्राहक सबै टिकटक र अन्य सामाजिक सञ्जाल मार्फत खोज्दै भोला फुड्ससम्म आएको उनी खुसीसाथ बताउँछिन् ।
‘टिकटकबाट एकदमै प्रचार भयो, तर बीचमा नेपालले टिकटक निषेध गर्दा हामीलाई साह्रै गाह्रो भएको थियो,’ श्वेता भन्छिन्, ‘अहिले फेरि सबै ठिक छ ।’
ग्राहक प्रतिक्रिया कस्तो छ ?
भोला फुड्सको खाना नियमति खाइरहेकाहरूको प्रतिक्रियाबाट श्वेता सधैं उत्साहित छिन् । ‘जसले हाम्रो खाना खाइरहनुभएको छ, उहाँहरूजले खाना गजब छ भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘यसबाट पनि हामीलाई अझै अगाडि बढ्न हौसला मिलेको छ, ग्राहकले यस्तो खाना त आजसम्म खाएकै थिइनँ भन्दा मन फुरुङ्ग हुन्छ ।’
प्रतिस्पर्धै प्रतिस्पर्धा
भोला फुड्सले जे व्यवसाय गरिरहेको छ, त्यस्तो व्यवसायमा दर्जनौं कम्पनी बजारमा छन् । नेपालीहरूको क्रयशक्ति कम रहेका कारण यस्तो व्यवसाय सोचेजति फस्टाउन नसकेको श्वेताको अनुभव छ ।
‘प्रतिस्पर्धालाई राम्रै मान्छु म, किनभने जति धेरै प्रतिस्पर्धा भयो त्यति धेरै आवश्यकता बढ्ने हो,’ उनी भन्छिन्, ‘यहीँ बानेश्वरमै हाम्रो जस्तै व्यवसाय गर्ने कम्पनी थुप्रै छन्, तर सबैभन्दा उचाइमा भोला फुड्स छ, यसका लागि सबैप्रति आभारी छौं ।’
भोला फुड्सले गुणस्तरमा ध्यान दिने कारण कहिलेकाहीँ खाना केही महँगो पर्न जाने भए पनि शुद्धता र गुणस्तरमा सम्झौता नगर्ने श्वेता बताउँछिन् ।
उनका अनुसार तरकारी कसरी पखाल्ने, कसरी काट्ने, केले काट्ने, काट्ने ठाउँ र हतियार सफा छ कि छैन, कसरी पकाउने, कति तापक्रममा पकाउने, त्यसलाई पाकेपछि कति तापक्रममा स्टोर गर्नेजस्ता प्रक्रिया भोला फुड्सले अनिवार्य गर्छ ।
‘कसैले हैन मलाई अलिकति सस्तो गर्दिनुस् न भन्दैमा हामी यो प्रक्रिया छलेर अगाडि बढ्दैनौं,’ उनी भन्छिन्, ‘पूरै प्रक्रिया पालन गरेर स्वच्छ, शुद्ध र गुणस्तरलाई सधैं नै केन्द्रमा राख्छौं ।’

‘शार्क ट्यांक’ पछि थपिएको उचाइ
हिमालय टेलिभिजनमा प्रसारण हुने ‘शार्क ट्यांक’ कार्यक्रम भोला फुड्सका लागि अर्को अवसर बनेको श्वेता सुनाउँछिन् । शार्क ट्यांकमा जान सोचविचार गरेर आवेदन नदिए पनि गइसकेपछिको अनुभव गजब रहेको उनको भनाइ छ ।
‘शार्क ट्यांकमा गएर अनुभव लिएपछि त भोला फुड्सको रौनक नै अर्कै छ, लगानी पनि पाइयो र भोला फुड्स एउटा ब्रान्ड नै बनेको छ,’ श्वेता हौसिन्छिन्, ‘भोला फुड्स शार्क ट्यांकमा सहभागी हुनुभन्दा अगाडि केही थिएन भने अहिले हामी केही छौं, हाम्रो एउटा ब्रान्ड र एउटा पहिचान बनेको छ, किनभने त्यसपछि नै हामीले केही भन्दा ग्राहकहरूले ध्यान दिएर सुन्नुहुन्छ, यो मानेमा हामी भाग्यमानी छौं ।’
उनका अनुसार पाँचै जना शार्कले भोला फुड्सलाई विश्वास गरेका कारण सबै अप्ठ्यारा सहज भएको छ । शार्क ट्यांक सिजन-१ मा भोला फुड्सलाई १ करोड रुपैयाँ लगानी जुटेको थियो । यो रकम कम्पनीको नयाँ उत्पादनका लागि अनुसन्धान र विकासमा खर्च गर्न उपयोग गरिने छ ।
‘हाम्रो योजना सुनेर शार्कहरूले दिनुहुन्छ कि हुन्न भन्ने दोधार थियो, तर उहाँहरूले लगानी दिनुभयो किनभने सबै शार्क खुला र नयाँ सोचाइको हुनुहुँदो रहेछ,’ श्वेता अनुभव सुनाउँछिन्, ‘यस्तो कामको लागि पनि दिनुभयो, त्यो लगानी हामीलाई एकदमै ब्याकअप भयो ।’
भविष्यको योजना : प्याकेज्ड फुड र उपत्यका बाहिर सेवा
भोला फुड्स अब ‘प्याकेज्ड फुड’ मा बजार प्रवेश गर्ने तयारीमा लागेको छ । श्वेताका अनुसार नेपाली ग्रेभी, दाल, भात, क्वाँटी, गुन्द्रुक, पनिरजस्ता तरकारीलाई ‘प्याकेज्ड फर्म’ मा लिएर जाने योजना अगाडि बढेको छ ।

भोला फुड्सले अहिले काठमाडौं उपत्यकामा मात्रै सेवा दिइरहेको छ । काठमाडौं बाहिर चाहिँ यही वर्ष जाने तयारी रहेको श्वेताले बताइन् ।
आगामी पाँच वर्षभित्र भोला फुड्सलाई प्याकेज्ड फुडमा आधारित बनाएर नेपाली खाना विदेशसम्म पुर्याउने महत्त्वाकांक्षी योजना पनि श्वेताले बनाएकी छिन् ।
जसमा गुन्द्रुकको झोलदेखि क्वाँटीको तरकारी विभिन्न देश पुर्याइने छ । साथ, नेपालमा पनि ‘रेडी टु इट’ सेग्मेन्ट सार्वजनिक गर्ने योजना उनको छ ।
‘अहिले हरेक घरमा पुग्न सकेका छैनौं, पाँच वर्षभित्र प्रत्येक घरमा भोला फुड्स पुग्ने छ,’ श्वेता दृढ सुनिन्छिन्, ‘सबैभन्दा महत्त्वपूर्ण भनेको हाम्रो स्वादलाई, नेपाली स्वादलाई संसारभरि पुर्याउने हो ।’
तस्बिर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4